जिविस इलामको खर्च सार्वनजिकिकरण, लक्षअनुसार आम्दानी भएन

इलाम, ४ साउन (चियाबारी संवाददाता)ः आर्थिक वर्ष २०७२÷७३ मा जिल्ला विकास समिति इलामले आन्तिरक आयतर्फ लक्ष्य अनुरुप आम्दानी गर्न सकेन । करबाट १२ करोड ९ लाख ४० हजार रुपैंयाँ आम्दानी गर्ने लक्ष्य लिएकोमा १ करोड ३ लाख ८५ हजार ६ सय ८८ रुपैंयाँ मात्र जिविस इलामले आम्दानी गरेको छ । दस्तुरबाट ४ लाख ६० हजार लक्ष्य लिएकोमा ५ लाख ८६ हजार, सेवा शुल्कबाट १५ हजार लक्ष्य लिएकोमा एक रुपैंयाँ पनि आम्दानी लिन सकेन । 
त्यस्तै बिक्रीबाट ३१ लाख ५० हजार रुपैंयाँ आम्दानी गर्ने लक्ष्य लिएपनि ५ लाख ४१ हजार, रजिष्ट्रेशनबाट ९० लाख आम्दानी गर्ने लक्ष्य लिएपनि ६९ लाख १ हजार र अन्यबाट ८५ हजार रुपैंयाँ आम्दानी गर्ने लक्ष्य लिएपनि एक रुपैंयाँ पनि आम्दानी गर्न सकेको छैन् । यो सँगै कार्यालयले गत आवमा आन्तिरक आयमा जम्मा २६ करोड ३५ लाख आम्दानी गर्ने लक्ष्य लिएकोमा २२ करोड २३ लाख ४८ हजार रुपैंयाँ मात्र आम्दानी गर्न सफल भएको छ । जुन आम्दानीको ८४ दशमलव ३८ प्रतिशत हो । जिल्ला विकास समिति इलामले आर्थिक वर्ष ०७२÷०७३ को बजेट खर्चको पत्रकार सम्मेलन मार्फत सार्वजनिकिकरण गर्दै सो जानकारी दिएको हो । जिविसमा विभिन्न शिर्षकमा चालु तर्फका लागि २९ करोड ३५ लाख ५४ हजार ९ सय ९७ रुपैंयाँ बजेट निकासा भएकोमा २८ करोड ३६ लाख ५८ हजार ५ सय ७० रुपैंयाँ बजेट खर्च गरेको छ ।
जिल्ला विकास समिति इलामले चालुतर्फ ९६ दशमलव ६३ प्रतिशत बजेट खर्च गरेको छ । वार्षिक बजेट खर्चको प्रतिवेदन सार्वजनिक गर्दै लेखा अधिकृत यादव अधिकारीले गत आवमा जिविसले चालु तर्फ ९८ लाख ९६ हजार ६ सय २४ रुपैंयाँ खर्च गर्न नसक्दा फ्रिज भएर गएको बताए । जिविसमा चालु तर्फ १५ वटा कार्यक्रम शिर्षकमा बजेट विनियोजन भएको थियो । त्यसमा जिविस आन्तरिक चालु खातामा ११ करोड ३५ लाख ९४ हजार रुपैंयाँ खर्च भयो भने ५ लाख ६७ हजार रुपैंयाँ भने खर्च हुन नसकी फ्रिज भएको छ । यसैगरी पुँजिगत तर्फ २३ करोड ६२ लाख १३ हजार ७ सय ४९ रुपैंयाँ खर्च भएको छ भने, ३ करोड ६१ लाख ८६ हजार २ सय ५० रुपैंयाँ काम हुन नसकी फ्रिज भएको छ ।
 पुँजीगततर्फ निर्वाचन क्षेत्र विकास कार्यक्रम, बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति, गाविस अनुदान, ग्रामिण खानेपानी तथा सरसफाई कार्यक्रम, रोयल्टी व्यवस्थापन तथा वितरण र पर्यटन पूर्वाधार विकास आयोजनामा छुट्टिएको शतप्रतिशत रकम खर्च भएको छ । तर सामुदायिक पहुँच सुधार परियोजनामा छुट्टिएको तीनकरोड रुपैंयाँ बजेट मध्ये १३ लाख ७९ हजार रुपैंयाँ मात्र खर्च हुन सक्यो भने बाँकी २ करोड ८६ लाख २ हजार ५ सय ४४ रुपैंयाँ खर्च हुन नसक्दा फ्रिज भएर गएको लेखा अधिकृत अधिकारीले जानकारी दिए । यसैबीच जिल्ला प्राबिधिक कार्यालय इलामको चारवटा कार्यक्रमबाट ५१ लाख ३३ हजार रुपैंयाँ बजेट फ्रिज भएको छ । पूँजीगत तर्फ ग्रामिण पुर्ननिर्माण तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गत ५ करोड ५० लाख बजेट बिनीयोजन भएकोमा ५ करोड २८ लाख खर्च भएको छ भने २१ लाख ८४ हजार रुपैंयाँ फ्रिज भएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment