जिप दुर्घटनामा ७ जनाको मृत्यु

२०८१ असार १७ गते 


१७ असार, काठमाडौं । रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझीले पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा गरी जम्मा सात जनाको मृत्यु भएको पुष्टि भएको जानकारी दिए ।

लिवाङ जिल्ला अस्पतालमै रहेका प्रमुख जिल्ला अधिकारी रायमाझीले अनलाइनखबरसँग भने, ‘कुल १५ जना यात्रुहरुमध्ये सात जनाको मृत्यु भएको छ । चालकसहित ८ जना घाइते छन् ।’

मृतकहरुको सनाखत नभएको उनले बताए ।

माडी गाउँपालिका २ घर्तीगाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुकी माडी गाउँपालिकाको परेवाछहरा भन्ने स्थानान सडकबाट करिब ४०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि भैरहवा रिफर गर्ने तयारी भइरहेको छ । ‘केही घाइतेहरु हेर्दा सामान्य देखिए पनि भित्री चोट हुनसक्छ । यहाँ जाँच गर्ने उपकरणहरु छैनन् । त्यहीभएर भैरहवा रिफर गर्ने तयारी भइरहेको छ,’ प्रजिअ रायमाझीले भने ।

पहिरो गएर बाटो बन्द भएको स्थानबाट अगाडि बढ्न नसकेपछि जिप रोकिएको र ब्याक गर्ने क्रममा भिरबाट तल खसेको प्रारम्भिक सूचना आएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment