माईभ्याली गोल्डकपका लागि बाँसको प्यारापिट बनाइँदै ।
इलाम, ७ माघः व्यवस्थापन र पुरस्कार राशिका कारण पूर्वी पहाडकै ठूलो मानिएको माईभ्याली अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण माघ १४ देखि सुरु हुँदै छ । अत्यधिक दर्शकको उपस्थितिले अघिल्लो वर्षको पहिलो प्रतियोगितामा हौसिएको आयोजक दोस्रो संस्करणलाई पनि भव्य बनाउने तयारीमा जुटेको छ ।
नेपालका ‘ए’ डिभिजनका सात, भारतका दुई र आयोजक गरी दस टिमको सहभागिता पक्का भएको आयोजकले जनाएको छ । प्रतियोगिताका लागि अस्थायी प्यारापिट निर्माणसहित मैदानको स्तरोन्नतिमा आयोजक केन्द्रित छ ।
कुल ४५ लाख रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगितामा विजेताले तीन लाख र उपविजेताले एक लाख पचास हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी, मनाङ(मर्स्याङ्दी, सरस्वती क्लब, सहारा पोखरा, रूपन्देही(११, झापा(११, दुर्गापुर स्टिल फुटबल क्लब कोलकाता, ग्लोबल फुटबल क्लब आसाम र आयोजक माईभ्याली फुटबल क्लब भिड्नेछन् ।
माईभ्याली फुटबल क्लब र जिल्ला फुटबल संघले प्रतियोगिता आयोजना गर्न लागेका हुन् । प्रतियोगिताका लागि बाँसको प्यारापिट, ढुंगाको प्यारापिट, मैदानको स्तरोन्नतिलगायतका काम भइरहेका छन् ।
‘पाँच लाख रुपैयाँभन्दा धेरै त बाँसको प्यारापिट निर्माणमा नै खर्च हुने भएको छ,’ क्लब अध्यक्ष धीरेन चेम्जोङले भने, ‘हरेक वर्ष स्थायी संरचना निर्माण गरिँदै जाने हो भने स्थानीय प्रयासमा नै स्टेडियम सम्भव छ ।’
फुटबल एकेडेमी सञ्चालनको लक्ष्यसहित प्रतियोगिताको आयोजना थालिए पनि मैदानको दुरावस्था र बर्सेनि अस्थायी प्यारापिटको खर्चले आयोजकलाई हैरान बनाएको छ ।
नेपाली सेनाको अधीनमा रहेको टुँडिखेलमा प्रतियोगिता आयोजना गर्न अवरोध नभए पनि स्थायी संरचनाका लागि मुस्किल परेको सरोकारवालाको भनाइ छ । पहिलो संस्करणमा ४१ लाख ३९ हजार रुपैयाँ खर्च भएको प्रतियोगितामा ६६ लाख १६ हजार रुपैयाँ आम्दानी भएको थियो । संकलित रकममध्ये प्रायोजन र सहयोगबाहेक ‘गेट मनी’ को हिस्सा उल्लेख्य छ ।
गत वर्ष २० लाखभन्दा बढी रकम टिकटबाट संकलन गरेको आयोजक यो पटक थप रकम उठाउने ध्याउन्नमा छ ।
अघिल्लो वर्ष तीन हजार पाँच सय सिट क्षमताको प्यारापिट निर्माण गरिएकोमा यो वर्ष पाँच हजार जना अट्ने क्षमताको बनाइनेछ,’ सचिव दिनेश काफ्लेले भने । कान्तिपुरबाट

0 comments:
Post a Comment