उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातः कतै हर्ष, कतै विस्मात

इलाम, ६ माघः  नेपालका हिमाली र उच्च पहाडी भेगमा हिमपात भएको छ । मकवानपुरको दामन र रोल्पाका उच्च बस्तीहरुमासमेत हिमपात भएको छ ।
हिमपातले उच्च हिमाली भेगका कृषकहरु खुसी छन् । तर, घरबाट समेत बाहिर निस्किन नसक्ने गरी बाक्लो हिमपात भएका स्थानको दैनिकी भने कष्टकर भएको छ ।
ताप्लेजुङको जनजीबन कष्टकर
ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा गएरातिदेखि वर्षासँगै हिमपात भएपछि जनजीबन प्रभावित भएको छ । ताप्लेजुङमा यो वर्ष तेस्रो पटक हिमपात भएको हो ।
हिमपातका कारण ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याब्ला, तोक्पेगोला, पाथिभरा, फले लगायतका क्षेत्रमा दुई फिटसम्म हिउँ जमेको छ । माथिल्लो क्षेत्रका बस्तीहरुमा बाक्लो हिमपात भएसँगै चिसो पनि ह्वातै बढेको स्थानीयले बताएका छन् । चिसोको असर वृद्धवृद्धा, बालबालिका तथा पशुपंक्षीमा बढी परेको छ ।
यस्तै जिल्लाका अन्य गाविस फाकुम्बा, साँघु, याम्फुदिन, कालीखोला, इखाबु, मामाफ् लगायतका उच्च भेगका गाविसमा समेत चिसो बढेको मामाफ्ेका चित्र लिम्बूले बताए ।
मुगुको तापक्रम माइनस १०
लामो खडेरीपछि मुगुमा हिमपात भएपछि चिसो ह्वात्तै बढेको छ । सदरमुकाम गमगढीको तापक्रम माइनस १० डिग्री सेल्सियस पुगेको छ ।
मुगुका उच्च बस्तीमा मंगलबार साँझदेखि नै हिमपात भएको थियो । सदरमुकाम गमगढीमा भने गएरातिदेखि हिउँ परिरहेको छ । गमगढीमा बिहान ८ बजेसम्म ७ इञ्च बराबरको हिउँ परेको गमगढी हावापानी केन्द्रले जनाएको छ ।
मुगुका उच्च बस्ती डोल्फु, मुगु, किम्री, पुलु, रारा, मुर्माटप, खमाले, सोरुकोट, डुमाना, ताल्च, रारा विमानस्थत, मन्दु, तल्लेख, शोभालगायतका बस्तीमा भने तीन फिटभन्दा बढी हिउँ जमेको बताइएको छ । स्थानीय घरबाट बाहिर निस्किन सकेका छैनन् । घरको ढोकाको मध्यसम्म परेको हिउँ तताएर पानी बनाई स्थानीयले खाना पकाउने गरेका छन् ।
हिमपातले जिल्लामा यातायात सेवा र विमानस्थल बन्द भएका छन् । कर्णाली राजमार्गअन्तर्गत नाग्म-गमगढी सडकखण्ड कच्ची भएकाले हिउँले सडक हिलाम्य हुँदा र घुच्चीलेकमा चार फिटभन्दा बढी हिउँ परेकाले मुगु भित्रने एक दर्जन मालबाहक गाडी बाटोमै रोकिएका छन् ।
एक ठाउँबाट अर्को ठाउँसम्म जान नसकेपछि विद्यालयहरु पनि बन्द भएका छन् ।
गाउँघरमा बाक्लो हिमपातले जनजीवन प्रभावित भए पनि किसानहरु र सदरमुकाममा आएका कर्मचारी तथा पर्यटकहरु भने हिउँसँगै रमाइरहेका देखिन्छन् । मुगुमा गत साउनदेखि पानी नपर्दा स्थानीय मर्कामा परेका थिए ।
जुम्लाका किसान खुसी
लामो खडेरीका कारण चिन्तित भएका जुम्लाका किसानहरु हिउँ परेपछि खुसी भएका छन् । हिउँले जमिन चिसो हुने अन्नबाली सप्रिने किसानहरुको भनाइ छ । हिउँले जौं, गहुँ, मकै, आलुलगायतका बाली र स्याउ खेती सप्रिने किसानहरु बताउँछन् ।
जुम्लामा गत भदौदेखि पानी र हिउँ परेको थिएन । लामो खडेरीले बाली सुक्ने चिन्ताले किसानहरु पिरोलिएका थिए । हिउँ परिरहेकाले बजार र गाउँ भने सुनसान छन् । सरकारी कार्यालय र संघ संस्थाका कार्यालयहरु कम मात्रै खुलेका छन् ।
जाजरकोटमा टेलिफोन अबरुद्ध
जाजरकोटका उत्तरी भू–भागमा हिमपात भएसँगै टेलिफोन सेवा अवरुद्ध भएको छ । जिल्लाका उत्तरी भेगका रामीडाँडा, नायकवाडा, रोकायगाउँ, पैक, दह, मजकोट, गर्खाकोट, कोर्ताङलगायतका गाविसमा हिमपातका कारण फोन सेवा बन्द भएको छ ।
जाजरकोटमा मंगलबारदेखि हिमपात जारी छ । सोमबार पनि घाम नलागेको र मंगलबारदेखि हिउँ परेकाले नायकवाडाको रतनकोट स्काइ टावरमा सोलारबाट विद्युत् आपूर्ति बन्द भएपछि फोन सेवा अबरुद्ध भएको हो । जाजरकोटको तल्लो भू–भागमा भने पानी परिरहेको छ । हिउँ र पानीले चिसो बढेपछि बृद्धबृद्धा, बालबालिका र दीर्घ रोगीहरु प्रभावित भएका छन् ।
तर, लामो समयपछि हिमपात र वषा भएपछि किसानहरु भने खुसी भएका छन् । हिमपात र वर्षाले बालीनाली सप्रने र वातावरण राम्रो हुने भएकाले आफू खुसी भएको गर्खाकोटका डिलबहादुर शाहीले बताए ।
बाजुरामा मंगलबारदेखि हिमपात
बाजुरा सदरमुकाम मार्तडी र आसपासका बस्तीमा बाक्लो हिमपात भएको छ । मार्तडी, कोल्टी, पाण्डुसेन, ढम्कने, दहकोट, मानाकोट, कोटीला, जगन्नाथ, गोत्री लगायतका स्थानमा मंगलबार रातिदेखि नै बाक्लो हिमपात भएको छ । हिमपातका कारण कोल्टी क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएपछि सेवाग्राही मर्कामा परेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment