सानिमा माई थप्न अझै केही दिन लाग्ने

गोदक सब–स्टेसनमा सामान्य उपकरणको
समस्या देखिएपछि लामो समयको पर्खाइमा पनि सानिमा माई हाइड्रोपावर पुरै क्षमतामा सञ्चालन आउन अझै एकदुई दिन कुर्नुपर्ने भएको छ । बुधबार सञ्चालन गर्ने तयारी भएपनि उक्त समस्याले थप प्राविधिक कोलकाताबाट आएपछि मात्र माई हाइड्रो पनि राष्ट्रिय प्रसारणमा जोडिने भएको छ ।
असोज ११ गते साँझ निर्माणाधिन काबेली कोरिडोर १३२ केभी प्रशारण लाइनको पहिलो खण्ड झापाको लखनपुरदेखि इलामको गोदक खण्ड उद्घाटन गर्ने तयारी आयोजनाले गरेको थियो । लखनपुरमा एक नम्बर र दुई नम्बर पीलरका बीचमा जग्गाको क्षतिपुर्ति विवादले करिब महिना अल्मल्याएपछि अन्तमा आयोजनाले उक्त विवाद समाधान गरेको थियो । आयोजना प्रमुख दिपेन्द्रराज द्विवेदीले आयोजनाको पहिलो खण्ड सम्पन्न भएको र देशमा विद्यमान विद्युत लोडसेडिङको अवस्थालाई बुझेर नेपाल विद्युत प्राधिकरणले चासोका साथ आयोजना नियालेको बताएका थिए । 
उप–कार्यकारी निर्देशक कन्हैयाकुमार मानन्धर स्वयम् दुईचार दिन दमक सब–स्टेसन बसेर आयोजनाको प्रगति रिपोर्टिङ गरेका थिए । आयोजनाले निर्माण सम्पन्न पहिलो खण्डको उद्घाटन वा परीक्षण प्रसारणमा कार्यकारी निर्देशक मुकेश काफ्लेलाई पनि निम्त्यायो । साथमा उप–कार्यकारी निर्देशक मानन्धर र ग्रीड सञ्चालन विभागका निर्देशक बृजभुषण यादव समेत आए । कार्यकारी निर्देशक भन्दा अगाडि सबै कर्मचारी आइपुगे तर कार्यकारी निर्देशक काफ्ले भने फ्लाइट डिले भएका कारण साँझ अबेर मात्र आइपुगे । यसले गर्दा उक्त दिन तोकिएको समयमा चार्जिङ हुन पाएको थिएन । आयोजना कर्मचारीले बोलाएका कतिपय विद्युत प्राधिकरण र विद्युत गृहका सञ्चालकहरू त्यहाँ भेला भएर छुट्टिएका थिए । त्यसको भोलिपल्ट बिहान साढे १० बजेलाई कार्यक्रम तय भएको थियो । सबै आमन्त्रित र आयोजनाका कर्मचारी र ठेकेदार प्रतिनिधिहरू भेला समेत भएका थिए । तर चार्जिङ परीक्षण हुन लाग्दा कार्यकारी निर्देशक समेतको टोली मोटरमा चडेर झापातर्फ हुइँकियो । ग्रीडका निर्देशक चौधरीबाहेक प्राधीकरणका ठूलाबडा सबै गए । 
आयोजना प्रमुख द्धिवेदीले ठेकेदार कम्पनी जेगोरका केहि ब्यक्तिले २४ र २५ नम्बर गरि दुईवटा टावरका जम्पर खुस्काइदिएकाले कार्यक्रम पुनः ढिलो भएको र जम्पर पुनः जोडेपछि साँझसम्म परीक्षण गर्ने बताए । जेगोरले आफ्नो म्याद थपको मागलाई ईस्यु बनाएर परीक्षणका बेलामा घुर्की लगाएको जानकारी दिइयो । उक्त खबर पाउनासाथ आयोजनाले अन्य कर्मचारी र कामदार खटाएर दुवै टावरको जम्पर जडान गरि साँझ चार बजेपछि परीक्षण शुरु ग¥यो । 
दमकबाट कार्यकारी निर्देशक समेतको टोलीले स्वीच अन गर्ने भनिएपनि उडान छिटो भएपछि राजधानीको टोली ३ बजे नै उड्यो । अन्त्यमा ग्रीड सञ्चालन विभागका निर्देशक बृजभुषण चौधरीले दमकबाट गोदक सब–स्टेसनमा आएको लाइन स्वीच अन गरेर उक्त खण्डको उद्घाटन गरे । ब्राह्मणले पूजाआजा गरि सकेपछि सानो कार्यक्रमको आयोजना गर्ने जमर्को प्रशासन अधिकृत दिपक ढकालले गरेका थिए । 
कार्यक्रममा आयोजना प्रमुख द्विवेदीले आयोजनामा सघाउ पु¥याउने सबै पक्ष र कर्मचारीलाई धन्यबाद दिए । उनले आयोजना परीक्षण सफल भएको र ७५ प्रतिशत काम सम्पन्न भएको बताए । अब दोस्रो खण्डमा इलाम, फिदिम र अमरपुर सम्म टावर र लाइन टाँग्ने कार्यं चुनौतिको रुपमा रहेको बताए ।  सानिमा हाइड्रोपावरका प्रमुख कार्यकारी सुवर्णदास श्रेष्ठले काबेली प्रसारण लाइन गोदकसम्म आउँदा जिल्ला र देशबासीसँगै आफु पनि खुशी भएको बताए । यता निर्देशक चौधरीले देशमा महाभूकम्पका कारण ८० मेगावाट भन्दा बढि विद्युत अवरुद्ध हँुदा यो प्रसारण लाइन शुरु भएकोमा खुशी ब्यक्त गरे । उनले देशमा वर्षेनी थप एक सय मेगावाट विद्युत थपको माग भइरहेकाले यस्तो अवस्थामा यस्ता प्रसारण लाइन निर्माण जरुरी र महत्वपूर्ण भएको बताए । यस अघि प्राधिकरणले पछिल्लो पटक पीलुवा परवानीपुर प्रसारण लाइन सम्पन्न गरेको थियो । 
कार्यक्रमपछि क्रमशः सानीमा २२ मेगावाट विद्युत परीक्षण गरि प्रसारणमा पठाउन पहल शुरु भयो । सब–स्टेसनबाट सीङ्क्रोनाइज गरेर विद्युत गृह सञ्चालनमा ल्याउँदा सानिमाका प्राविधिकले फेज गलत देखिएको रिपोर्टिङ गरे । त्यसपछि इलाम पूवाखोला सीङ्क्रोनाइज गर्ने कार्य शुरु भयो । त्यो पनि सफल हुन सकेन । आयोजनाबाट उत्पादित विद्युत काबेली कोरिडोर प्रसारण लाइन मार्फत पठाउन सानिमा हाइड्रो र इलाम जलविद्युत केन्द्रका प्रमुख सञ्जय पाठक समेतको टोली अघिल्लै दिनदेखि गोदकमा थिए । 
बिहीबार साँझ निर्देशक समेतको टोली फेजलाइन मिलाउन ब्यस्त भए । दमक र गोदक दुवै सब–स्टेसनमा साँझ अबेर उपकरण नभएकाले सम्भव थिएन । सब–स्टेसनको बसपार्कमा फेज मिलाउँदा समेत एउटा अटोमेटीक जम्पर बिग्रिएकाले शुक्रबार बिहान सम्म पर्खनु परेको थियो । आयोजनाले कर्मचारी पठाएर दमकमा फेज मिलाएपनि उक्त सामान्य मेशीन बिग्रिएका कारण गोदकमा कोलकाताबाट थप प्राविधिक आएर शनिबार मिलाएपछि मात्र सानिमा पुरै क्षमतामा सञ्चालन हुने जनाएको छ । यसरी सानिमा माई हाइड्रोको थप विद्युत उत्पादनका लागि अझै एकदुई दिन कुर्नुपर्ने भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment