काठमाडौँ, २२ चैत । भूकम्पले भग्नावशेषमा परिणत भएको विश्व सम्पदा सूचीको चाँगुनारायण मन्दिर परिसरको किलेश्वर महादेवको मन्दिरको पुनःनिर्माण पूरा भएको छ । साथै स्थानीय भक्तजनले आजैदेखि महादेवको पूजाअर्चना पनि सुरु गरेका छन् ।
सङ्घीय गणतन्त्र जर्मनीको अनुदान र पुरातत्व विभागसँगको सहकार्यमा रु ३० लाखको लागतमा पूर्णरुपमा ध्वस्त भएको उक्त मन्दिर त्यसकै मौलिक शैलीमा निर्माण गरिएको हो ।
भूकम्पले भत्काएका ऐतिहासिक सम्पदा पुनःनिर्माणका क्रममा सबैभन्दा पहिले किलेश्वर महादेवको मन्दिरले पूर्णता पाएपछि चाँगुनारायण मन्दिर परिसरमा आज आयोजित एक धार्मिक समारोहमा पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले त्यसको उद्घाटन गर्नुभयो ।
नेपालको औपचारिक भ्रमणमा रहेको जर्मनीको संसद् बुन्डेस्टागको पाँच सदस्यीय प्रतिनिधिमण्डल, नेपालका लागि जर्मनीका राजदूत माथियस मायर, स्थानीय बासिन्दाको उपस्थितिमा वैदिक विधिपूर्वक मन्दिर उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनःनिर्माणका काम अब द्रुत गतिमा अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पर्यटक आकर्षणको केन्द्रबिन्दुका रुपमा रहेको चाँगुनारायणस्थित किलेश्वर महादेवको मन्दिर निर्माणमा जर्मन सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै अन्य सम्पदास्थलको पुनःनिर्माणमा पनि जर्मनीबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
राजदूत मायरले चाँगुनारायणको मन्दिरसमेत पुनःनिर्माण गर्ने साेंचमा जर्मन सरकार रहेको र त्यस निम्ति सम्बद्ध निकायमा छलफल जारी रहेको जानकारी दिँदै चाँगुनारायण क्षेत्र संरक्षण एवम् पुनःनिर्माण परियोजनाका लागि आफ्नो देशले रु एक करोड अनुदान उपलब्ध गराएको बताउनुभयो ।
ललितपुर र भक्तपुरका अन्य ऐतिहासिक सम्पदाको पुनःनिर्माणमा पनि जर्मनीले सहयोग गर्दै आएको जानकारी दिँदै उहाँले पुनःनिर्माण प्राधिकरणले जनचाहनाअनुरुप वर्षायाम अगावै सर्वसाधारणका घर बनाउन द्रुत गतिमा काम थाल्ने विश्वास व्यक्त गर्नुभयो ।
जर्मनीले विकास सहायताअन्तर्गत नेपाललाई वर्सेनि चार करोड २० लाख युरो अनुदानस्वरुप उपलब्ध गराउँदै आएको छ । ऐतिहासिक एवम् पुरातात्विक सम्पदा पुनःनिर्माणका निम्ति उक्त मुलुकले उपलब्ध गराएको यो रु एक करोड अतिरिक्त सहायता हो ।
गत वैशाखको गोरखा भूकम्पबाट भत्केका भौतिक संरचना पुनःनिर्माणले अपेक्षित गति नलिएको गुनासो अन्तर्राष्ट्रिय समुदाय र देशवासीबाट भइरहेका बेला किलेश्वर महादेवको मन्दिर पूरा भएको छ । यो मन्दिर देशकै पहिलो पुनःनिर्मित संरचना भएको छ । रासस
0 comments:
Post a Comment