झापामा बन्दको आंशिक प्रभाव, तीन बन्दकर्ता प्रहरी नियन्त्रणमा

२०८१ माघ २० गते , आईतबार


झापा ।  मुक्कुम्लुङ संरक्षण तथा केबुलकार खारेजी अन्तरदलीय संघर्ष समितिले आह्वान गरेको बन्दको आंशिक प्रभाव झापामा परेको छ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विरोध गर्दै आइरहेको संघर्ष समितिले आज र भोलि झापासहित पूर्वका नौ जिल्लामा बन्दको आह्वान गरेको छ । 


झापामा बन्द गराउँदै हिँड्ने तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । आज बिहान दमक नगरपालिका–६ स्थित आकाशे पुलमा भेला भई बन्द गराउँदै हिँडने तीनजना बन्दकर्तालाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको हो । 
पक्राउ पर्नेमा पदम बेघालगायत रहेका छन् । राजमार्गमा गुडिरहेका गाडीको चाबी थुत्न खोज्दा उनीहरूलाई नियन्त्रणमा लिएको डीएसपी चन्दले बताए । त्यस्तै आज बिहान ५:३० बजे मेची राजमार्गअन्तर्गत बुद्धशान्ति गाउँपालिका –४ स्थित बर्नेमा बन्दकर्ताहरूले दुईवटा घाघरुको रुख ढालेर राजमार्ग अवरुद्ध पारेका थिए । 
त्यसलाई पन्छाएर सडक सुचारु गराएको डीएसपी चन्दको भनाइ छ । जिल्लामा बन्दको प्रभाव देखिएको छैन । राजमार्गमा सवारीसाधन चलिरहेका छन् । बजार पसल पनि खुला छ । राजमार्गका विभिन्न स्थानमा व्यापक सुरक्षाकर्मीहरू परिचालन गरिएको उनले बताए ।
समितिले ताप्लेजुङ,पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सङ्खुवासभा बन्दको आह्वान गरेको हो । पूर्वी पहाडी जिल्लामा भने यातायात चलेको छैन । बन्दकर्ताहरूले गत माघ १५ गतेदेखि मेची राजमार्गमा यातायात बन्द यथावत् राखेका छन् । 
जसका कारण जनजीवन प्रभावित बन्दै गएको छ । पाथीभरा क्षेत्रमा केबुलकारको विरोध गर्दै आएका मुक्कुम्लुङ संरक्षण संर्घष समिति र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरीको गोली लागेर तीनजना प्रदर्शनकारी गम्भीर घाइते भएपछि उनीहरू थप आन्दोलित बनेका हुन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment