साना शहरी खानेपानी: एडिबीमा उजुरी, जिल्लामा छलफल

टीका खतिवडा
इलाम  चैत्र: एसियाली बिकास बैंक एडीवीको सहयोगमा इलाम सदरमुकाममा सञ्चालन हुन लागेको ‘इलामबजार तेस्रो साना सहरी खानेपानी तथा सरसफाई आयोजना’ मा उजुरी परे सोमबार सर्वपक्षिय भेला सम्पन्न भएको छ । आयोजना सञ्चालन गर्न आदिवासी जनजातीले उजुरी गरेको भन्ने हल्ला बाहिर आएपछि सो बिषयमा छलफल तथा बिभिन्न निर्णय समेत भएको हो । कार्यक्रममा आदिवासी जनजाती महासंघ इलामका अध्यक्ष राजु राई र पुर्व अध्यक्ष बिरण मुखियाले सो विषयमा आफुहरुले उजुरी नगरेको र उजुरी परेको भए खोजी गरि आयोजना सम्पन्न गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । 
एसियाली बिकास बैंक एडीवीको सहयोगमा उक्त आयोजना संचालन गर्ने विषयमा भएको छलफलमा गठन भएको समिति राजनितिक पार्टीका तर्फबाट मात्र प्रतिनिधित्व भएकामा आदीवासी जनजातीबाट पनि समितिमा प्रतिनिधित्व गराउने, पानीको मुहानमा कुनै बिवाद भएमा स्थलगत निरिक्षण गरि सहजीकरण गर्ने निर्णय भएको छ । 
आयोजना सञ्चालनको केहि काम सम्पन्न भइसकेपछि एडिवीले सो विषयमा उजुरी परेको जिल्लामा जानकारी गराएको हो । 
इलामको उत्तरी क्षेत्र माइमझुवाबाट सदरमुकाममा ल्याउन लागिएको सो खानेपानी आयोजनाको विकल्पमा समेत छलफल भएको समिति अध्यक्ष केदार थापाले जानकारी दिए । उनका अनुसार सो खानेपानी सञ्चालन हुने या नहुने विषयमा एक महिना भित्रमा टुङ्गो लगाइ सकिने छ । सो आयोजना सञ्चालन हुन नसकेमा अध्यन गरि नेपाल सरकारको बिभिन्न लगानीको मोडेल पत्ता लगाएर लगानीको श्रोत समेत खोजी गर्ने निर्णय भएको छ ।  
नेपाल सरकारको शहरी बिकास मन्त्रालय अन्र्तगत  खानेपानी तथा ढल निकास बिभागमार्फत तेस्रो सहरी खानेपानी तथा सरसफाई आयोजना संचालन हुन लागेको थियो । यस अघि देशका बिभिन्न क्षेत्रमा पहिलो र दोस्रो चरणका कार्यक्रम सम्पन्न भइसकेपछि इलाम सहित २० वटा शहर छनौट भएका थिए । उक्त आयोजना संचालन गर्न उपभोक्तले ३० प्रतिशत बिहोर्नुपर्ने जनाइएको छ । आयोजना सम्पन्न भएपश्चात २४ घण्टा नै उपभोक्ताको धारामा पानी झर्ने र आवश्यक अनुसार उपभोग गर्न पाइने भएको छ । प्रति ब्यक्ति दैनिक ९० देखि १०० लिटरसम्म पानी बितरण गरिने गरि आयोजना सञ्चालन हुने भएको जनाइएको छ । 
आयोजना संचालन गर्न सोमवार समितिका अध्यक्ष केदार थापाको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी जनकराज दहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय इलामका प्रमुख पदम कुँवर, स्थानिय राजनैतिक दलका प्रतिनिधि, सरोकारवाला निकाय लगायतको उपस्थिती रहेको थियो । हाल इलाम नगरपालिकामा प्रति सेकेण्ड २५ लिटर पानी आवश्यक भए पनि ९ लिटर मात्र पानी आउने गरेको छ । यस आयोजनाको लागि कुल बजेटमा एशियाली विकास बैंकको सत्तरी प्रतिशत अनुदान, नगर विकास कोषबाट पच्चीस प्रतिशत ऋण र पाँच प्रतिशत उपभोक्ताहरुले आयोजना सुरु हुनु अगावै जम्मा गर्नु पर्ने प्रावधान रहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment