अपांगता भएकी किशोरी सात महिनादेखि बाख्राको खोरमा

इलाम सदरमुकाममा अपांगता भएकी एक किशोरीलाई बाख्राको खोरमा थुनेर राखिएको पाइएको छ । मानसिक अपांगता भएकी धर्माकुमारी मगरलाई सात महिनादेखि बाख्राको खोरमा थुनेर राखिएको हो ।
जन्मँदै मानसिक समस्या भएकी किशोरीलाई खोरमा थुनिएकाले उनका हातखुट्टासमेत कुँजिएका छन् । खोरमा थुनेर राखिएकी किशोरीको शारीरिक विकास पनि राम्रोसँग भएको देखिँदैन । हातखुट्टा सुकेर ख्याउटे भइसकेका छन् । १८ वर्षकी ती किशोरीको तौल करिब १२ देखि १५ किलो मात्र छ ।
खानपान र स्याहारसुसार अभावमा किशोरी कुपोषित भएकी छन् । छिमेकीका अनुसार पहिले उनी अरूको सहारामा हिँड्डुल गर्न सक्थिन् । तर, अहिले उनी राम्ररी बस्न पनि सक्दिनन् । खोरमा सुतिरहने भएकाले उनको जिउभरि घाउ छन् ।
किशोरीकी कान्छीआमा खिमकुमारी मगर भने जिउमा निस्किएको घाउ निको भइसकेको बताउँछिन् । जिउमा घाउ हुँदा पनि उपचार नपाएकी किशोरीको घरायसी औषधोपचारले घाउ निको भएको खिमकुमारीले बताइन् । उनको खोरसँगै बाख्राको खोर जोडिएको छ । खोर पनि साँघुरो छ । किशोरीलाई भित्र राखेपछि सरसफाइ गर्नै समस्या हुने देखिन्छ । बाँसको भाटाले बनाएको खोरमा सीधै चिसो सिरेटो पस्छ । सुत्न बाँसकै खटिया बनाइएको छ ।
खोरमा थुनिएकी किशोरीलाई सरकारी र गैरसरकारी संघ–संस्थाको पहलमा मंगलबार अपराह्न घरमा सारिएको छ । प्रहरी, महिला तथा बालबालिका कार्यालय, राष्ट्रिय अपांग महासंघ, अधिकारकर्मी संघ–संस्थाको टोली किशोरीलाई थुनिएर राखेको खोरमा पुगेको थियो । बुधबार उपचार गराउन अस्पताल ल्याउने सर्तमा पीडित किशोरीलाई घरमा सारिएको हो ।
तीन साताअघि किशोरीलाई खोरमा थुनेर राखिएको जानकारी मानवअधिकार मञ्चमा आएको थियो । पहिलोपटक त्यहाँ पुग्दा उनलाई बाँधेर राखिएको मानवअधिकार मञ्चकी रेणुका राई बताउँछिन् । त्यसपछि मञ्चले राष्ट्रिय अपांग महासंघलाई घटनाबारे जानकारी गराएको थियो ।
त्यसपछि महासंघकी कर्मचारी पवित्रा बजगार्इंसहितको टोली घटनास्थल पुगेको थियो । सो टोली पुग्दा डोरी भने फुकाइएको थियो । तर, उनी बस्ने खोर भने फोहोर भेटिएको अपांग महासंघकी बजगार्इंले बताइन् । ‘बस्ने ठाउँमा बाख्राले नखाएको घाँसको झ्यास थियो,’ मंगलबार बालिकाको उद्धारमा पुगेकी बजगाईंले भनिन्, ‘त्योभन्दा त आज धेरै सफा छ ।’
सात महिनाअघिसम्म उनी घरमै थिइन् । बाबु नरबहादुर मगरले विदेश जाने वेला खोरमा सारेर हिँडेको कान्छीआमा खिमकुमारीले बताइन् । नरबहादुर कतार गएको सात महिना भइसकेको छ । ‘विदेश जाने वेलामा उसको बाबुले नै त्यहाँ घर बनाएर राखेका हुन्,’ खिमकुमारीले भनिन्, ‘घरमा राख्दा रुङ्नुपर्छ भनेर त्यहाँ राखेका हुन् ।’ घरमा राख्दा रुङ्न झन्झट भएपछि उनलाई खोरमा थुन्ने गरिएको खिमकुमारीले बताइन् । राति पनि उनलाई खोरमा थुन्ने गरिएको थियो ।
चिच्याउने र घरमा फोहोर गर्ने भएकाले उनलाई खोरमा सारिएको परिवारको भनाइ छ । किशोरी वेला–वेला चिच्याएको सुनिएको आसपासमा कोठा लिएर बस्ने विद्यार्थीले बताएका छन् । उनको घरनजिकै महेन्द्ररत्न बहुमुखी क्याम्पसको हर्टिकल्चर फ्लोरिकल्चर विभाग छ । पढे–लेखेकाहरूको निकै चहल–पहल हुने क्षेत्रमा अपांगता भएकी किशोरीलाई खोरमा थुनेर राखिएको भए पनि त्यो जानकारी बाहिर आएको थिएन ।
पीडित किशोरीको आमाको मृत्यु भएपछि बाबुले दोस्रो विवाह गरेका हुन् । किशोरीको जन्म दिने आमातर्फका एक दाजु र एक दिदी छन् । दाजु वैदेशिक रोजगारीको सिलसिलामा कतारमा छन् । तर, उनले विदेश गएदेखि घरमा सम्पर्क नगरेको आमा खिमकुमारीले बताइन् । दिदीको भने विवाह भइसकेको छ ।
कान्छी आमा खिमकुमारीतिरका तीनजना छोराछोरी छन् । एउटा छोराले कक्षा १२ सम्मको पढाइ सकेका छन् । एकजना मावली बसेर एसएलसीको तयारी गर्दै छन् । कान्छी छोरी सदरमुकामकै एक बोर्डिङमा अध्ययन गर्दै छिन् । खिमकुमारीले आर्थिक अभावका कारण अपांगता भएकी छोरीको उपचार नगराएको बताइन् ।
मंगलबार उद्धारका लागि त्यहाँ पुगेको टोलीसँग उपचारका लागि रकम नभएको उनको भनाइ थियो । उद्धारमा पुगेका संघ–संस्थाले उपचार खर्च व्यहोरिदिनुपर्ने उनको माग थियो ।
सरकारले ती किशोरीलाई पूर्ण अशक्तको रातो परिचयपत्रसमेत दिएको छ । पूर्ण अशक्त अपांगता भएका व्यक्तिलाई सरकारले मासिक एक हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ । किशोरीको नामबाट परिवारले २४ महिनाको सामाजिक सुरक्षा भत्ता लिइसकेको छ ।
तर, उपचारमा खर्च गरेको छैन । त्यहाँ पुगेको टोलीले पूर्ण अपांगता भएकालाई उपचारमा छुट हुने जानकारी दिएपछि मात्रै आमा खिमकुमारी छोरीलाई अस्पताल ल्याउन राजी भएकी हुन् । त्यसअघि उनले किशोरीको घरायसी औषधोपचारले जिउभरिको घाउ निको भएको बताएकी थिइन् । नयाँपत्रिकाबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment