२०८२ माघ ११ गते , आईतबार
कोशी प्रदेशबाट राष्ट्रियसभामा झापाका दुई अनुहार निर्वाचित भएका छन् । दलिततर्फ नेकपा एमालेका सोमनाथ पोर्तेल र अल्पसङ्ख्यक समूहअन्तर्गत रोशनी मेचे संघीय संसद्को माथिल्लो सदन अर्थात् राष्ट्रियसभाका लागि निर्वाचित बनेका हुन् ।
आइतबार सम्पन्न निर्वाचनमा पोर्तेलले ७ हजार ४ सय २३ मतभार प्राप्त गर्दै राष्ट्रियसभाको ढोका खोलेका छन् । काँग्रेस–एमाले–जसपा गठबन्धनको समर्थनमा उम्मेदवार बनेका उनी दलित समूहबाट निर्वाचित भए । झापाको हल्दिबारी स्थायी बासिन्दा पोर्तेल लामो समयदेखि एमाले संगठन र दलित आन्दोलनमा सक्रिय नेता हुन् ।
पोर्तेलको राजनीतिक यात्रामा ‘४७’ अंक संयोगझैँ जोडिएको छ । २०४७ सालमै अनेरास्ववियुबाट राजनीति सुरु गरेका उनी अहिले ४७ वर्षको उमेरमा राष्ट्रियसभा सदस्य बनेका छन् । यही निरन्तरताकै आधारमा उनले २०७४ पछि जिल्ला समन्वय समिति झापाको प्रमुखको जिम्मेवारीसमेत सम्हालेका थिए ।
एमालेका विभिन्न तह पार गर्दै हाल प्रदेश कमिटी सदस्य रहेका पोर्तेल उत्पीडित समुदायको आन्दोलनमा २०५१ सालदेखि सक्रिय छन् । मुक्ति समाज नेपालको उपमहासचिवसमेत रहेका उनी राष्ट्रियसभामा प्रदेश र स्थानीय तहको सशक्तीकरणलाई पहिलो प्राथमिकता बनाउने बताउँछन्।
‘राष्ट्रियसभाको मूल दायित्व प्रदेश र स्थानीय तहको आवाज केन्द्रसम्म पु¥याउनु हो,’ उनले भने, ‘उत्पीडित, पिछडिएका र अल्पसङ्ख्यक वर्गका अधिकारका पक्षमा निरन्तर बोल्नेछु।’
अल्पसङ्ख्यकतर्फ निर्वाचित रोशनी मेचे पनि झापाकै प्रतिनिधि हुन् । धाइजनकी ४३ वर्षीया मेचेले ६४ प्रदेशसभा सदस्य र १९९ स्थानीय तहका जनप्रतिनिधिको मत पाएर राष्ट्रियसभाको यात्रा तय गरिन् । उनले प्राप्त गरेको कूल मतभार ७ हजार १७३ हो।
झापामै ऐतिहासिक बसोबास रहेको मेचे समुदायकी प्रतिनिधि मेचे यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय सदस्यका रूपमा सिंहदरबार पुगिसकेकी थिइन् । यस पटक भने निर्वाचित सांसदको हैसियतमा माथिल्लो सदन प्रवेश गरेकी छन् ।
पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आएकी मेचे हाल गोरखापत्र संस्थानमा कार्यरत छिन् । मेचे भाषाको समाचार संयोजन गर्दै आएकी उनी भाषा, शिक्षा र रोजगारीलाई राष्ट्रियसभामा मुख्य एजेन्डा बनाउने तयारीमा छन् ।
‘भाषा र संस्कृति जोगिनु नै विविध नेपालको आधार हो,’ उनले भनिन्, ‘अल्पसङ्ख्यक समुदायका सवाल नीति निर्माणको तहसम्म पु¥याउने मेरो प्रयास रहनेछ।’
२०७८ को जनगणनाअनुसार पाँच हजारभन्दा केही बढी जनसङ्ख्या रहेको मेचे समुदायबाट राष्ट्रियसभामा प्रतिनिधित्व हुनु ऐतिहासिक उपलब्धि मानिएको छ।
झापाबाट दलित र अल्पसङ्ख्यक समुदायका दुई प्रतिनिधि एकै पटक राष्ट्रियसभामा पुग्नु समावेशी प्रतिनिधित्वको दृष्टिले महत्त्वपूर्ण मानिएको छ।

0 comments:
Post a Comment