अग्रजहरु केन्द्रतर्फ, युवालाई जिल्लाको नेतृत्व
इलाम, माघः नेपाली कांग्रेसको १३ औं महाधिवेशनको गर्मी तराई देखि उच्च पहाडी जिल्लाहरुमा रन्किएको छ । गाउँ स्तरदेखि जिल्लाका चोकहरुमा कांग्रेसमा अबको नेतृत्वको बहस सुरु भइसकेको छ । केन्द्रिय नेताहरु जिल्ला दौडाहमा छन भने जिल्लास्तरका नेता गाउँ दौडाहमा छन् । राष्ट्रिय राजनीतिमा देखिएका नेताहरुको जिल्लामा चुनावी रौनक झनै तातेको छ । यसै सिलसिलामा केन्द्रिय राजनीतिमा विशेष स्थान राख्ने कुलबहादुर गुरुङको गृह जिल्ला इलाममा अबको नेतृत्व शसक्त हुनुपर्ने आवाज कार्यकर्ता स्तरबाट उठ्न थालिसकेको छ ।
नेकपा एमालेका हस्ती नेताहरु जन्माएको इलाममा कांग्रेसको जिल्ला नेतृत्वका लागि धेरै चुनौतीहरुको सामना गर्नुपर्ने भएकाले सक्षम र बौद्धिक नेताको खोजी सुरु भएको छ । एमालेका पूर्व अध्यक्ष झलनाथ खनाल, पूर्व सभामूख सुभाषचन्द्र नेम्बाङको बलमा राजनीति चल्ने इलाममा एमालेसँग जुध्न कांग्रेसको नेतृत्व बलियो हुनुपर्ने आवाज उठिरहेको छ । आन्तरिक गुट उपगुटले चुलिएको कांग्रेसभित्र एकताको अधिवेशन हुनुपर्नेमा कार्यकर्ताको जोड छ । चुनावको मुखमा मात्र गाउँले कार्यकर्तालाई भेट्न पुग्ने कतिपय आकांक्षीहरु देखि सदाबहार संगठनको सुदृढीकरणमा खटिएका नेताहरु जिल्ला नेतृत्व हत्याउने दाउमा छन् ।विभिन्न खेमामा विभाजित जस्तो देखिएको कांग्रेस भित्र स्पष्ट रुपमा संस्थापन र देउवा पक्ष विभाजित छ । यसको प्रभावबाट इलाम अछुतो छैन । अघिल्लो अधिवेशनमा संस्थापन भित्रै कलहका कारण देउवा पक्षधर केशब थापाले नेतृत्व हत्याएपछि संस्थापन पक्षका नेता कार्यकर्ताहरु एकढिक्का हुन कार्यकर्ताले दबाब दिइरहेका छन् । वर्तमान सांसद समेत रहेका थापाको नेतृत्वमा रहेको ईलाममा उनको प्रभावलाई कमजोर मान्न नहुने एकथरीहरुको विश्लेषण छ । हालैको केन्द्रिय बैठकले उनलाई सभापतिमा उम्मेद्वारी दिन रोकेको छ । तथापि, उनी अर्थात उनको उत्तराधिकारीसँग प्रतिस्पर्धा गर्न संस्थापनबाट उम्मेदवारहरु खुलेरै मैदानमा उत्रिएका छन् । थापालाई उम्मेदवारी हुन रोक लगाएसँगै संस्थापन पक्षका आकांक्षीहरु थप उत्साहित देखिएका छन् ।
पाका देखि युवा अनुहारहरु इलामको नेतृत्वमा आउने इच्छा देखाएका छन् । बौद्धिक, राम्रो वैचारिक क्षमता र कार्यकर्तासँग घुलमिल भएको नेतृत्व इलामले खोजेको शुभेच्छुकहरु बताउँछन् । कांग्रेसका जिल्ला सचिव खगेन्द्र देवान भन्छनः ‘अन्य दलहरुसँग प्रतिस्पर्धा गर्ने र जनस्तरसम्म पहुँच भएको नेतृत्व इलामले खोजेको छ,’ उनले भने ः‘हामीसँग संगठन सुदृढ बनाउन धेरै चुनौतीहरु रहेकाले जिल्ला नेतृत्व सक्षम हुन आवश्यक छ, त्यसका लागि सबै कांग्रेसीहरु एकढिक्का हुनैपर्छ ।’
एकथरी कार्यकर्ता तथा शुभेच्छुकहरु जिल्लाका क्रियाशिल केही नेताहरुलाई केन्द्रिय तहमा पुग्ने हैसियत राख्न सुझाव दिन थालेका छन् । कुलबहादुर गुरुङ पछि लामो समयसम्म इलामका कांग्रेसीहरु केन्द्रिय तहमा पुग्न सकेका छैनन् । पूर्व सांसद बेनुपराज प्रसाई पार्टीको संसदीय दलको सचिव हुँदै राज्यमन्त्री सम्म भए पनि उनी केन्द्रिय राजनीतिमा जम्न सकेनन् । त्यसपछि सुजता परियार केन्द्रिय समितिमा पुग्न सफल भएकी छिन् । पत्रकार तथा विश्लेषक रमेश दाहाल ‘गाउँले’ इलामले अब केन्द्रिय समितिमा पनि स्थान जमाउन सुझाव दिन्छन । उनी भन्छनः ‘जिल्लाका नेताहरु अब राष्ट्रिय राजनीतिमा स्थान जमाउन सक्षम भइसकेकाले जिल्लामै लडिरहनु भन्दा पनि माथिनै प्रयास गर्नु उपर्युक्त होला ।’ त्यसबाहेक पार्टीको भातृ संगठन तथा शुभेच्छुक संघ संस्थाहरुबाट पनि पार्टीमा प्रतिनिधित्व गराउन कार्यकर्ताहरुले दवाब सिर्जना गरेका छन् ।
को को छन् प्रतिस्पर्धी ?
गाउँ तथा क्षेत्रिय अधिवेशनहरु नसक्दै जिल्ला सभापतिहरुका आकांक्षीहरु खुलेरै मैदानमा उत्रिएका छन् । इलाममा यतिबेला विधानले वर्तमान सभापति केशब थापालाई रोक लगाएपछि निवर्तमान सभापति हिमालय कर्मचार्य, भेषराज आचार्य, बेनुपराज प्रसाई, डम्बर खड्का, श्याम खड्गी, होम दुलाल, वासु बस्नेत सभापतिका दाबेदार छन् । यसमध्ये कर्मचार्य, आचार्य र प्रसाईं संस्थापन निकट साथै थापा, खड्का, खड्गी, दुलाल, बस्नेत देउवा निकट मानिन्छन् ।
यद्यपि, कतिपय कार्यकर्ताहरुले केही अग्रज आकांक्षीहरुलाई केन्द्रिय समितिमा प्रतिस्पर्धा गर्न सुझाव दिएका छन् । नेवि संघका पूर्व सभापति विष्णु कार्की भन्छनः ‘केन्द्रिय समितिमा पूर्वाञ्चल स्तरबाटै प्रतिनिधित्व हुनेगरी हामीले जिल्लाका नेताहरुलाई जान सुझाव दिइरहेका छौं,’ उनले भने ः‘हाम्रो जिल्लाले पार्टीमा लामो योगदान गरेको, सक्षम र केन्द्रका लागि योग्य नेताहरु जन्माइसकेका छौं, त्यसैले केन्द्रमा हाम्रो प्रतिनिधित्व अनिवार्य भइसकेको छ ।’
यता क्षेत्रीय तथा नगर समितिमा पनि चुनावी रौनक थपिएको छ । क्षेत्र र नगरको अधिवेशन माघ १५ गते नै हुनेभएपछि चुनावी माहोल तातेको छ । इलाम क्षेत्र नम्बर एकमा मिलन क्षेत्री र दुर्गा बरालको नाम चर्चामा छ । मोहन श्रेष्ठले पनि इच्छा देखाएका छन् ।
तीनै जना प्रतिस्पर्धीले पार्टीमा लामो समयसम्म योगदान पु¥याएका नेता भएकाले कार्यकर्तालाई सभापति छनोट गर्न अप्ठ्यारो परेको छ ।
क्षेत्र नम्बर दुइमा भने वर्तमान अध्यक्ष गोबिन्द गिरी र सचिव मेघप्रसाद चम्लागाईको नाम सभापतिमा उठ्ने चर्चा छ । तिलबिक्रम सुब्बाले पनि इच्छा देखाएका छन् ।
क्षेत्र नम्बर तीनमा वर्तमान सचिव नुतनदेव दुलाल, गोविन्द पौडेल, माधव बस्नेत, रमेश सुवेदी, ईश्वर चिपालु, निरोज खड्गीको नाम चर्चामा छ । नुतनलाई चिपालु, खड्गी र पौडेलले साथ दिनसक्ने सम्भावना छ । त्यसो हुँदा दुलालले सभापति जित्न सक्ने आंकलन गरिएको छ ।
सूर्योदय नगरपालिकामा मणी गुरुङ, सोनाम छिरिङ काजी र ज्ञानीराम श्रेष्ठ सभापतिका दाबेदार छन् । गुरुङका बुबा प्रजातान्त्रिक सेनानी समेत भएका र कांग्रेसको राजनीतिमा राम्रो योगदान पु¥याएकाले मणीलाई स्थापति गराउन केही कार्यकर्ता लागेका छन् । उनलाई युवा कार्यकर्ताको साथ छ ।
इलाम नगरपालिकामा होम बस्नेत, निर्मल राउत र सर्दिप बुढाथोकीले सभापतिमा इच्छा देखाएका छन् । देउमाई नगरपालिकामा भने कृष्ण बराल, दिलीप कार्की, तारा ढुंगाना र अर्जुन बस्नेतले उम्मेदवारी घोषणा गरेका छन् ।
जनजाती र लोपन्मुखलाई अवसर
जनजाती समुदाय र देशकै लोपोन्मुख लाप्चा जातीको प्रतिनिधित्व जिल्ला तहदेखि केन्द्रिय स्तरमा आवश्यक्ता खड्किएको जिल्लास्तरका कार्यकर्ताहरुले दाबी गरिरहेका छन् । पार्टीलाई समावेशी बनाउन पनि सबै समुदायको आवश्यक्ता अनिवार्य मानिन्छ । लाप्चा समुदायबाट टिकाराम लाप्चा पूर्व सांसद रहे पनि केन्द्रिय तहमा उनको पहुँच विस्तार हुन सकेको छैन । उनलाई केन्द्रिय तहमा स्थापित गराउन केही नेता–कार्यकर्ताले इच्छा देखाएका छन् । कुनै समय मानबहादुर लाप्चा पनि जिल्लाको राजनीतिमा सक्रिय देखिए पनि उनले खासै चासो देखाएका छैनन । यता युवाहरुको प्रतिनिधित्व गर्दै बुद्धकाजी लाप्चाले उपयुक्त स्थानमा बस्न इच्छा देखाएका छन् । त्यसबाहेक राई, लिम्बु, दलित तथा सिमांकृत समुदायबाट पनि पार्टीमा उल्लेख्य प्रतिनिधित्व हुनुपर्ने आवाज उठिरहेको छ ।

0 comments:
Post a Comment