‘च्यातिएको गोजी’ भित्र लुकेको रहस्य

युवाराज गौतम

‘केही विषयको गरिराख्याँ थिएँ खोजी, खोइ कताबाट आइपुग्यो त्यो च्यातिएको गोजी । जो हिजोसम्म अन्य वस्तुलाई लुकाइदिन्थ्यो, तर आज आफैं उदाङिएको छ । पुरै नाङिएको छ । मन उत्सुक भयो । अझ नियालेर त्यो च्यातिएको गोजीलाई हेर्न खोजें । ओहो ! कति साहसी आफ्नो अस्तित्वको समाप्ति हुनलाग्दा पनि आफ्नै कर्तव्यप्रति त्यति नै वफादार, जतिखेर सकुशल थियो ।
अझ पनि भित्री साना कापहरुमा धुलोका कण अनि अन्य त्यस्तै के–के जाति लुकाइ नै राखेको रहेछ । एउटा निर्जिव गोजीको पनि कति जिम्मेवारीपन अनि उ कति कर्तव्यनिष्ठ, जसले मलाई घोत्लिएर सोच्न बाध्य बनायो । खास ! हामी मानिसमा त्यो जिम्मेवारीपन अनि कर्तव्यबोधको केही अंश मात्र हुँदो हो त हाम्रो समाज आज कुन अवस्थामा हुन्थ्यो ? हाम्रो जीवनशैली कस्तो हुन्थ्यो ?’
माथिका शब्दहरु सापटी लिइएका हुन । ‘च्यातिएको गोजी’बाट लिइएको सापटी । किशोर अवस्थाका दुई निबन्धकार ईश्वर लुईटेल र प्रकाशचन्द्र जिम्बाले यस्तै शब्दहरुले भरिएको एउटा छरितो निबन्धको पुस्तक प्रकाशित गरेका छन् । जसलाई  ‘च्यातिएको गोजी’ भनेर नामाकरण गरिएको छ । छोटा र लामा गरी ३२ वटा निबन्ध समेटिएको पुस्तक सानो भए पनि ओझपूर्ण छ । निबन्धले आम नेपालीको प्रतिनिधित्व गरेको छ ।
नेपाली समाजमा विद्यमान विकृति, विसङ्गतिहरुलाई व्यङ्गयात्मक र रोचक शैलीमा प्रस्तुत गरिएको छ । 
महाभूकम्पपछि थिलथिलो भएको समाज, नेपाली नारीहरुको पीडा, सडक बालवालिकाको दैनिकी, पीडित पूरुष, नेता, सपनाको सहर, भात, धुँवाप्रतिको मोह, लोकप्रिय मःमः, मुहारपुस्तिका, नयाँ स्टाइलले वर्तमान नेपाली समाजलाई फन्को मारेको छ । निबन्धमा देश प्रेम र प्रकृति प्रेम अनि राष्टप्रेमसँगै विदेशिनुको पीडा उदाङ्गो पारिएको छ । ‘हो मलाई पनि जोत्न मन थियो आफनै बारी, खन्न मन थियो आफ्नै खेत । परार साल मात्र फलफुल बेच्न जाँदा दलालले मूल्य ठग्यो, साग बेच्न जाँदा बजार नपाएर कुहाएर फालेको छु, दुध बेच्न जाँदा बन्दले बगाएको छु ।’ जस्ता यथार्थपरक विषयबस्तुलाई रोचक शैलीमा प्रस्तुत गरेर निबन्धकारले पुस्तकलाई न्याय गरेका छन् ।
पुस्तकको आवरण उत्कृष्ट नभएपनि कुल १ सय ३६ पेज पढिसक्दा आफ्नै समाजको परिक्रमा गर्न पाइन्छ । प्रकृतिको विनाश हुँदा चुपचाप बसेका मानिसहरु र गोलीगठ्ठा बोकेर बुद्ध दर्शनको मन्त्र जपिरहेको हाम्रो मानविय प्रबृत्ति प्रति निबन्धकार चिन्तित देखिएका छन ।शिक्षालाई व्यापारिकण गरिएको, लोकतन्त्र जनताको भोकतन्त्रमा परिणत हुँदै गएकोप्रति पुस्तक बोलेको छ ।
निबन्धहरु भैरव अर्यालको शैलीमा अघि बढेका छन् । भाषाशैली सरल छ । बीचबीचमा घोचक पाराले शब्दहरुको संयोजन मिलाइएको छ । विम्ब र प्रतिकको प्रयोगमा तन्नेरी निबन्धकारद्वय चुकेका छैनन । हिमाल मल्लले प्रकाशन गरिदिएको निबन्धको भाषा चाहीं दुर्गाप्रसाद कोइराला र जनार्दन अधिकारीले हेरिदिएका छन् । ईलाममा जन्मिएका निबन्धकार ईश्वर लुईंटेल राजधानीमा बसेर साहित्यमा स्थापित हुने दौरानमा छन् । 
युवा साहित्यकार सुविन भट्टराईले पुस्तकलाई ‘सोचहरुको नदी’का रुपमा व्याख्या गरिदिएका छन् । उनले च्यातिएको गोजीको सिर्जनालाई सम्भावनाको बीउका रुपमा बुझेका छन् । 
भर्खर उच्च शिक्षाको अध्ययनमा दौडिरहेका निबन्धकारद्वयले निबन्धभित्रै कालीगण्डकीकोे छालजस्तै उद्धेलित त कहीं नारायणीको पानीजस्तै शान्त देखिएका छन् । त्यसैले कृति आत्मपरक भन्न सकिन्छ र व्यङयको भाव चाहीं निबन्धको प्राण ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment