इलामकाे राेङमा मारूती दुर्घटना, इलाम देउमाइका दिपेशकाे घटनास्थलमा मृत्यु, एक जना घाइते

२०८१ बैशाख १९ गते , बुधबार

इलामको रोङ गाउँपालिकामा भएको मारुती भ्यान दुर्घटनामा मृत्यु हुने व्यक्ति भ्यान चालक भएको पुष्टि भएको छ । घटनास्थलमा मृत अवस्थामा फेला परेका व्यक्ति भ्यान चालक इलाम देउमाई नगरपालिका-६ बस्ने वर्ष अन्दाजी २४–२५ का दीपेश राई रहेको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी प्रकाश जवेगुले बताए । त्यस्तै दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
घटनास्थलमा खोजतलास गर्दा इलाम नगरपालिका-५ बस्ने वर्ष अन्दाजी २५–२६ का विश्वास राई घाइते अवस्थामा फेला परेका छन् । शरीरको विभिन्न भागमा चोट, तत्काल बोल्न नसक्ने उनलाई घटनास्थलबाट उद्धार गरी उपचारको लागि बीएण्डसी हस्पिटल बिर्तामोडतर्फ पठाइएको छ । दुर्घटनाका बारेमा गाडी धनी इलाम नगरपालिका-५ बिव्ल्याटे बस्ने याम श्रेष्ठमार्फत मृतक र घाइतेका आफन्तहरूलाई जानकारी गराइएको र गाडी घटनास्थलमा नै रहेको डीएसपी जवेगुले बताए ।
इलामको रोङ गाउँपालिका-४ बाघखोरस्थित मेची राजमार्गमा आज बिहान अन्दाजी ५ बजेको समयमा झापाबाट इलामतर्फ जाँदै गरेको मे १ ज ३२६३ नम्बरको मारुती भ्यान आफै अनियन्त्रित भई बाटोबाट अन्दाजी ५०० मिटर दाहिने साइड भिरबाट पल्टिई दुर्घटना हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment