झापा, मंसिरः नियमन गर्ने निकायकै संरक्षणमा झापामा गाई तस्करी मौलाएको पाइएको छ । भारत निकासीका लागि लगिँदै गरिएका गाई प्रहरीले समाते पनि तिनै प्रहरीको दबाबमा गौशालामा पुर्याइएका गाई तस्करको पन्जामा पुनः परेका छन् ।
स्थानीयका अनुसार तस्कर र प्रहरीबीच ‘सेटिङ’मा नेपालबाट गाई भारतका लागि निकासी हुने गरेका छन् । पिकअप भेनमा क्षमताभन्दा बढी गाई लोड गरेर राजमार्गमा खुलेआम तस्करले लैजाँदा पनि प्रहरी टुलुटुलु हेरिरहेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख शैलेश थापा क्षेत्रीले त ऐनको ख्यालै नगरी झापाका दुई नाकाबाट गाई निकासी गर्न पाइने तर्क गरे । नेपालबाट गाई भारत निकासी गर्दा बहर वा गोरुका फर्जी कागजात बनाएर निकासी गर्ने गरिएको छ । राजमार्गमा ड्युटीमा रहेका प्रहरीले पिकअप भेनमा सागपात खाँदेजस्तो गरेर राखेका गाई हुन् कि गोरु हुन् छुट्याउने गर्दैनन् ।
ट्राफिक प्रहरीले भेट्यो भने ओभरलोड भन्दै जरिवाना गराएर छाड्ने गरेको छ । राजमार्गबाटै खुलेआम लगिएका गाई बिना अवरोध भारतीय बजारमा पुर्याइने गरिएको छ । गाईबाहेक अन्य चौपाया निकासीका लागि सरकारले झापाका तीन वटा नाकालाई अख्तियारी दिएको छ ।
काँकडभिट्टाको नकलबन्दा, भद्रपुर र गौरीगन्जबाट मात्र गाईबाहेक पशु निकासी गर्न पाइन्छ । तर, तीनै नाकाबाट पनि प्रशासनलाई ठाडो चुनौती दिँदै दिनहुँ सयौंको संख्यामा गाई निकासी हुने गरेको पाइएको छ । ठूला पशु बजारका रूपमा दरिएका जिल्लाका दमक, धुलाबारी र घैलाडुब्बाबाट गाई खरिद गरेर व्यापारीले भारत निकासी गर्ने गरेको छन् । पशु क्वारेन्टाईन कार्यालय काँकडभिट्टाका अनुसार गाई निकासी अवैध हो ।
जिल्लाका कतिपय सहायक नाकाबाट ट्रकमै लोड गरेर गाई निकासी गरिन्छ भने त्यतिकै संख्याका गाईलाई हिँडाएरै भारत निकासी गरिन्छ । यी नाकामा प्रशासनले अनुगमन गरेको छैन । झापामा गाईको अवैध व्यापार फस्टाएको गौसंरक्षण मन्चका केन्द्रीय सदस्य भीम भट्टराईले बताए ।
उनले भने, ‘यहाँबाट अवैध रुपमा निकासी गरिएका यी गाई भारतीय बजारमा लगेर मासुका रुपमा बिक्री गरिन्छ अनि दिल्ली, मुम्बई, आसाम, दार्जिलिङ, गान्तोक, सिलिगुढी लगायत बजारमा पुर्याइन्छ ।
व्यापारीले दमकमा खरिद गरेका गाई पूर्व–पश्चिम राजमार्ग हुँदै झिलझिलेबाट शिवगञ्ज, कुन्जीबारी र माहाभारा हुँदै डिगलबैंक निकासी गर्ने गरेका छन् । राजमार्गका इलाका प्रहरी कार्यालय दमक, प्रहरी चौकी केर्खा, झिलझिले र सहायक मार्गमा रहेका शिवगञ्ज, प्रहरी चौकी कुन्जीबारी र प्रहरी चौकी माहाभारा रमिते बन्ने गरेका छन् ।
राजमार्गबाट रातिभन्दा दिउँसो गाई निकासी बढी हुने गरेको शिवसताक्षी नगरका मदन शिवाकोटीले बताए । उनले भने, ‘गाईको अवैध धन्दा निमिट्यान्न हुन प्रहरीकै कारण सकेको छैन ।’ शिवाकोटीका अनुसार भारतीय व्यापारी र नेपालका तस्करबीच प्रहरी विचौलिया बन्ने गरेको छ ।
तर, प्रहरीले यसको खण्डन गर्दै भनेको छ, ‘प्रहरी र तस्करको यस मामलामा कुनै सम्झौता हुन सक्दैन ।’ इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएका ८ वटा गाई सताक्षीधामको गौशालामा लगिएका थिए । गौशालामा प्रहरी आफैंले पुर्याएको गोलोक गोवद्र्धन गौशालाका अध्यक्ष नन्दकिशोर भारध्वजले बताए । गएको मंसिर १ गते राति प्रहरी नियन्त्रमा परेका ती गाई प्रहरीकै दबाबमा तस्करका हातमा परेका छन् । जिल्ला प्रहरी कार्यलय झापाका एसपी शैलेश थापा क्षेत्रीले भने ती गाई सुरक्षाका लागि मात्र गौशालामा दिइएको बताए ।
‘व्यापारीले कागजात पुर्याएपछि फिर्ता भएका हुन्,’ उनले भने । गौशालाबाट फिर्ता लगिएका ८ वटा गाई भारतीय बजारमा मासुकै लागि लगिएको स्वयम खरिदकर्ता मंगल तामाङले बताए ।
0 comments:
Post a Comment