पुर्नसंरचना विवादले दिनहु प्रदर्शन, आक्रमक बन्दै आन्दोलन


संगिता सुहाङ
पाँचथर, १ मंसिरः स्थानीय निकाय पुर्नसंरचना प्रक्रिया विवादका कारण पाँचथर सदरमुकाम फिदिममा स्थानीयले दिनहु प्रदर्शन गरिरहेका छन् । ११ इलाका रहेको पाँचथर जिल्लालाई आठ गाउँपालिका बनाउने दुई खाका स्थानीय निकाय पुर्नसंरचना आयोगमा सिफारिस गरिएपछि गाउँ स्तरका दलका नेता कार्यकर्ता र स्थानीयहरु आन्दोलनमा होमिएका हुन् । 
अव्यवहारिक र अवैज्ञानिक तवरले गाउँपालिकाको खाका सिफारिस गरिएको भन्दै सर्वसाधारणहरुले दिनहु सदरमुकाम फिदिममा आन्दोलन गर्दै जिल्ला विकास समितिको कार्यालय घेराउ गरिरहेका छन् । संयुक्त संघर्ष समिति गठन गरी नवमीडाँडा, इम्बुङ, पौवासारताप, चिलिङदिन, फाक्तेप आङसराङ र रानीटारका हजारौँ स्थानीय सरोकारवालाहरुले मंगलबार पनि  फिदिममा प्रदर्शन गर्दै जिल्ला विकास समितिको कार्यालय घेराउ गरेका छन् ।  रानीटार ९ लाई फुटाएर छिन्तापु गाउँपालिकामा गाभ्न नहुने र पाँच गाविसलाई समेटेर छुट्टै फाल्गुनन्द गाउँपालिका बनाउनुपर्ने माग राख्दै ती गाविसका हजारौँ जनता आन्दोलनमा उत्रिएका हुन् । गाउँका स्थानीयहरुलाई मार पर्ने गरी खाका तयार गरेकाले दलका नेता र प्राविधिक समितिले पठाएको खाका मान्न नसकिने भन्दै सर्वसाधारणहरु आक्रोशित बनेका हुन् । 
दैनिक जस्तो भईरहेको प्रदर्शनमा पछिल्ला आन्दोलन आक्रमक बन्दैछन् । आन्दोलनमा सर्वसाधारणको सहभागिता पनि बढ्दै गएको छ । जनताहरुको मागलाई लिखित रुपमा सम्बोधन नगरे आन्दोलन कडा पार्दै लगिने आङसराङका सुरेन्द्र आङ्देम्बेको भनाई छ । जनतालाई भेडाबाख्रा जस्तो ठानेकाले आन्दोन गर्नु परेको उनले बताए । 
संघर्ष समितिका सह संयोजक प्रताप राईले गाउँपालिकाको खाका तयार पारिदा जनताको राय नलिई खाका तयार पारेकाले सर्वसाधारणले दैनिक आन्दोलनमा होमिनु परेको बताए । व्यवहारिक र वैज्ञानिक ढंगको गाउँपालिका नभएसम्म आन्दोलन जारी रहेने उनको भनाई छ । संघर्ष समितिका सचिव विनोद आङदेम्बेले प्राविधिक समिति र राजनीतिक दलका नेताहरुले गल्ती नसुधारे आन्दोलन विध्वंसात्मक हुने चेतावनी दिएका छन् । जनताको मागलाई तत्काल सम्बोधन नगरे पार्टी कार्यालयमा ताला लगाउने देखि लिएर आन्दोलनलाई कडा बनाउने बताएका छन् । आन्दोलनको क्रममा अप्रिय घटना घटे प्राविधिक समिति र दलका नेताहरुले जिम्मा लिनुपर्ने उनको भनाई छ । गाउँपालिकाको एउटै खाकामा जिल्लाका राजनीतिक दलहरुमा सहमती हुन नसकेपछि  प्राविधिक समिति र राजनीतिक दलले झण्डै एकै प्रकृतिका आठ वटा गाउँपालिकाको दुई खाका सिफारिस गरेको थियो । 
त्यसप्रति असन्तुष्टि जनाउँदै स्थानीयहरु सडकमा ओर्लिएका हुन । छ वटा गाउँपालिका र दुई नगरपालिका गरी आठ वटा गाउँपालिका बनाउने विकल्प सहितको खाका सिफारिस गरिएको छ । याङवरक गाउँपालिका, हिलिहाङ गाउँपालिका, फालेलुङ गाउँपालिका, फिदिम नगरपालिका, फाल्गुनन्द गाउँपालिका, कुम्मायक विशेष गाउँपालिका, तुम्बेवा विशेष गाउँपालिका र मिक्लाजुङ गाउँपालिका बनाउने खाका सिफारिस गरिएको छ । यिनै गाउँपालिकाको दोस्रो खाकामा वडा विभाजन गर्ने र गाविसहरु विभाजन गरिएपछि थप विवाद चुलिएको हो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment