पूर्वी पहाडका आयोजनाहरुबाट २ सय मेगावाट विद्युत थपिने


इलाम, ५ मंसिर ः विद्युत उत्पादनका लागि अब्बल बनेका पूर्वका तीन पहाडी जिल्लाहरुबाट २ सय मेगावाट थप विद्युत उत्पादन हुने भएको छ । पाँचथरको हेवा, फेमे र इवाखोला, ताप्लेजुङको मेवा, फावा र दुबै जिल्लाको सीमा हुँदै बग्ने कावेली नदी तथा इलामको पुवाखोलामा निर्माणाधीन विभिन्न आयोजनाहरुबाट २ सय बढी मेगावाट विद्युत थपिने भएको हो । पाँचथरमा माथिल्लो हेवाखोलाबाट १५, तल्लो हेवाखोलाबाट २२.७, इवाखोलाबाट १० मेगावाट तथा कावेली ‘ए’बाट ३८ र कावेली ‘बी’बाट २५ मेगावाट विद्युत उत्पादनको क्रममा छ । त्यस्तै पाँचथरकै फेमे खोलामा १.५ मेगावाटको विद्युत संचालनमा छ । यसरी हेर्दा पाँचथरमा मात्र १ सय २ मेगावाट विद्युत आगामी ३ वर्ष भित्रमा उत्पादन भई मुख्य प्रशारण लाइनमा जोडिँदै छ । इलामस्थित माइखोलामा निर्माण गरिएको सानिमामाई जलविद्युत आयोजनाबाट उत्पादित विद्युत कावेली करिडोरमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिसकिएको छ । सो आयोजनाको क्षमता क्यासकेट ६ सहित २७ मेगावाट रहेको छ । इलामकै पुवाखोलामा मात्रै ३ जलविद्युत आयोजना निर्माण भइरहेका छन् । नेपाल विद्युत प्राधिकरण अन्तर्गतका ६ र २ मेगावाट गरी दुई आयोजना छन् भने निजी लगानीमा ३ मेगावाट क्षमताको आयोजना रहेको छ ।माइखोलामा अपरमाई ९.६ मेगावाट, अपरमाई ‘सी’ ६ मेगावाट र जोगमाई ७ मेगावाट गरी तीन आयोजनाका काम भइरहेका छन् । माइखोलामै रहेका ४ दशमलव ५ र ७ मेगावाट क्षमताका अन्य दुई आयोजनाले भने उत्पादन दिइरहेका छन् । इलाममा मात्रै हाल निर्माणको चरणमा रहेका र उत्पादन शुरू भएका आयोजनाको कुल क्षमता ७४ मेगावाटभन्दा बढी छ ।
ताप्लेजुङमा पनि विद्युत उत्पादनको काम तीव्र गतिमा भइरहेको छ । इवाखोला ९.७, अरुण काबेली २५ र फावाखोला ५ मेगावाट क्षमताका आयोजना जिल्लाका मुख्य हुन् । ती आयोजनाहरूको निर्माण कार्य दुईदेखि ४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । लक्ष्यअनुसार काम हुने हो भने आगामी ४ वर्षभित्र मेची अञ्चलका तीन जिल्लाबाट मात्रै २ सय मेगावाट बढी विद्युत् उत्पादन हुने पूर्व सांसद तथा जलविद्युत विज्ञ वसन्त नेम्वाङ बताउँछन् । ताप्लेजुङको फावाखोलाबाट ५ र मेवाखोलाबाट १३ दशमलव ५ मेगावाट विद्युत उत्पादन गरी यसै वर्ष केन्द्रीय प्रशारण लाइनमा जडान गरिने भएको छ । अधिकांश आयोजनाहरुले यसै वर्षको अन्तिम सम्ममा विद्युत उत्पादन गरेर प्रसारण लाइनमा जोड्ने गरी तयारी गरेका छन् । केही आयोजनाहरु निर्माणकै क्रममा छन् । जल तथा उर्जा क्षेत्रका अभियान्ता समेत रहेका एमाले पूर्व सांसद बसन्तकुमार नेम्बाङले अब सरकारले जलविद्युत क्षेत्रमा लगानी बढाउनु पर्नेमा जोड दिए । जनताको सहभागितामा सरकारको संलग्नता रहने गरी देशी विदेशी निजी कम्पनीहरुलाई निर्माणको काम दिएर भए पनि जलविद्युत उत्पादन गर्नु पर्ने उनको भनाई छ । पूर्वी पहाडलाई ‘हाइड्रो हब’ को रुपमा विकास गराएर उज्यालोले चम्काउने बताउँदै उनले भने ‘पहिले पहिले खोलाको पानीले सिंचाई सुविधा लिई अन्नबाली उत्पादन गरेर भकारी भरेर कृषिमा कहलिएको यो क्षेत्र अब बिजुली उत्पादनमा अगुवा बन्दैछ ।’  
सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघका अध्यक्ष नारायण ज्ञवालीले पनि जलविद्युत क्षेत्रमा लगानी सहज बनाउन नीति आवश्यक भएको बताए । सरकारको एकीकृत उर्जा नीतिको अभावमा अहिले पनि ५८ प्रतिशत समुदायले मेन ग्रीडवाट विद्युत उपयोग गरिरहेको तथ्याङ्क समेत प्रस्तुत गरेका थिए । ग्रामिण विद्युतीकरण कार्यक्रममार्फत देशको ग्रामीण इलाकामा विद्युतीकरण अभियानलाई तीव्र गति दिनुपर्ने उनको भनाई छ । सामुदायिक ग्रामिण विद्युतीकरण निर्देशक समितिका सदस्य समेत रहेका ज्ञवालीले यसवर्ष देशका विभिन्न जिल्लामा विद्युतीकरणका लागि विनियोजित कुल ९३ करोड बजेटमध्ये पाँचथरमा मात्रै ६३ करोड लागतको कार्यक्रम स्वीकृत भएको जानकारी दिए । निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रशारणमा जोडिएपछि समग्र देशको विद्युतभार कटौती कम गर्नमा सघाउ पुर्याउने छ ।  पूर्वी पहाडी जिल्लामा पछिल्लो समय धेरै आयोजनाहरु निर्माणको अन्तिम चरणमा पुगेका छन् । विद्युत आयोजनाले काम सक्नेवित्तिकै केन्द्रीय प्रशारणमा जोड्नका लागि करिडोरको काम पनि द्रुत भएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment