रंगेलीमा गोली चल्यो, ६२ वर्षीया वृद्धाको मृत्यु

बिराटनगर ७ माघः युवा संघको मधेस जागरण कार्यक्रम विथोल्न जम्मा भएका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडपका क्रममा मोरङको रंगेली बजारमा गोली चलेको छ ।  एमालेका शीर्ष नेताहरु सहभागी भएको युवा संघको कार्यक्रम बिथोल्न आमहड्ताल गरेर उत्रेका मोर्चाका कार्यकर्ताले उग्र प्रदर्शन गरेपछि रोक्ने क्रममा प्रहरीले गोली चलाएको हो ।
मोर्चाका कार्यकर्तासँग भएको झडपका क्रममा प्रहरीले गोली चलाउँदा एक ६२ वर्षीया वृद्धाको ज्यान गएको छ । प्रहरीको गोलीबाट मारिएका ती वृद्धाको नाम र ठेगाना खुल्न सकेको छैन ।
रंगेली बजारस्थित इलाका प्रहरी कार्यालय नजिकै युवा संघको कार्यक्रमस्थलमा युवाहरु र प्रहरीले कडा सुरक्षा दिइरहेपनि बजारको अन्य क्षेत्र तनावग्रस्त भएको छ ।  मोर्चाका कार्यकर्ताहरु लाठी र घरेलु हतियारसहित उत्रेपछि तनाव बढेको हो । मोर्चाका कार्यकर्ताहरुले प्रहरीको घेरा तोडेर युवा संघको कार्यक्रमस्थलमा आक्रमण गर्न खोजेपछि प्रहरीले करिब ५० राउन्ड बढी गोली चलाएको हो ।
प्रहरीले मोर्चाका कार्यकर्ताहरुलाई रोक्ने क्रममा दर्जनौ सेल अश्रुग्यास पनि हानेको छ । झडपका क्रममा एकजना प्रहरी घाइते भएका छन् भने मधेसी मोर्चाका अर्का कार्यकर्तालाई पनि गोली लागेको छ ।  युवा संघको रंगेलीमा आज भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने जानकारी पाएपछि मोर्चाले सडक यातायात बन्द गरेर विरोधमा उत्रेको थियो ।  यद्यपि तनाव बढ्ने भएपछि प्रम ओली त्यो कार्यक्रममा सहभागी हुन पाएनन् । युवा संघको त्यो कार्यक्रमलाई एमाले महासचिव ईश्वर पोखरेलसहितले सम्बोधन गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment