फिक्कल, ४ वैशाखः इलाममा हरियो चियाको टिपाई सुरु भएको दुई हप्ता बितिसक्दा पनि जिल्लाका अधिकांश चिया कारखानाहरुले हरियो पत्तिको मुल्य निर्धारण गरेका छैनन् । कारखानाले मुल्य नतोक्दा किसानहरु मारमा परेका छन् ।
जिल्लामा २१ वटा ठूला चिया कारखाना रहेपनि सूर्योदय नगरपालिकाको फिक्कल सुन्दरपानीस्थित गोर्खा टि स्टेटले मात्र हरियो पत्तिको मूल्य निर्धारण गरेको छ । सिजनको सुरुवातमै गोर्खाले मूल्य तोकेको हो । गोर्खा टि स्टेटका सञ्चालक उदय चापागाइँका अनुसार किसानलाई प्रतिकेजी हरियो पत्तिको मूल्य ६० देखि ६२ रुपैंयाँसम्म दिँदै आएको बताए । कारखानाले सिजनको सुरुवातमै चिया किसान तथा चिया सहकारीहरुसँग मूल्य निर्धारण सम्बन्धि सम्झौता गरेर निर्धारण गर्दै आएको चापागाइँको भनाई छ । यस बाहेका अन्य कारखानाहरुले चियाको मुल्य निर्धारण नगरेको किसानहरुका भनाई छ । चियाको पहिलो सिजन फस्ट फ्लस सुरु भएको दुईहप्ता बितिसक्दा पनि चिया कारखानाहरुले अझैपनि मूल्य निर्धारण नगर्दा समस्या भएको इलाम सुम्बेकका चिया किसान मात्रिका खतिवडा बताउँछन् ।
मूल्य निर्धारण नहुँदा किसानहरु अन्योलमा परेका छन् । किसानहरुले अहिले धमाधम हरियो पत्ति टिपेर कारखानालाई बुझाइरहेका छन् । ठूला कारखानाले मूल्य निर्धारण नगर्दा साना कारखानाहरु समस्या हुन थालेको साँखेजुङ स्थित ग्रीनहिल अर्थोडक्स चिया कारखानाका सञ्चालक टंक दाहालले बताए । ठूला कारखानाले मूल्य निर्धारण नगरी साना कारखानाले पहिले गरेको खण्डमा धेरै समस्याहरु आउने भएकाले साना काराखानाले पनि मूल्य निर्धारण नगरेको दाहालको भनाई छ । उक्त कारखानामा अहिले यो पहिलो सिजनको हरियो पत्ति दैनिक एघार सय किलो ग्राम आउने गरेको छ भने, तयारी चिया दुइसय किलो ग्राम आउने गरेको दाहालले बताए ।
गत वर्षको सिजन भन्दा यसवर्षको पहिलो सिजनमा चियाको मूल्य घट्ने हो, कि बढ्ने भन्ने हो बारेमा किसानहरु अन्योलमा छन् । पहिलो सिजन (फस्ट फ्लस) को चियाको गुणस्तर सबैभन्दा राम्रो हुने गरेको छ । यो सिजनको चियाको मूल्य पनि अन्य सिजनको चियाको भन्दा बढि हुने गरेको छ, भने अन्तराष्ट्रिय बजारमा फस्ट फ्लस चियाको माग उच्च हुने गरेको चिया उद्योगीहरु बताउँछन् । यस सिजनको चियाको टिपाई अन्तिम चरणमा आइपुग्दा पनि मूल्य निर्धारण नगरिदा चियाको मूल्य घट्ने हो कि भन्ने शंका लागेको बताउँछन् सुलुबुङका विनोद खतिवडा । उनीजस्ता हजारौँ किसानहरु मुल्य निर्धारण नभएकोमा दुख मान्दै आएका छन् ।
साँखेजुङ स्थित हिमालय साँग्रीला टि स्टेटका सञ्चालक आरसी नेपालका अनुसार यहि वैशाखको पहिलो साताभित्रमा चियाको मूल्य निर्धारण गर्ने तयारी भइरहेको छ । कारखानाबाट फस्ट फ्लस चियाको उत्पादनसँग गुणस्तरको परिक्षण भइरहेकोले मूल्य निर्धारण गर्न नसकिएको नेपालको भनाई छ । मूल्य निर्धारण ढिलो हुँदा कुनै समस्या नपर्ने जनाउँदै मूल्यका विषयमा किसान र कारखानाबीच समझदारी हुँदै आएको प्रतिक्रिया दिए । अग्र्यानिक चिया उत्पादन गर्दै आएको हिमालय साँग्रीलाले हाल दैनिक पाँचहजार केजी हरियो पत्ति प्रशोधन गर्दै आएको छ । यता माइपारीमा रहेका ठूला चिया कारखानाहरुले पनि अझै हरियो पत्तिको मूल्य तोकेका छैनन् ।
इलाममा फस्ट फ्लस चियाको उत्पादन गतवर्षकै हाराहारीमा उत्पादन भएको कृषकहरुले बताएका छन् । समयमा अझ पानी परेको भए उत्पादन गतसालको भन्दा बढ्ने अवस्था रहेको कृषकहरुको भनाई छ । किसानहरुले कारखानासँग तत्काल मुल्य निर्धारण गर्न माग गर्दै आएका छन् ।
0 comments:
Post a Comment