प्रयास लिम्बु
फायत फोटो
ताप्लेजुुङ, २ वैशाखः ताप्लेजुङमा करोडौं मूल्य बराबरको काठ कुहिन थालेको छ । जिल्ला वन कार्यालय ताप्लेजुङले विभिन्न समयमा पक्राउ गरी जफत गरेको उक्त काठहरु समयमै लिलाम बिक्री नगरिँदा कुहिन थालेको हो ।
जिल्ला वन कार्यालयले जफत गरेका साल, चाँप, उत्तीस लगायत विभिन्न जातका काठहरु लामो समयसम्म लिलाम बिक्री नगर्दा हाल करोडांै मूल्य बराबरको काठ कुहिएर जान थालेको हो । हाल जिल्ला वन कार्यालयमा राखिएका र वन कार्यालयकै नियन्त्रणमा जङ्गलहरुमा रहेका विभिन्न जातका गोलिया तथा चिरान गरिएका काठहरु काम नदिने गरी सडिन थालेको छ । जिल्ला वन कार्यालयका अनुसार दुई÷चार वर्ष अघिदेखिका तस्करीमा पक्राउ परेका काठहरु समयमै बिक्री हुन नसक्दा सडिन थालेको हो । निमित्त जिल्ला वन अधिकृत दानबहादुर श्रेष्ठले मोटो परिमाणको बिगो भएको मुद्दा वन कार्यालयले आफै लिलाम गर्न नपाउने र अदालती प्रक्रियामा जाने भएकोले समयमै लिलामी गर्न नपाइने भएको बताए । वन कार्यालयमा कर्मचारीको अभाव र कर्मचारी सरुवाले गर्दा पनि मुद्दा प्रक्रियामा ढिलाइ हुने भएकाले समयभित्रै लिलाम बिक्री गर्न नसकिएको अवस्था रहेको श्रेष्ठले बताए ।
त्यस्तै जङ्गलमा रहेका काठहरु खुल्ला आकासमुनि र वन कार्यालयमा पनि ओतसहित व्यवस्थित गरेर राख्ने ठाउँको अभावका कारण काठहरु बाहिरै राख्नुपर्ने भएकाले वर्षादमा पानीले भिजेर चाँडै सडिने गरेको श्रेष्ठको भनाइ छ । जफत भएका काठहरु सुरक्षित तथा व्यवस्थित रुपमा भण्डारण गर्नका लागि राख्ने ठाउँको बारेमा कार्यालयले सोच बनाउँदै गरेको पनि उनले बताए ।
काठ तस्करीको ठाउँमा ताप्लेजुङ निक्कै सम्वेदनशील जिल्ला भएको बताउँदै उनले स्रोत साधनको आवश्यक व्यवस्था विभागले गरिदिनुपर्ने बताए । उनले अहिलेसम्म कार्यालयको सवारी साधनसमेत नहँुदा समयमै घटनास्थलमा पुग्न नसकिने र जसकारणले मुद्दा प्रक्रियामा समेत ढिलाइ हुने बताए । स्रोत साधनको अभावका कारण घटनास्थलमा चाँडै पुग्न नसकिने भएको र जफत भएका काठहरु समयमै प्रक्रिया पु¥याई लिलाम बिक्रीको माध्यमबाट व्यवस्थापन गर्न नसकिएको उनले बताए । हाल कार्यालय र जङ्गलमा गरी विभिन्न जातका करिव साढे पाँच हजार क्युफिट काठ जफत अवस्थामा रहेकाले त्यसलाई सडिन नदिई यसै महिनाभित्रै लिलाम बिक्री गर्ने तयारी गरिएको पनि श्रेष्ठले बताए ।
यता सडिन नपाई काठ बिक्री नगरिँदा सरकारी राजस्व त्यसै खेर गइरहेको छ, वषौंदेखि त्यही मुद्दामा अल्झेर सर्वसाधारणले समेत हैरानी व्यहोर्नु परेको वन कार्यालयकै एक कर्मचारीले बताए । उनका अनुसार बेवारिसे, प्रहरीले बरामद गरेका र सामुदायिक वनहरुमा अवैध रुपमा कटान भई जफत गरिएका बहुमूल्य रानी चाँप, साल (सखुवा), उत्तिस र अन्य जातका काठहरु समयमै बिक्री नगर्दा मक्काएर खेर जान थालेको हो ।
0 comments:
Post a Comment