झापा, १७ कार्तिकः झापा दमक–११की ५७ वर्षीया राधादेवी ढुंगाना अहिले चार सय बढी परिवारको आयस्रोतको माध्यम बनेकी छिन् । वि.सं. २०४१ सालमा एक हजार चार सय रुपैयाँ लगानी गर्दै एक लाक्छी धागोबाट ढाकाको काम शुरु गरेकी ढुंगाना अहिले दमक–११ र दमक–१ का महिलाको आयआर्जनको स्रोत बनेकी हुन् । स्वावलम्बी बन्न पाँच सयभन्दा बढी महिलालाई प्रेरित गर्दै उनले सबैलाई यही काम सिकाएकी छन् । जसबाट ती परिवारको दैनिक गुजारा चल्दै आएको छ । चार सय रुपैयाँमा ढाका बुन्ने तान र एक हजार रुपैयाँमा ढाका बुन्दा प्रयोग गरिने ड्रम किनेर व्यवसाय शुरु गरेको अहिले उनले पशुपति ढाका उद्योग नै सञ्चालन गरेकी छन् ।
सोही उद्योगबाट उनी अहिले उद्योगपतिका नाममा चिनिन्छिन् । खर्च कटाएर वार्षिक १२ लाख बढी बचत गर्न सफल उनी अहिले दमक क्षेत्रका लागि प्रेरणाकी स्रोत नै बनेकी छिन् । घरेलु तथा साना उद्योग कार्यालय झापामा आफ्नो उद्योगको नवीकरण गर्न आएकी ढुंगानाले अरुलाई पनि यही व्यवसायमा आत्मनिर्भर बनाएकाले कोही फर्म दर्ता गर्न आए सहज गरिदिनुहोस् उद्योग अधिकृत चन्द्रप्रसाद मिश्रलाई उनले भनिन् । गरिबी निवारणका लागि लद्यु उद्योग विकास कार्यक्रम सञ्चालन गर्दै आएको घरेलु तथा साना उद्योग कार्यालय झापाले ढुंगानाले सञ्चालन गरेको ढाका उद्योगको बारेमा अरुलाई पनि जानकारी गराउने र नयाँ उद्यमीलाई देखाउन ल्यााउने मिश्रले बताए ।
वि.सं.२०५१ सालमा ६० वटा थान राखेर चर्चा बटुलेकी ढुंगानाले अहिले गाउँका प्रायः सबै महिलालाई तान वितरण गरेकी छिन् । उनी टोपी, बर्खो, साडी र चौवन्दी चोली बुन्न धागो समेत प्रदान गर्छिन र उनीहरुले उत्पादन गरेका सबै वस्तु खरिद गर्दै बजारमा बिक्री गर्छिन् । ढाका टोपी बुन्नेलाई उनले एक हजार रुपैयाँसम्म दिने गरेकी छिन् ।
त्यस्तै बर्को पनि सोही अनुसार नै बुट्टा हेरेर रकम प्रदान गर्छु उनले भनिन् । साडी बुन्नेले २ हजार ५ सय रुपैयाँसम्म पाउने गरेका छन् भने चौबन्दी चोली बनाउनेले ४ सय देखि माथि बुट्टा हेरेर खरिद गरिदिने गरेकी छु ढुंगानाले भनिन् । आफ्नो श्रीमान कृष्णबहादुर ढुंगानालाई समेत यही व्यवसायमा संलग्न गराएर उनी अहिले दमक क्षेत्रमा परिचित ढाका उद्योगीका रुपमा चिनिएकी छिन् । सार्क शिखर सम्मेलनमा सम्मानित भइसकेकी उनी घरेलु तथा साना उद्योगले बिर्तामोडमा राखेको प्रदर्शनीमा प्रथम भएकी थिइन् भने वि.सं.२०६८ सालमा नेपाल सरकारले समेत उनलाई उत्कृष्ट व्यवसायीको रुपमा सम्मान गरेको थियो ।
तान बुनेरै दुई छोरालाई डिग्री हासिल गराए । कुटुम्ब आएकाले छोरीलाई भने १२ कक्षा पास गरेपछि विवाह गरिदिनुप¥यो उनले भनिन् । ढुंगानाका एक छोरा दिनेश माइक्रोवाइलोजीमा डिग्री हासिल गर्दै अहिले झापामा खाद्य निरीक्षक भएर सरुवा भएका छन् भने अर्का छोरा लोचन कमर्समा डिग्री हासिल गर्दै आस्था क्याम्पस दमकमा प्राध्यापकका रुपमा कार्यरत छन् । दैनिक दुई सय बढी थान टोपी, बर्की, साडी, चौवन्दी चोलो खरिद गरेर त्यहाँका स्थानीयको जीवीकोपार्जनमा सघाउ पु¥याउने उनी बेरोजगार महिलालाई स्वावलम्बी बन्न प्रेरित गर्दै सीप सिक्न आग्रह गर्छिन् । हिजो तान बुन्न शुरु गर्दा ढुंगाननी बिग्रिछ भन्ने गाउँका आमा दिदीबहिनी पनि अहिले मसँगै सीप सिकेर स्वावलम्बी बनेको देख्दा खुशी लाग्छ उनले भनिन् । गाउँका महिलालाई मात्र मैले सीप सिकाइन आफ्नै दुई छोरालाई पनि यही सीप सिकाएर घर गरिखान सजिलो बनाइदिएकी छु उनले थपिन् । विवाहपछि जेठी छोरी दीपा बिर्तामोडमा नै ढाका पसल सञ्चालन गरेर बसेकी छन् भने उनकी कान्छी छोरी बबिता दमकमा ढाकाकै काम गर्छिन् । पछिल्लो समय ढाको माग बढ्दै गएकाले बजारमा पर्याप्त मालसामान पु¥याउन नसक्दा अरुलाई पनि यो पेशामा आवद्ध हुन आग्रह गर्दै सीप सिक्नुपरे निःशुल्क सीप सिकाउन आफू तत्पर रहेको उनले भनिन् । दमकमा पशुपति ढाका उद्योगको होससेल पसल समेत सञ्चालन गरेर बसेकी उनले अहिले ढाकाको सामान नकिनिदिए धेरैको रोजी रोटी नै बन्द हुन्छ ।

0 comments:
Post a Comment