​बहराइनसँगको फाइनलका लागि नेपाली टोली तयार


इलाम, ८ माघः झण्डै २ दशकपछि अन्तर्राष्ट्रिय फुटवलको फाइनलमा प्रवेश गरेको नेपाली फुटवल टोली आज बहराईनको अण्डर २३ टीमका बिरुद्ध बंगबन्धु रंगशालामा उत्रदा केही पनि गुमाउने पक्षमा हुनेछैन । किनभने १७ वर्षपछि अन्तर्राष्ट्रिय फुटवलको फाइनलमा प्रवेश गरेर टोलीले ठूलै उपलब्धि हात पारिसकेको छ ।
प्रतियोगितामा सहभागिता जनाउँदा अण्डरडगको ट्याग लागेको नेपाली टोलीले सेमिफाइनलमा मालदिभ्सलाई ४–१ हराएसँगै उपाधिको प्रमुख दाबेदारको रुपमा दरिएको छ । 
नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जन पनि शुक्रबारको नतिजाले नेपाली फुटवलको भाग्य परिवर्तन गर्नेमा आशावादी छन् । म्याचअघि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘फाइनलको नतिजाले नेपाली फुटवललाई हेर्ने सरकारको नजर परिवर्तन हुन्छ भन्ने मलाई लाग्छ । यसको विकासमा सबै सरोकारवालाको ध्यान तान्न पनि सकारात्मक नतिजा ल्याउनुपर्छ ।’
पछिल्लो समय विवादको घेरामा परेको नेपाली फुटवलप्रति सकारात्मक भावना जगाउन बंगबन्धु कपमा टोलीको प्रदर्शन सहायक सिद्ध भएको उनको दाबी छ ।
बहराइनको U-23 टीम शारिरीक रुपमा निकै सबल भएपनि प्राविधिक हिसाबमा नेपाली टोली बलियो रहेको महर्जनले बताए । मालदिभ्ससँगको खेलपछि खेलाडीहरुको आत्मविश्वास बढेकाले फाइनलमा पनि अनुकुलको नतिजा आउने उनको अपेक्षा छ । 
खेल बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ५ बजे शुरु हुनेछ । 
प्रतियोगिताको समूहगत चरणमा नेपालले मलेसियाको फेल्डा युनाइटेड र आयोजक बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो । श्रीलंकालाई हराउँदै सेमिफाइनल प्रवेश गरेको नेपालले मालदिभ्सलाई शिकार बनाउँदै फाइनलको यात्रा तय गरेको हो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment