काठमाडौं उपत्यकासहित देशभरको मौसम बिहीबार दिउँसोदेखि सुधार आउने मौसमविद्ले बताएका छन्। गएराति देशका विभिन्न भागमा वर्षासँगै उच्च हिमाली भेगमा हिमपात भएपनि बिहीबार दिउँसोदेखि मौसम सफा रहने र घाम लाग्ने मौसमविद बरुण पौडेलले सेतोपाटीलाई जानकारी दिए।
‘मंगलबारदेखिको बादल र वर्षासँगै उच्च हिमाली भेगमा हिमपात भएकाले चिसो बढेको हो। तर दिउँसोदेखि घाम लाग्ने भएकाले चिसो केही घट्छ,’ मौसमविद् पौडेलले बताए। सेतोपाटीसँग कुराकानी गर्दै मौसमविद् पौडेलले देशभर मंगलबार र बुधबार राति वर्षा भएकाले चिसो ह्वात्तै बढेको र बादल पूर्वी नेपाल सरिसकेकाले दिउँसोदेखि मौसम सफा रहने बताए।
‘अहिले काठमाडौंसहित पश्चिम नेपालको मौसम सफा छ र घाम पनि लागिरहेको छ। पश्चिमी बायुका कारण लागेको बादल विस्तारै पूर्वी नेपालमा सरेको छ। पूर्वी नेपालका केही भाग बाहेकका ठाउँमा घाम लाग्छ,’ उनले भने। उनले बिहानसम्म काठमाडौँमा बादल लागेको भएपनि अहिले मौसम सफा रहेको बताए।
पूर्वी नेपालका केही भेगमा पानी पर्ने
पौडेलका अनुसार पश्चिमी बायुका कारण लागेको बादल पूर्वी नेपाल सरेको र बिहीबार पूर्वका केही भागमा पानी पर्नेछ। यस्तै केही पहाडी भेगमा वर्षा हुने र उच्च पहाडी भेगमा हिमपात पनि हुनेछ।
उनले बिहीबार रातिसम्म पश्चिमी बायु बाहिरिने बताए।
सबैभन्दा बढी वर्षा विराटनगरमा
गएराति सबैभन्दा बढी विराटनगरमा पानी परेको उनले बताए। पश्चिमी बायु पूर्वी नेपाल सरेकाले विराटनगरमा गएराति बढी वर्षा भएको बताए। उनका अनुसार विराटनगरमा १७ मिलिमिटर पानी परेको छ।
हिमाली जिल्ला जुम्लामा गएराति हिमपात भएकाले चिसो अत्याधिक बढेको छ। जुम्लामा गएराति १० मिलिलिटर पानी परेको छ। यस्तै सुर्खेतमा ३, नेपालगञ्जमा ५, दाङमा २, पोखरामा २ र ओखलढुंगामा ५ मिलिमिटर पानी परेको पौडेले बताए। काठमाडौमा फाटफुट पानी परेको उनले जानकारी दिए।
बुधबारको तुलनामा मौसममा व्यापक सुधार
उनले बुधबारको तुलनामा मौसममा निकै सुधार आएको बताए। पश्चिम नेपालमा घाम लागिरहेका उनको भनाई छ। पश्चिमी हावाले ल्याएको जलबासका कारण केही दिन काठमाडौंमा समेत कुहिरो लाग्ने तर पानी भने नपर्ने उनले बताए।
काठमाडौंको तापक्रम अहिले ७ डिग्रीसेन्टीग्रेट रहेको र अधिकतम तापक्रम १७ देखि १८ सेल्सियससम्म पुग्ने छ। सबैभन्दा कम तापक्रम जुम्लामा माइनस १० दशमलब ४ डिग्री सेन्टीग्रेट पुगेको पौडेलले बताए।
तराईमा अझै केही दिन हुस्सु लाग्ने
उनले तराईमा बाक्लो हुस्सु लागेकाले घाम छिर्न नपाएको बताए। ‘धनगढीदेखि पूर्वी तराईका बोर्डर साइडमा अझै केही दिन बिहान अबेरसम्म बाक्लो हुस्सु र कुहिरो लाग्छ। त्यसकै कारण केही दिन बिहान र बेलुकी पख चिसो हुन्छ,’ उनले भने,‘तर दुई तीन दिनमा तराईको मौसम पनि सफा भएर घाम लाग्नेछ।’

0 comments:
Post a Comment