भारतले दशगजा विवाद बढाउँदै
 पशुपतिनगर फाटकमा नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा पुनः वाचिङ टावर निर्माण गर्ने भारतीय प्रयासलाई प्रहरी र स्थानीयको टोलीले रोकेको छ । फाटकमा रहेको भारतीय भन्सार अगाडिको भित्तामा रहेको सीमाको दशगजामा ‘माथिको आदेश’ भन्दै भारतीय  प्रहरीले मङ्गलबार नापजाँच र फाँड्ने कार्य गरेको  थियो । 
वाचिङ टावर बनाउने एसपीको आदेश भन्दै जग्गा सर्भे गर्न थालेपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक पदम थपलिया, सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक र स्थानीयले उक्त कार्य दुवै देशका सम्बन्धित निकायका प्रतिनिधी बसेर समाधान गनुपर्ने भन्दै रोकेका थिए । त्यस क्रममा थपलिया र भारतीय पक्षका प्रहरी मिङ्मा लेप्चाबीच भनाभन समेत भएको थियो । 
भारतीय पक्षले उक्त जग्गामा यसअघि पनि भन्सार बनाउने भन्दै तारबेरा गरेपछि विवाद उत्पन्न भएको थियो । सुकेपोखरीमा रहेको वनको अधिनमा रहेको भएपनि नेपाल भारतको सीमानामा पनि दशगजा क्षेत्रमा पर्ने भएकाले त्यस क्षेत्रमा कुनै पनि संरचना बन्न नमिल्ने र सुरक्षा पेरिमिटरका दृष्टिले पनि उपर्युक्त नहुने नेपाली पक्षको दावी छ ।  मङ्गलबारको सिमाना विवादपछि प्रहरी नायव उपरीक्षक प्रकाश रानाभाट, सशस्त्र प्रनाउ द्रोण विष्ट र प्रमुख अनुसन्धान अधिकृतसमेतको सुरक्षा निकायका प्रमुखले बुधबार उक्त सम्बन्धमा भारतीय अधिकारीहरुको ध्यानाकर्षण गराएका छन् । उनीहरुले फाटकमा भारततर्फ रहेको सीमा सुरक्षा बल (एसएसवी)का २९औँ बटालियनका कमाण्डेण्ट मनोज कुमार र डेपुटि कमाण्डेण्ट अभिशेक कुमारलाई भेटेर उक्त विवादित जग्गामा दुवै पक्षको सहमतिमा मात्र संरचनाको कुरा बन्नुपर्ने बताए ।  कमाण्डेण्ट मनोज कुमारले भारतीय प्रहरीले त्यहाँ वाचिङ टावर बनाउन लागेकाले आफुले एसपीलाई कुरा गरेर दुवैतर्फ बार्ता गर्ने प्रवन्ध मिलाउने बताएका थिए । उनले दार्जिलिङ जिल्लाका एसपी पी जाभागुल्लीलाई फोनमा कुरा गरेर आगामी २० तारिखपछि दुवै देशका सुरक्षा अधिकारी बसेर सहजीकरण गर्ने बताएका छन् । 
भारतीय प्रहरीका तर्फबाट फाटकमा रहेका एसीस्टेण्ट सव इन्स्पेक्टर करुण शेर्पा  र इन्स्पेक्टर एससी रायले एसपीको आदेशमा उक्त जग्गामा वाचिङ टावर बनाइने बताएका छन् । नेपालका सुरक्षा अधिकारीहरुसँग भेटेपछि उनीहरुले त्यहाँ १५ फिट अग्लो टावर बनाउन लागेको बताए । नेपाली अधिकारीहरुले दुवैतर्फको सहमति बेगर त्यहाँ टावर बनाउन नहुने बताएका थिए ।  सीमानाको नौ÷नौ मिटर क्षेत्रमा दुवैतर्फबाट कुनै संरचना बनाउन नपाइने भएपनि भारतीय पक्षले फाटकको करिब एक रोपनी क्षेत्रमा तारबार लगाउँदै कस्टमको बोर्ड समेत राखेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment