खोटाङ, जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बाराहापोखरी र सावाकटहरे गाविसको दुईवटा सामुदायिक वनमा भीषण डढेलो लागेको छ । बाराहापोखरी–६ स्थित अलैँची दिप्लु सामुदायिक वनबाट सुरु भएको डढेलो अहिले सावाकटहरे गाविसको सल्ले सावा सामुदायिक वनमा पुगेको स्थानीयवासीले बताएका छन् ।
गत चैत २८ गतेबाट लागेको डढेलो अझै नियन्त्रणबाहिर रहेको स्थानीयवासीले बताएका छन् । डढेलो लागेको क्षेत्रमा हावा चलिरहेकाले नियन्त्रण गर्न नसकिएको स्थानीय वन उपभोक्ता समितिले जनाएको छ । जङ्गलमा लागेको डढेलोले करोडौँको क्षति भइसकेको अलैँची दिल्पु सामुदायिक वन उपभोक्ता समितिका सचिव हुकुम राईले जानकारी दिनुभयो । “डढेलोले जडीबुटी, रूख तथा बोटबिरुवा, जङ्गली जनावरलगायत जलेर नष्ट भएको छ”, उहाँले भन्नुभयो, “नियन्त्रण गर्न सबैजना लागिपरेका छौँ, तर नियन्त्रण गर्न सक्ने सम्भावना छैन ।”
जङ्गलमा लागेको डढेलो गाउँमा आउन लागेकाले घरघरमा पानी लिएर बस्ने गरिएको बाराहापोखरीकी कल्पना मगरले जानकारी दिनुभयो । “गाउँ वरिपरि फैलिएको जङ्गलमा आगो दन्किरहेको छ”, उहाँले भन्नुभयो, “निभाउन सक्ने सम्भावना छैन, त्यसैले घर जोगाउन पानी लिएर बसेका छौँ ।” डढेलो लगाउने व्यक्तिको पहिचान हुन नसकेको वन उपभोक्ता समितिले जनाएको छ । वन क्षेत्रमा वस्तुभाउ चराउने तथा घाँस काट्ने व्यक्तिले जानाजान आगो लगाउने गरेको स्रोतले जनाएको छ ।
हिउँदमा झरेका पातपतिङ्गरले वर्षामा घाँस पलाउन नदिने भएपछि पातपतिङ्गर डढाउने उद्देश्यले वन क्षेत्रमा आगो लगाउने गरेको पाइएको छ । जङ्गलमा लगाइने आगोले पार्ने दीर्घकालीन असरका बारेमा उपभोक्तालाई जानकारी गराउन आवश्यक छ । जङ्गलमा आगो लगाउन नियन्त्रण गर्न उपभोक्ता समितिले कडाइ गर्नुपर्ने जिल्ला वन कार्यालय खोटाङका वन अधिकृत लोकराज नेपालले बताउनुभयो ।
“हामीले सबैजसो वन समुदायमा हस्तान्तरण गरेका छौँ”, उहाँले भन्नुभयो, “त्यसैले यसप्रति उपभोक्ता समितिले आ–आफ्नो क्षेत्रबाट कडाइ गर्नुपर्छ ।” जिल्लामा यस वर्ष मात्रै दर्जन बढी सामुदायिक वनमा डढेलो लागेको जिल्ला वन कार्यालयले जनाएको छ । सामुदायिक वनमा लागेको डढेलोले अर्बौंको क्षति भइसकेको बताइएको छ । रासस
0 comments:
Post a Comment