चितुवाको आक्रमण : माईजोगमाई–२ मा माउ बाख्रा मारेपछि स्थानीय त्रासमा

 


🗓️ असार २०८२, इलाम | Maipokhari News Desk
इलामको माईजोगमाई गाउँपालिका–०२ जोगमाईमा चितुवाको आक्रमणबाट एक माउ ब्याउने बाख्रा मरेको छ। स्थानीय कृषक धन बहादुर महतको गोठमा रातको समयमा चितुवाले आक्रमण गरी बाख्रालाई मारेको जनाइएको छ।


उक्त बाख्राले केही दिनअघि मात्र चार वटा पाठा जन्माएको थियो। अहिले ती पाठा बिनाआमाको स्याहारमा छन्। लगातार जंगली चितुवाले गाउँ पस्ने र पशु चौपायामा आक्रमण गर्ने क्रम बढ्दो भएको स्थानीयको गुनासो छ।
पीडित कृषक धन बहादुर महतले भने,
"बिहान गोठ जाँदा बाख्रा हराएको देखियो। खोज्दा अलिक परको बुट्यानमा मरेको अवस्थामा फेला पर्यो। यो पहिलोपटक होइन, केही दिनदेखि राति गोठ वरिपरि बडो खतरा भइरहेको छ।"
चितुवाले किसानको गोठ र खोरमा बारम्बार आक्रमण गर्न थालेपछि गाउँका अन्य कृषकहरू पनि त्रासमा परेका छन्। स्थानीयले जङ्गलबाट चितुवा गाउँ पस्न थालेको भन्दै वन विभाग र गाउँपालिका प्रशासनलाई तत्काल पहल गर्न माग गरेका छन्।
स्थानीय युवा किरण राई भन्छन्,
"कतिबेला के हुन्छ भन्ने डर लाग्ने अवस्था छ। बालबच्चा, घरपालुवा जनावर सबै असुरक्षित छन्। सम्बन्धित निकायले तुरुन्त ध्यान दिनुपर्छ।"
यस विषयमा माईजोगमाई गाउँपालिकाका जनप्रतिनिधिहरूले वन विभागसँग समन्वय गर्ने तयारीमा रहेको जानकारी दिएका छन्।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment