११ मंसिर, झापा । विमल घर्ती मगर टाइब्रेकरमा चुक्दा सहारा सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि शसस्त्र प्रहरीको एपीएफले हात पारेको छ । उसले रुपन्देही–११ लाई ५–३ गोल अन्तरले हरायो । योसँगै एपीएफले ३ लाख ५१ हजार १ सय ११ रुपैयाँ पाएको छ भने रुपन्देहीले २ लाख ५१ हजार १ सय ११ रुपैयाँमा चित्त बुझाएको छ । निर्धारित समयसम्म १–१ गोल अन्तरको बराबरी भएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । पेनाल्टी सुटआउटमा रुपन्देहीका विजय धिमाल, विक्रम लामा र रजिन धिमालले गरेको प्रहार गोलमा परिणत भएको थियो भने विमलको प्रहार चुकेको थियो ।
एपीएफका लागि अञ्जन विष्ट, नविन लामा, आदित्य चौधरी, मिलन राई र सन्तोष कटवालले गोल गरेका थिए । यसअघि दोस्रो हाफको १९ औं मिनेटमा एपीएफका राजेन्द्र रावलले पहिलो गोल गरे । आदित्य चौधरीको फ्रि–किकलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए । दोस्रो हाफको ३४ औं मिनेटमा रुपन्देहीका विमल घर्ती मगरले बरावरी गोल गरेका थिए । सरोज कोइरालाको फ्रि–किकमा रजिन धिमालले गरेको हेडलाई सदुपयोग गर्दै विमलले क्रस हेड गोल गरेका थिए । खेलमा एपीएफका आदित्य चौधरी म्यान अफ द म्याच घोषित भए । उनलाई विर्तामोडको हनुमान सेन्ट्रलमा रहेको मेची मोबायलका प्रोप्राइटर खगेन्द्र नेपालले १५ हजार रुपैयाँ बराबरको एन्ड्रोइड फोन प्रदान गरे ।
म्यान अफ टुनामेन्ट रुपन्देहीका विक्रम लामा भए । उनले लेनोभो मोबायलको मेची अञ्चल आधिकारिक विक्रेता क्वालिटी कम्प्यूटरर्सका प्रोप्राइटर दिपेश पाठकको तर्फबाट २५ हजार रुपैयाँ बराबरको एन्ड्रोइड फोन पाए । रुपन्देही मनाङ मस्याङ्दीलाई टाइब्रेकरमा हराउँदै फाइनलमा पुगेको थियो भने एपीएफले नेपाल पुलिस क्लबलाई पाखा लगाउँदै फाइनल यात्रा तय गरेको थियो । यसैबीच, खेलअघि भएको औपचारिक कार्यक्रममा नेपाली कांग्रेसका नेता देउकुमार थेबे, अखिल नेपाल फुटबल संघका मानार्थ अध्यक्ष टासी घले, सुरुङ्गा जेसीजका मानार्थ सदस्य श्याम पौडेल, राप्रपाका कनकाई नगर अध्यक्ष खेम कार्की, सुरुङ्गा खानेपानीका अध्यक्ष प्रेम दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । अखिल नेपाल फुटबल संघका केन्द्रीय अध्यक्ष नरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्य भएको कार्यक्रममा आयोजक सुरुङ्गा जेसीजकी अध्यक्ष सरला पोखरेलको अध्यक्षता रहेको थियो । कार्यक्रमकै अवसरमा खेलमैदान उपलब्ध गराउने कनकाई माविलाई ५१ हजार १ सय ११ रुपैयाँ प्रदान गरिएको छ ।

0 comments:
Post a Comment