चिज कारखाना पनि बन्द
हप्तामा तीन दिन मिल्क होलिडे
लगातारको तराई बन्दले चिजको निकासी बन्द हँुदा इलाममा दुघ्ध विकास संस्थानअन्तर्गत सञ्चालित चिज कारखानाहरु बिगत १५ दिनदेखि बन्द छन् । देशकै ठूलो चिज उत्पादन केन्द्रको रुपमा परिचित पशुपतिनगर चिज उत्पादन केन्द्र र यस अन्तर्गतका इलामका चार र पाँचथरका दुई चिज उत्पादन केन्द्रमा चिज उत्पादन बन्द गर्नुपरेको दुघ्ध विकास संस्थानले जनाएको छ ।
छ वटा कारखानाले दैनिक छ सय ५० किलो चिज उत्पादन गर्दै आएका थिए । चिज उत्पादन बन्द भएपछि दुघ्ध उत्पादक किसानले दैनिक लाखौँ घाटा व्यहोर्न बाध्य छन् । सबै कारखानामा गरेर करिब ४० हजार केजी चिज भण्डारण भएको र बजार डामाडोल भएपछि उत्पादन बन्द गर्नुपर्ने अवस्था आएको पशुपतिनगर चिज उत्पादन केन्द्रका प्रमुख सोमराज
चापागाइँले जानकारी दिए ।
बैशाख १२ गतेको भूकम्पका कारण चिजको बजार खस्किएको र हाल आएर चिज बजारमा लान समेत समस्या भएपछि चिज उत्पादन घटेको हो । चिज उत्पादन बन्द भएपछि चिज कारखानामा दूध बेचेर गुजारा गर्ने किसान मारमा परेका छन् । चिज उत्पादनका लागि संस्थानले विभिन्न कारखानामा करिब सात हजार लिटर दूध खरिद गर्ने गरेको थियो । चिज उत्पादन नभए पनि दूध भने हप्ताको चार दिन विराटनगर पठाउने गरिएको केन्द्रले जनाएको छ ।
संस्थानले इलाममा बिहीबार, शुक्रबार र शनिबार गरि हप्ताको तीन दिन दूध लिन बन्द गरेको छ । हप्तामा तीन दिन मिल्क होलिडे भएपछि किसानले गाईपालन व्यवसाय धरापमा परेको बताएका छन् ।
इलाममा र पाँचथरमा छ सरकारी र नीजि २३ वटा चिज कारखाना सञ्चालित छन् । ती कारखानाले चीजबाहेक मख्खन समेत उत्पादन गर्ने गरेका छन् । निजी चीज उत्पादकहरुको छाता सङ्गठन हिमालयन चीज उत्पादक संघका तुलु तामाङ्गले निजी चिज कारखानाले पनि बजारमा बन्दका कारण चीज पठाउन नपाएको बताए ।
मङ्गलबार मात्र राजधानी पठाइएको चीज बीच बाटोबाटै फर्काउनु परेको उनले बताए । निजी कारखानाले आफ्नो कारखानामा उत्पादित चिज भण्डार अभावमा बिर्तामोडका निजी कोल्ड स्टोरमा मासिक प्रतिकिलो पाँच रुपैयाँ तिरेर भण्डारण गरेका छन् । तामाङ्गको लक्की डेरीको मात्र झापामा तीन हजार पाँच सय किलो चीज स्टक रहेको बताए । सरकारले यहाँ उत्पादित चिजलाई तिब्वत वा भारतमा निकासीका लागि भरपर्दो व्यवस्था गरिदिए चिजको बजार सहज हुने उनको भनाई छ । इलाममा उत्पादित चिज राजधानी र पोखराको बजारमा खपत हुने गरेको छ ।

0 comments:
Post a Comment