शुरु भयो सुर्योदय दृष्यावलोकनको सिजन

समालबुङ, ५ कार्तिकः सुर्योदय अवलोकन गर्ने नेपालकै उत्कृष्ट गन्तव्य अन्तुडाँडामा आन्तरिक पर्यटकहरुको घुईंचो लाग्न थालेको छ । सुर्योदय नगरपालिकाको फिक्कलबाट अन्तु गाविसको छिरुवाासम्म पुग्ने बाटो कालोपत्रे भएकोले निजी सवारी साधनबाट सहज रुपमा अन्तुडाँडा पुग्न सकिने भएकोले पछिल्लो समय आन्तरिक पर्यटकहरुको बढोत्तरी भएको निर्माणको अन्तिम चरणमा पुगेको अन्तु कटेजका व्यवस्थापक कुमार श्रेष्ठले चियाबारी दैनिकलाई बताए । सुर्योदय लगायत तराईका समथर फाँटहरु अनि भारतीय शहरमा बलेको बत्तीको झिलिमिली हेर्नका लागि झापा शिवगञ्जबाट आएका गणेश राईले बिहीबार बिहान अन्तुडाँडाबाट मनोहक सुर्योदय अवलोकन गर्दै जीवनकै रमाइलो क्षण भोगेको बताए । उनी सहित आएको परिवारका सदस्यहरुले सुर्योदयको किरण कञ्चनजंघा हिमालमा परेर देखिएको सुनौलो आकाशलाई पृष्ठभूमि बनाएर सेल्फी खिच्न व्यस्त देखिन्थे ।
भारतको सिक्किम तथा दार्जिलिङको टाइगरहिलबाट सुर्योदय अवलोकन गरेर अन्तुडाँडा आईपुगेका काठमाडौंका मधु तिम्सिना, नारायण दाहाल, दिव्या घिमिरेको टोलीले टाइगरहिल भन्दा राम्रोसँग सुर्योदय देख्न पाएको अनुभव सुनाए । उनले भने– ‘दशैं तिहारको बिदा सदुपयोग गर्न सिक्किम, दार्जिलिङ गईयो । टाइगरहिलबाट सुर्योदय पनि हेरे, इलामको अन्तुडाँडा सुर्योदयको लागि प्रख्यात छ भनेर चर्चा सुनेको थिए त्यसैले यहाँ आईयो । धेरै मनोहक दृष्यावलोकन गर्न पाए, टाइगरहिल भन्दा ।’ तिम्सिनाले अन्तुडाँडाको प्रचार–प्रसार कम भएको हुँदा प्रचुरमात्रमा यसको प्रचार गर्न सम्बन्धित निकायलाई अनुरोध गरे । उनले अगाडी भने– ‘पुर्वाधारको पर्याप्त अभाव रहेछ, भ्यू टावर सानो भयो । इलामको पर्यटन हेर्ने निकायले प्रचार–प्रसार अलिक जोड गर्नु पर्छ ।’ तर अन्तुडाँडा आउँदा यातायात व्यवसायीबाट ठगिएको प्रति उनको ठुलो गुनासो रहेको छ । ‘यहाँको यातायात व्यवसायीहरुले तरिका ठिक लागेन, फिक्कलबाट अन्तु रिजर्भ आउँदा पन्ध्र सय रुपैंयाँ भनेको थियो दुई हजार रुपैंयाँ तिरेको बाँकी पैसा फिर्तै पाइएन ।’ तिम्सिनाले भने । इलामस्थित महिला तथा बालबालिका कार्यालयका प्रमुख स्किम श्रेष्ठ आफ्ना बुबा विष्णुमान श्रेष्ठ र आमा सहित अन्तुडाँडाको घमाईलो मौसममा तस्बीर लिन व्यस्त देखिन्थे । मकवानपुरको हेटौंडा निवासी श्रेष्ठ परिवार दशैं तिहारको बिदालाई भरपुर सदुपयोग गर्न व्यस्त छन् । अन्तुको सुर्योदय अवलोकन पश्चात तुरुन्तै ताप्लेजुङस्थित पाथिभरा मन्दिरको दर्शनमा जाँदैछन्, त्यसपछि फर्केर माईपोखरीको भ्रमण गर्ने स्किमका पिता विष्णुमानले बताए । ‘कुटीडाँडाको पाथिभरा पनि घुमे, अन्तुबाट घाम हेरे, ठुलो पाथिभराको दर्शन गरेर माईपोखरीको भ्रमणबाट यसपटकको दशैं तिहारको पर्यटन यात्रा समाप्त गर्दछौं ।’– श्रेष्ठले भने । शिक्षण पेशामा संलग्न श्रेष्ठले धेरै पटक विद्यार्थीहरुलाई पुर्वी भारतका विभिन्न भागमा शैक्षिक भ्रमणमा लैजाने गरेको बताए । आन्तरिक भ्रमणमा लगाव रहेको श्रेष्ठ परिवारको छोरा रारातालको पन्ध्र दिने प्याकेज भ्रमण छन् । ‘छोरा रारातालको भ्रमणबाट फर्के लगत्तै अन्तुडाँडाको सुर्योदय दृष्यावलोकनको लागि पठाउने छु ।’ स्किमकी आमाले बताईन् । जिल्ला खेलकुद विकास समिति इलाममा कार्यरत अमृता घिमिरे आफ्ना पति र छोरासँग सुर्योदय हेर्न बुधबार साँझै अन्तु आएर होमस्टेमा बसे । बिहान चार नबज्दै उक्त होमस्टेमा बास बसेका सबैलाई डाँडा जानको लागि घिमिरे अनुरोध गर्दै थिईन । ‘अलिक चाँडै गए तराईको झिलिमिली हेर्न पाईन्छ । आकाश पनि खुल्ला भएकोले चाँडो घाम उदाउँछ कि क्या हो’ बाटोमा हिड्दा सबैलाई हसाउँदै थिईन घिमिरे । इलाम नपा–९का माधव भट्टराई र उनको पत्नी दशैंको बेला पानी झरीले दिएको दुःख सम्झदै मौसम उघ्रेको बेला मौका छोपेर अन्तुडाँडा हानिए । भट्टराईले भने– ‘अन्तु पहिला आएको हो तर अहिले धेरै बदलिएछ । मौसमले साथ दिएको हुँदा झुल्के घाम हेर्ने सुनौलो मौका गुमाउन चाहिन ।’ अन्तु पर्यटन विकास समितिका अध्यक्ष तथा होमस्टे संचालक धनकुमार आलेका अनुसार सुर्योदयको मौसम शुरु भएकोले पर्यटकको चाप बढेको बताए । उनको पचास जना भन्दा बढि अट्ने होमस्टे भरिभराउ थियो । पहिले बुक नगरे उनको मात्र होइन अन्तु र समालबुङमा भएको कुनैपनि होमस्टेमा बास पाउन समस्या पर्ने आलेले बताए । ‘यसपटकको दशैं झरीले गर्दा पर्यटकहरु आएनन् तर अब मौसम सुध्रेकोले पर्यटकको चाप बढेको छ । यसरी पर्यटकको फ्लो बढेमा धान्न मुस्किल पर्न सक्छ । त्यसमाथि यातायातका सुगम पहुँच भएको हुँदा पर्यटकहरु निश्चित रुपमा बढ्छनै’ आलेले भने । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment