🗓 इलाम, १० जेठ २०८२
✍ विनय तिम्सीना
![]() |
📸 तस्बिर: नेपालटार–मङ्गलबारे सडकमा जमेको हिलोको दृश्य (फोटो: स्थानीय स्रोत) |
इलाम — इलाम नगरपालिका–१ को नेपालटारदेखि देउमाई नगरपालिका हुँदै गजुरमुखी जाने सडकखण्डको अवस्था वर्षायाम सुरु हुन नपाउँदै दयनीय बनेको छ। नेपालटारदेखि मङ्गलबारे बजारसम्म कालोपत्रे गरिएको भए पनि सडक हिलाम्मे र जोखिमपूर्ण बनेको छ।
देउमाई नगरपालिकाको केन्द्र मङ्गलबारे बजारसम्म पुग्ने यो सडकखण्ड स्थानीय तहको प्राथमिक पूर्वाधार हो। तर, हल्का वर्षाले समेत सडकमा गहिरो हिलो जमिन थालेपछि सवारी आवागमन असहज भएको छ।
"कालोपत्रे त गरियो, तर कामको गुणस्तर हेर्ने कसले?"
स्थानीय बासिन्दाहरूको भनाइमा, सडकको कालोपत्रे कमजोर गुणस्तरमा गरिएको र ढल निकास तथा ढुंगा सिँचाइ जस्ता सहायक संरचना नबनाइएकोले पानी बग्न नसक्दा सडक हिलोमय बनेको हो। सवारी साधनहरू फस्ने, दुर्घटना हुने, र पैदलयात्रा गर्नेहरू लडेर घाइते हुने घटना सामान्यजस्तै भएका छन्।
सडक राजनीति बन्यो, तर विकास बनेन
यो सडक निर्वाचनको बेला बारम्बार नेताहरूको भाषणको मुख्य विषय बन्ने गर्छ। तर, चुनाव सकिएपछि यहाँका जनताले प्रतिनिधिहरूलाई सडकको हिलोमै हराएको अनुभव गर्दै आएका छन्। स्थानीय कृषक नवराज सिवाकोटी भन्छन्,
"हामी चुनावमा भोट दिँदा नेताले नेपालटारदेखि गजुरमुखीसम्मको सडक स्तरोन्नति गर्छु भन्थे। अहिले मङ्गलबारे पुग्न पनि लाज लाग्ने गरी सडक बिग्रेको छ।"
इलाम र गजुरमुखीलाई जोड्ने मुख्य मार्ग
नेपालटार–मङ्गलबारे–गजुरमुखी सडकले इलाम नगरपालिकालाई देउमाई नगरपालिका र धार्मिक स्थल गजुरमुखीसँग जोड्दछ। यस सडकमार्फत दैनिक सयौंको संख्यामा स्थानीयवासी, विद्यार्थी, किसान, व्यापारी र भक्तजनहरूको आवागमन हुने गर्छ। तर, सडकको यस्तो अवस्था रहिरहे, स्थानीय जीवनशैलीमा थप असहजता आउने निश्चित देखिन्छ।
स्थानीय सरकार र सम्बन्धित निकायलाई सडक मर्मत तथा नाली व्यवस्थापनको माग गर्दै जनताले दबाब दिन थालेका छन्। तत्काल हस्तक्षेप नगरे सडकको अवस्था झनै बिग्रिने जनआक्रोशको संकेत देखिएको छ।
0 comments:
Post a Comment