कन्याममा आन्तरिक पर्यटकको भिड, फोहोर व्यवस्थापन गर्न नसके ‘कुरुप कन्याम’ हुने खतरा

विनय तिम्सीना

जोरकलश, ११ कार्तिकः खुलेको मौसम निलो आकाश टिलिक्क टल्केको हिमालको काखमा गलैँचा बिच्छ्याए जस्तो चियाबगानले जो कोहीको पनि मन लोभ्याउँछ । यतिबेला इलाममा यस्तै मौसम छ । नेपालका विभिन्न ठाउँबाट घुम्न आउने पर्यटकको कमि छैन इलाममा । बिहानीको सात नबज्दै इलाम र झापाको सीमाना सुनमाईको बाटोमा पर्यटक सवार सातायातका साधनहरुको जाम लाग्न थालिसकेको हुन्छ । इलाम घुम्ने पर्यटकले सुनमाईमा रहेको पर्यटन सूचना केन्द्रमा दर्ता गरेपछि इलामको यात्रामा निस्कन्छन् ।
दैनिक एकसय भन्दा धेरै पर्यटक सवार सवारी साधनहरु मात्र इलामको मेची राजर्मामा गुड्ने गरेका छन् । नेपालकै पोखरा, स्याङजा, नवलपरासी, कञ्चनपुर, रामेछाप, दोलखा, काठमाडौं लगायत नेपाल भरीका आन्तरिक पर्यटकहरु इलाममा भित्रिने गरेका छन् । ट्राफिक प्रहरी हल्दार विजेन्द्रकुमार यादवका अनुसार पर्यटक लिएर आउने सवारीहरु धेरै जसोले पूर्व पश्चिम राजमार्गको मात्र रुट पर्मिट वा पटके कर बुझाएर आएका हुन्छन् यस्ता गाडीहरु इलाम छिर्न पाउँदैनन् त्यसैले पनि पर्यटकहरुले दुःख पाउने गरेका छन् । इलाम भित्रिने त्यस्ता पर्मिट नभएका सवारी साधनहरुले त्यहाँ भन्दा २३ किलोमीटर दुरीमा पर्ने झापाको बिर्तामोडमा पटके कर काट्न पठाएर पनि गाडी इलाम पठाउने गरेको उनले बताए । पटके कर उठाउने केन्द्र यातायात व्यवस्था कार्यालयले सुनमाईको सूचना केन्द्रसँगै राखिदिए पर्यटकहरुलाई सहज हुने पनि उनको भनाई छ । अधिकांस सवारी साधनले सिटको क्षमता भन्दा धेरै यात्रु लिएर आउने गरेकाले यस्ता पर्यटकलाई ट्राफिक चेकपोष्टले अर्को सवारी साधन बोलाएर पठाउने समेत गरेको छ । पर्यटकको बाहनामा ट्राफिक नियम विपरित काम गर्न कुनैपनि हालतमा नहुने यादवले चियाबारी दैनिकलाई बताए । यता पर्यटक सूचना केन्द्रका कर्मचारी गगन घिमिरेका अनुसार दैनिक जसो पच्चीस सय भन्दा धेरै आन्तरिक पर्यटक इलाम भित्रिने गरेका छन् । उनले भने– ‘पर्यटकहरु इलाममात्र घुम्न भनेर आउनेको संख्या थोरै छ तर धेरै जसो पर्यटक दार्जिलिङ घुम्न आउँछन् । बाटोमा इलाम पर्ने अनि सबैको मनै लोभ्याउने कन्याम हुँदै दार्जिलिङ जाने योजना हरेक पर्यटकको रहेको पाईन्छ । 
त्यस्तै सूर्योदयको दृष्य हेर्न धेरै पर्यटक भारत जाने गरेका छन् उनीहरुलाई इलामकै श्रीअन्तुबाट मनोमोहक दृष्य देखिने कुरा कमैले मात्र सुनेका छन् । नेपालकै बिहानको पहिलो घामको किरण इलामको श्रीअन्तुमा पर्ने गर्छ भन्ने बुझाउनु मेरो दायित्व भित्र पर्दछ ।’
इलामको कन्याम अहिले धेरै नै भिडभाड देखिन थालेको छ । कन्याममा भएको चियाबगान घुम्न भनेरै आउने पर्यटकहरु धेरै छन् । खुलेको बेला हिमालको काखमा देखिन्छ पशुपतिनगरको शिरमा कञ्चन्जङ्घाको दृष्य देख्न सकिन्छ । कन्याम आईपुगे पछि पर्यटकहरुले स्वर्गको अनुभूति गर्न पाउने छन् । चियाको बोटसँग सेल्फी खिच्ने देखि घोडा चडेर मनोरञ्जन गर्ने पर्यटकको संख्या धेरै देखिन्छ । मायालु जोडीको भिडभाड देखिने कन्याममा अहिले बिदा मनाउन शैक्षिक भ्रमण आउने विद्यार्थीले पनि कन्याम भरिभराउ छ । इलामको कन्याममा पर्यटकहरु आउँदा बस्ने र खानेको राम्रो व्यवस्था नभएको पर्यटकहरुको गुनासो सुनिन्छ । नवलपरासीबाट आएका पर्यटकहरु भन्छन्– ‘इलामको हावापानी अत्यन्तै राम्रो छ घुम्नको लागि पनि राम्रा ठाउँ छन् तर खान र बस्नको समस्या पर्ने गरेको छ ।’ यही दरले पर्यटकको आगमन हुने हो र कन्यामको फोहोर व्यवस्थापन नहुने हो भने कुरुप कन्याम हुने खतरा पनि बढेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment