भासिएको बिरिङ पुलको यात्रा जोखिमपूर्ण भन्दै झापा प्रशासनले लगायो सवारी सञ्चालनमा रोक

जेष्ठ १३, २०८२


झापा । बिर्तामोड-शनिश्चरे-खुदुनाबारी सडक खण्ड अन्तर्गत बिरीङ खोलामा भासिएको मोटरेबल पक्की पुल प्रयोग नगर्न झापा प्रशासनले आग्रह गरेको छ ।
दुई वर्षअघि भासिएको अझै बनेन झापाको बिरिङ पुल, जोखिमपूर्ण यात्रा भन्ने शीर्षकमा समाचार प्रकाशन भएसँगै सोमबार जिल्ला प्रशासन कार्यालय झापामा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा बसेको बिपद व्यवस्थापन समितिको बैठकमा सो पुल प्रयोग नगर्न आग्रह गरिएको हो । जोखिमपूर्ण पुलको बारेमा समाचार प्रकाशन भएलगतै प्रशासन कार्यालय झापाको ध्यानाकर्षण भएको थियो ।


प्रशासनले पूर्वाधार विकास आयोजना कार्यालय इटहरीलाई पत्राचार गरेका थिए । त्यसपछि आयोजनाले पुलको स्थलगत अवलोकन, अनुगमन गरी तयार गरेको प्रतिवेदन प्रशासन कार्यालयलाई बुझायो । बुझाएको प्रतिवेदनमा पुलको शनिश्चरे खण्डतर्फ अति जीर्ण रहेकोले सवारीसाधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाउनु पर्ने र संरचनात्मक क्षमता गुमाइसकेको संरचनाबाट सवारीसाधन आवागमन गर्दा जोखिम बढ्ने भएकोले पुल प्रयोग हुने अवस्था नरहेको उल्लेख छ ।
साथै प्राविधिक रुपमा पुल मर्मत गरेर प्रयोगमा ल्याउन समेत उपयुक्त नभएको, विकल्पमा झन्डै २.२३ किमी दुरीमा रहेको सिस्ने-जयपूर सडकको पुल प्रयोग गर्न उपयुक्त रहेको वा इलामको माई तर्फ जानेआउने सवारी साधनले बिर्तामोड-लक्ष्मीपुर-सुखानी सडक प्रयोग गर्न सुगम रहेको प्रतिवेदनमा भनिएको छ ।
बहुवर्षीय स्रोत सहमति प्राप्त नभएका कारण यस आर्थिक वर्षमा रु ८५ लाख रकम विनियोजन भए पनि ठेक्का प्रक्रियामा जान नसकेकोसमेत उल्लेख छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment