नाकाबन्दी नखुलेसम्म प्रधानमन्त्री भारत भ्रमणमा नजाने

प्रधानमन्त्री केपी शर्मा ओलीले अघोषित नाकाबन्दी अन्त्य नभएसम्म भारत भ्रमण नगर्ने बताउनुभएको छ । परराष्ट्रमन्त्रालयले प्रधानमन्त्रीको भारत र चीन भ्रमणको तयारी भईरहेको जानकारी दिएपनि प्रधानमन्त्री ओलीले नाका सहज नभएसम्म भारत भ्रमण नगर्ने बताउनुभएको हो ।
दैनिक पत्रिकाका सम्पादक र केही बरिष्ठ पत्रकारसँग आज प्रधानमन्त्री निवासमा भएको अन्तरक्रियामा उहाँले नाकाबन्दी छिट्टै खुल्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो –‘यो अघोषित नाकाबन्दी हो, त्यसकारण अघोषित रुपमै खुल्छ । अब एक दुईदिन भित्रै नाकाहरु सहज हुन्छन । नाकाको अवस्था सामान्य नभइ भारत भ्रमणमा जान्न ।’
ठूलो षड्यन्त्रका बाबजुद असोज ३ गते संविधान जारी भएको बताउँदै प्रधानमन्त्री ओलीले सहमतिका नाममा संविधान जारी गर्ने प्रक्रिया एक हप्ता मात्र सारेको भए संविधान अहिलेसम्म नबन्ने दावी गर्नुभयो ।
संविधानमा कसैलाई विभेद नगरिएको स्पष्ट पार्दै उहाँले संघीयता, शक्ति पृथकीकरण, बहुदलिय प्रतिस्पर्धा, स्वतन्त्र न्यायालय, स्वतन्त्र प्रेस मानवअधिकार, असमानता र विभेदको अन्त्य संविधानका आधारभुत मान्यता रहेको उल्लेख गर्नुभयो । संघीयता वैज्ञानिक नभए आयोगमार्फत टुंग्याउन सकिने प्रधानमन्त्रीको धारणा थियो ।
मधेसी मोर्चाआबद्ध दलको बोली र व्यवहारमा द्विविधा रहेको प्रधानमन्त्रीको आरोप थियो ।  उहाँले भन्नुभयो– ‘संविधानसभाबाट राजिनामा दिएर हिंडेका सभासदहरु प्रधानमन्त्रीमा एउटालाई हराउन र अर्कालाई जिताउन आइपुगे, राजिनामा स्वीकृत भयो कि भएन भन्नेतिर पनि उनीहरुको ध्यान गएन ।’
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment