नारायणगढ–मुग्लिन सडक दैनिक दुई घण्टा बन्द

इलाम, ४ माघः सडक फराकिलो पार्ने काम जारी रहेकाले ट्राफिक व्यवस्थापनका लागि दिउँसोको समय दैनिक दुई घण्टा आवतजावत बन्द गर्न थालिएको छ ।  चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा बढीमा दैनिक दुई घण्टा आवतजावत बन्द गरेर सडक निर्माण गर्न भनिएको बताए ।  
नियमित काम गर्दा ट्राफिक व्यवस्थापन नराम्ररी प्रभावित भएकाले निश्चित समय तोकेर आवतजावत बन्द गर्न भनिएको प्रशासनले जनाएको छ ।  आयोजनाले सार्वजनिक सूचना नै जारी गरेर चार दिनदेखि दिउँसोको समयमा दैनिक दुई घण्टा आवतजावत बन्द गरेको जनाएको छ । यसअघि जथाभावी निर्माण कार्य सुरु गर्दा सवारी आवागमन दिनभरजसो नै प्रभावित भएको र एम्बुलेन्ससमेत जान मुस्किल भएको गुनासो आएपछि स्थानीय प्रशासनसँगको छलफलपछि बढीमा दुई घण्टा सडक बन्द गरेर काम गर्न थालिएको हो ।  
उक्त सडकको करिब ३६ किमीको विभिन्न स्थानमा अहिले सडक फराकिलो बनाउने काम चलिरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजन भेटवालले निर्माणस्थलमा ट्राफिक प्रहरी नै परिचालन गरेर यात्रुको समस्यामा ध्यान दिने गरेको जानकारी दिए । नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत नारायणगढ–मुग्लिन सडक आयोजनाले साँघुरो सडकलाई चौडा गरेर स्तरोन्नति गर्न लागेको हो ।  
सडक चौडा बनाउन सो सडक खण्डलाई तीन भाग लगाएर छुट्टाछुट्टै निर्माण कम्पनीले काम गरिरहेका छन् ।
स्थानीय सञ्चार माध्यम र सार्वजनिक सूचना निकालेर दिउँसो दुई घण्टा सडक बन्द गरी काम गर्ने गरेको ठेकेदार प्रतिनिधि धर्मराज दाहालले बताए । कुनै अवरोध नभए आगामी २०७४ सालको सुरुवाततिर काम सक्ने योजना रहेको छ । सो सडक नौ देखि ११ मिटर चौडा पारिनेछ । रासस 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment