खेत देखी पेट सम्म विषादी
इलाम त्यसै पनि बढी आत्महत्या गर्ने जिल्लाभित्र पर्छ । इलामको परिचय बनेको सात ‘अ’ मध्ये एउटा अले आत्महत्या जनाउँछ । वितेको वर्षमा इलामका २६ जनाले आत्महत्या गरे । त्यसमा पनि विषादी प्रयोग गरेर । तरकारी र खाद्यान्न बालीमा प्रयोग गर्न खरिद गरिएको विषादी प्रयोग गरी आत्महत्या गर्नेको संख्या इलाममा बढ्दै गएको पाइएको हो ।
 २०७० भदौ ७ गते इलामको चिसापानी ७ का पुष्पलाल दर्नाल ९२७ वर्ष ले सुपरकिलर विषादी सेवन गरेर आत्महत्या गरे । यो विषादी इलाममा चिया र तरकारीमा प्रयोग हुने कृषि प्राविधिक बताउँछन् ।  आत्महत्या गर्नेका लागि तरकारी र चियामा प्रयोग हुने विषादी सजिलो उपाय बनेको छ । भदौ १५ गते महमाई ५ की पवित्रा मगर ९३ वर्षले इन्डोसिल पिएर आत्महत्या गरिन् ।  चुलाचुलीका चन्द्रबहादुर राईले रोफोरिन विषादी खाएर आत्महत्या गरे । उनीहरूले प्रयोग गरेको कीटनाशक विषादी चिया र तरकारीमा लाग्ने किरा मार्ने प्रयोजनका लागि इलाम भित्रिने गरेको छ । खेतमा प्रयोग गर्ने विषादी पिएर पोहोर आठजनाले आत्महत्या गरेका थिए । त्यसअघि सातजनाले पनि यसरी नै आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
भन्सारको तथ्यांकले इलामलाई विषरहित जिल्ला भने पनि अर्को सरकारी निकाय जिल्ला कृषि विकास कार्यालय इलामले गत वर्ष कीटनासक झोल विषादी आठ सय ८६ लिटर, धुलो विषादी सय किलो र ढुसीनाशक विषादी चार सय ८१ किलो प्रयोग भएको देखाउँछ ।
पशुपतिनगर भन्सार कार्यालयको रेकर्डले इलामलाई विषादीमुक्त देखाउँछ । भन्सारमार्फत एक थोपो पनि विषादी भित्रिएको छैन । तर, इलाममा खेतदेखि पेटसम्म विषादीको प्रयोग हुने गरेको छ । इलाममा आत्महत्याका लागि समेत विषादीको प्रयोग अध्याधिक हुने गरेको प्रहरी तथ्यांकले देखाएको हो । यस वर्ष इलाममा विषादी सेवन गरेर आत्महत्या गर्नेको संख्या आठ पुगिसकेको छ । प्रहरीको रेकर्डमा, आत्महत्या गर्नेले प्रतिबन्धित
मेटासिड, थायोडिन र अन्य विषादी सेवन गरेको उल्लेख छ । जिल्ला कृषि विकास कार्यालय इलामले गत वर्ष कीटनाशक झोल विषादी आठ सय ८६ लिटर, धुलो विषादी एक सय किलो तथा ढुसीनाशक विषादी चार सय ८१ किलो प्रयोग भएको देखाउँछ । तर, इलामको खेतबारी, गल्लीगल्छेडामा समेत विषादीका प्याकेट र सिसी भेटिन्छन् । गाउँगाउँमा मनोक्रोटोफसको अत्यधिक प्रयोग भइरहेको नयाँबजार ३ का कृषक कुमार थापा बताउँछन् ।  इलाममा नेपालसहित विश्वका ४६ देशले प्रतिबन्ध लगाएको मोनोक्रोटोफसको प्रयोग किरा मार्नदेखि आफैं मर्न समेत प्रयोग हुने गरेको छ । प्रहरी भने विषको बट्टा सबैतिर नभेटिने भएकाले कुन विषादी प्रयोग गरेर आत्महत्या गरेको भन्न नसकिने बताउँछ ।
चिया, तरकारी, अलैंची, अदुवा तथा दुग्धजन्य उद्योगमा नाम कमाएको इलाम विषादीको अत्यधिक प्रयोगले पीडित हुन थालेको छ । इलामको कार्सिनोजेनिक असर उत्पन्न गर्ने १५ थरिका विषादी अत्यधिक प्रयोगमा छन् ।  यिनै विषादीका कारण इलाममा क्यान्सरबाट मर्ने र आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । इलामका गाउँगाउँमा खुलेका एग्रोभेट पसलमा क्लोरडेन, अल्डिन, डाई अल्डिन, मनोक्रोटोफस, बीएचसी, लिन्डेन, इन्डो सल्फाइन, मालाथियन, एसिफेन, पामिथ्रिन, साइपरमेथ्रिन, कार्बोराइल, सिमाजिन र एटाजिन, क्याप्टाफोल आदि विषादी बेचिन्छन् । कीटनाशक औषधिका नाममा बेचिनेमध्ये सबैभन्दा खतरनाक विषादी मोनोक्रोटोफस हो । यसलाई विश्व स्वास्थ्य संघले मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक ठहर गरी संसारभरि प्रतिबन्ध लगाएको छ ।
इलामको विषादी भित्रिने मुख्य मार्गमा नेपाल प्रहरी र फिक्कल्ऽमा सशस्त्र प्रहरीका चौकी छन् । तर, प्रहरीले अहिलेसम्म विषादी ओसारपसारमा संलग्नलाई पक्राउ गरेको छैन । मेची भन्सार कार्यालय झापाबाट विषादी निर्बाध भित्रिएको देखिन्छ । भन्सार प्रमुख मुक्तिप्रसाद पाण्डेले भने,प्रतिबन्धित सूचीमा नरहेका विषादी भित्र्याउन दिइन्छ ।  झापा भन्सारले सबै विषादीलाई कीटनाशक भनेर भित्र्याउने गरेको छ ।
यस भन्सारबाट गत वर्ष १९ हजार ९१ किलो विषादी भित्रिएको रेकर्ड छ । नियमअनुसार विषादी भित्र्याउँदा विशेषज्ञको राय लिनुपर्छ । भन्सार प्रमुख पाण्डेले प्रस्ट भने,विशेषज्ञको राय लिने गरिएको छैन । इलाम भित्रिने विषादी चिया, तरकारी, अलैंची र अदुवाजस्ता नगदेबालीमा प्रयोग हुन्छन् ।  इलामको तरकारी, चिया, अदुवा र अलैँची स्वदेश र विदेशमा समेत निर्यात हुन्छन् । विषादी व्यवस्थापन विभागले ५५ वटा कम्पनीलाई विषादी आयात गर्न स्वीकृति दिएको छ । यिनले वार्षिक ६ लाखदेखि आठ लाख किलोग्राम विषादी आयात गर्छन् । विषादीको कारोबार वार्षिक दुई अर्बभन्दा बढीको छ । यो व्यापारमा ३० देखि ५० प्रतिशतसम्म नाफा हुन्छ । नेपालमा मिथेन, पाराथिएन, मोनोक्रोटोफस, सुफोक्स, क्लोराइड, डीडीटी, एनड्रिन, हेक्टाक्लोर, मिरेक्स, टेक्साफेन, बीएचसी, लिन्डेनलगायतका १५ विषादी प्रतिबन्धित छन् । स्थानिय सन्देशबाट

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment