दलालको सजिलो नाका बन्दै इलामका सीमाक्षेत्र 
भारतसँग सीमा जोडिएको इलामका नाकाहरु पछिल्लो समयमा मानव बेचबिखनका लागि सुरक्षित गौडाहरु बन्दै गएका छन् । सीमा क्षेत्रमा जोडिएका इलामका एक दजर्न बढी गाविसहरुमा सयौँ नाकाहरु रहेकाले दलालहरुले सुरक्षित रुपमा नेपाली चेलीहरु ललाईफकाई भारतीय सहरमा लगेर बिक्रि गर्दै आएका हुन् । इलाम भ्रमण आउने हजारौँ पर्यटक भारतको दार्जीलिङ भ्रमणमा जाने भएकाले दललाले पनि घुम्न लाने बाहाना बनाएर नेपाली चेली भारतका कोठीमा पु¥याउने गरेका छन् । भातसँग जोड्ने मुख्य नाका फाटकमा माइती नेपाल र प्रहरीले चेकजाँच गर्ने भएपनि दलालले अन्य नाका भएर चेलिबेटी भारत लाने गरेको पाइएको माइती नेपाल पशुपतिनगरका प्रमुख होम ढकालले बताए ।

‘बेचिएका नेपाली चेलीहरुको उद्धारपछि लिएको बयानबाट पशुपतिनगर हुदै भारत गएको भन्ने भनाइ छ । होम ढकाल भन्छन्–‘पशुपतिनगरको मुख्य नाका फाटक हुदै भारत जाने गाडिको चेकजाँच हुने भएकाले दलालले अन्य गोरेटो तथा घोडेटो बाटोबाट भारत लाने गरेको अध्ययनबाट पुष्टि भएको छ ।’ उनी भन्छन्–‘दुबै देशवीचमा भएको वर्कपरमीटका कारण पनि नेपालीहरु भारत जाने र भारतीयहरु नेपाल आउने क्रम दैनिक हुन्छ ।’ इलामको कन्याम घुम्न जाउँ भनी फकाएर चेलीहरुलाई ल्याउने, कन्याम आएपछि दार्जीलिङ नजिकै छ घुम्न जाउँ भनेर दलालले दार्जिलिङ लाने र भारतका अन्य सहरमा पु¥याएर बिक्रि गर्ने गरेका छन् । खुला सीमा र नेपाली सुरक्षाकर्मीको पहुज राम्रो नभएकाले दलालका लागि सहज बाटो बन्दै गएको छ । जसले गर्दा मानव तस्करहरुले  कीर्ते जालमा परेर थाहै नै नपाइ नेपाली चेलिहरु भारत छिर्ने र कोठीहरुको नारकीय जीवन विताउन वाध्य हुने गरेको माइती नेपाल पशुपतिनगरले जनाएको छ । ‘इलामको सुन्दरताको फाइदा लिएर दलालहरुले नेपालका विभिन्न जिल्लाबाट किशोरीहरु ललाई फकाई ल्याई भारत छिराउने गरेको घट्नाहरु पनि धेरै छन् । माइती नेपाल पशुपतिनगरका होम ढकाल भन्छन्–‘२०७१ सालको पाँच महिनामा मात्रै माइती नेपाल पशुपतिनगरले फाटक नाकाबाट भारततर्फ जान लागेका ८५ जना किशोरीलाई घर फर्काइएको छ ।’ उनी भन्छन्–‘भारत जानबाट रोकिएका धेरै किशोरीहरु कम उमेरका र भारतको कहाँ कुन ठाउँमा जाने भन्ने बारे अनविज्ञ थिए ।’ 
पशुपतिनगरको मूल नाकाबाट किशोरीहरु फकाई पनि अन्य सयौँ नाकामा सुरक्षाकर्मी नहुदा किशोरीहरु सहजै भारतका सुकिया, मिरिक, सिलिगुडी, दार्जिलिङ शहरहरुमा पुग्ने गरेका छन् । माइती नेपाल पशुपतिनगरका अनुसार गाडीबाटै आवतजावत गर्न सकिने पशुपतिनर बजारको फाटक  सहित २० वटा नाकाहरु छन् । त्यसबाहेक मानिस अवातजावत गर्ने गरेटो र घोडेटो बाटाहरु तीन सय बढी रहको र जहाँ सुरक्षार्कीको पहुँजबाट धेरै टाढा छन् । सीमा क्षेत्रमा बसोबास गर्ने भारतीय र नेपालीको एउटै भाषा तथा रहनसहन भएकाले दलालका लागि इलामका सीमावर्ती नाका बढी सुरक्षित भएको माइती नेपालको भनाइ छ । माइती नेपालका होम ढकाल भन्छन् –‘ महिलाहरुले सहि कुरा नबताइदिने, घर परिवारसँग तत्काल सम्पर्क हुन गाहे हुने भएकाले बेच्नै लगेको कुरा पत्ता लगाउन निकै कठीन हुने गरेको छ । उनी भन्छन्–‘भारतको सुकिया, दार्जिलिङ, कालिम्पोङ्ग, मिरिक, छव्विसे, हिले, मानेभन्ज्याङमा नेपाली मूलका मानिसहरुको बसोबास भएकोले र दलालहरुको बद्लिदो शैली प्रयोग गर्दा पनि काम गर्न कठीनाई छ ।’
    दलालको चलाखिपन र खुला सीमानाले गर्दा पछिल्लो समयमा  समुदाय नै सचेत गर्नुपर्ने आवश्यकता रहेको माइती नेपालको भनाइ छ । पछिल्लो समयमा माइती नेपाल पशुपतिनगर हाल सीमावर्ती र जोखिमपूर्ण गाविसहरुको छनोट गरि प्रचार प्रसार र सचेतनामा ध्यान दिदै आएको छ । माइती नेपालले गाउँमा महिलाको संजाल समूह गठन गरि ती महिलालाई दलालहरुको पहिचान गर्ने, जोखिममा पर्न सक्ने अवस्थामा रहेकाहरुलाई परामर्श गराउने, सूचना दिने जस्ता तालिम प्रदान गर्दै आएको छ । मानव बेचविखन रोक्नका लागि सीमा क्षेत्रमा इलाका प्रहरी कार्यालयले पनी निगरानी बढाएको बताउँछ । कार्यालयका निरिक्षक इश्वर थापा भन्छन्–‘हामीले सीमा क्षेत्रमा पछिल्लो समयमा पहरी गस्ती बढाएका छौँ । उनी भन्छन्–‘प्रहरी दरबन्दि कम भएपनि मातहतका प्रहरी चौकीहरुबाट पनि गस्ति निकाल्न निर्देशन दिइसकेका छौँ ।’ मानव बेचविखन नियन्त्रणको अभियानका रुपमा सीमाबाट भारत जाने नेपाली महिलालाई सोधबुझ गर्दा झर्किने रिसाउने गरेकाले समस्या हुने गरेको प्रहरीको भनाइ छ । 
बिना सल्लाहा हिडेका महिला भेटिदैन
पारिवारिक सल्लाह बिना सम्पर्क बाहिर भएका अधिकांश महिला फेला पार्न नसकिएको माइती नेपाल लगायत संघ संस्थाको तथ्याङ्कले देखाएको छ । रोजगारीको प्रलोभनमा परी घर परिवारलाई थाहै नदिई हिंडेका अधिकांश महिलाको अवस्था पत्ता लाग्न नसकेको हो ।
रोजगारी दिलाई दिने बहानामा अधिकांश महिलालाई दलालले फन्दामा पार्ने गरेको माइती नेपालले निष्कर्ष निकालेको छ । ‘हराएकामध्ये निकै कम मात्र महिला भेटिएका उदाहरण छन्’–माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले भने–‘हराएका अधिकांश महिला कुनै न कुनै रूपमा बेचिएका छन् ।’ उनीहरू बेचिएको ठाउँ पत्ता लगाउन पनि मुस्किल भएको उनको भनाई छ । बेचिएको ठाउँ पत्ता लागि हाले पनि उद्धार कार्य सहज नभएको घिमिरेले बताए । घर–परिवारबाट अचानक सम्पर्क विहीन भएकामध्ये २५ प्रतिशत महिलालाई मात्रै मुस्किलले फेला पारिएको माइती नेपालको तथ्याङ्क छ । यो वर्ष जुन महिनासम्ममा महिला बेपत्ताका ८२ वटा उजुरी माइती नेपालको काँकरभिट्टा कार्यालयमा परिसकेका छन् । तीमध्ये १५ जनालाई फेला पारेर अभिभावकको जिम्मा लगाइएको छ ।
आर्थिक अभाव, पारिवारिक हिंसा र महत्वकांक्षाका कारण महिला घर छाडेर हिंड्ने गरेका छन् । सबै हिसाबले उत्पीडनमा परेका महिलालाई महिलाले नै दलाल भए ठाउँसम्म पु¥याउने गरेको पाइएको घिमिरे बताउँछन् । ‘महिला बेचिएका घटनामा महिलाकै संलग्नता भेटिएको छ’–उनले भने–‘त्यहींबाट विश्वासघात शुरु हुन्छ ।’
इलामको पशुपतिनगरस्थित माइती नेपालको आवधिक गृहका संयोजक होम ढकालका अनुसार शंका लागेर सीमामा रोकिएकामध्ये झण्डै आधा जसोलाई महिला एजेण्टले नै फसाएको पाइएको छ । पुरुषको साथ लागेर जाँदाभन्दा महिलाकै साथ लागेर जाँदा सीमामा कम शंका हुने भएकाले बेचबिखनमा महिलाकै संलग्नता बढी भएको हुनसक्ने ढकाल बताउँछन् ।
माइती नेपालको विराटनगरस्थित कार्याल्ऽयका प्रमुख विनोद पोखरेल पनि हराएका अधिकांश महिला नभेटिने गरेको बताए । अभिभावक आफैले खोजी गरेर भेटिएका महिलाको विषयमा भने माइती नेपालले कुनै जानकारी पाउँदैन । तर, त्यसरी भेटिने महिलाको संख्या नगण्य हुने गरेको उनको दाबी छ ।
चेलिबेटी बेचबिखनविरुद्ध काम गर्दै आएको ‘साना हातहरू नेपाल’ की व्यवस्थापक प्रमिला दुलालले परिवारमा असमझदारी सिर्जना भएपछि आत्मनिर्भर हुने उपायको खोजीमा रहेका महिला सजिलै दलालको फन्दामा पर्ने गरेको बताइन् । समाजमा आर्थिक रूपले जो विपन्न र हिंसाको चपेटामा परेको छ, उसैको खोजीमा दलाल केन्द्रित हुने गरेको उनको भनाइ छ ।
विभिन्न संस्थाको तथ्याङ्क अनुसार चार वर्षमा पूर्वका जिल्लाबाट सात सय ५९ महिला हराएको भन्दै खोजी गरिदिन निवेदन परेको छ, जसमध्ये एक सय ७० जना मात्र भेटिएका छन् । माइती नेपालको काँकरभिट्टा कार्यालयमा यो वर्ष जुनसम्ममा महिला बेपत्ताका ८२ वटा निवेदन परिसकेका छन्, तीमध्ये १५ जनालाई फेला पारेर अभिभावकको जिम्मा लगाइएको छ । सन् २०१३ मा मात्रै सो कार्यालयमा एक सय २१ निवेदन परेका थिए, जसमध्ये २२ महिला मात्रै फेला परे ।
सन् २०१२ मा महिला हराएको ८८ वटा निवेदन दर्ता भएका थिए । खोज तलासका क्रममा माइती नेपालले ३० जनालाई फेला पारेर अभिभावकको जिम्मा लगाएको थियो । सन् २०११ मा पनि ८८ जना नै हराएको निवेदन परे पनि १७ जना मात्रै भेटिए ।
यस बाहेक माइती नेपालको पशुपतिनगरस्थित आवधिक गृहमा सन् २०११ यता २०१४ को जुनसम्ममा एक सय २० जना महिला हराएको उजुरी परेको छ । तीमध्ये हालसम्म ३९ जना भेटिएका छन् । अरूको कुनै पत्तो लाग्न सकेको छैन । माइती नेपालको विराटनगरस्थित कार्यालयमा सन् २०११ यता महिला बेपत्ता भएका दुई सय निवेदन परेका छन् । तीमध्ये अहिलेसम्म २३ जना मात्रै फेला परेका छन् ।
आत्मनिर्भरका लागि कम्प्युटर तालिम
बेरोजगारी र अशिक्षाका कारण महिला प्रलोभनमा परि बेचिने भएकाले अहिले माइती नेपालले ग्रामीण क्षेत्रका महिला लक्षित गरि कम्प्युटर तालिम शुरु गरेको छ । ग्रामीण क्षेत्रमा पिछडिएका र जोखिममा पर्नसक्ने अवस्थामा रहेका महिला लक्षित गरि आत्मनिर्भर गराउन कम्प्युटर तालिम शुरु भएको हो । माइती नेपालले सन् २०१३ सेप्टेम्वर बाट निशुल्क वेसिक कम्प्यूटर तालिम प्रदान गर्दै आएको छ । यस कार्यक्रमबाट पहिलो, दोस्रो र तेस्रो समुहका महिलाहरुले सफलताका साथ कम्प्युटरको ज्ञान लिएका छन् । 
     ‘तीस जनाले कम्प्युटर तालिम लिएर आफै व्यवसाय संचालन गर्ने योजनामा छन् । माइती नेपाल पशुपतिनगर आवधिक गृहका होम ढकाल भन्छन्–‘ आहिले चोथौ समुहका दश जना महिला तालिमका लागि छनोट भई कक्षा लिइरहेका छन् । तालिमा इलामको सीमावर्ती क्षेत्र जोगमाई, गोर्खे, फिक्कल, पंचकन्या, कन्याम, शान्तिपुर र पशुपतिनगर गाविसका महिलाहरु संलग्न रहेका छन् । तलिममा सहभाभागी महिलाहरुलाई समय समयमा मानव वेचविखनका विषयमा अभिमुखिकरण गरिदै आएको होम ढकालले बताए । ढकालका अनुसार तालिम सकेका मध्येवाट लगनशील, गरिव, पीछडिएको, दलित समुदायबाट १५ जना छनोट गरि व्यवसाय चलाउन प्रोत्साहन गरिनेछ । 
माइती नेपालले छनौट भएका महिलालाई कम्प्यूटर, प्रिन्टर, फोटोकपी मेशीन र स्क्यानर  मेसिन प्रदान गर्ने योजना रहेको छ । कम्प्यूटर सेन्टर राख्नको लागि इलामको गोर्खे, फिक्कल, कन्याम, शान्तिपुर र पशुपनिगर गरेर पाँच स्थान छनौट गरि संचालन गर्न आवश्यक सामग्री खरिदको काम भइरहेको छ । स्थानिय सन्देशबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment