चियाबारी विशेष
एमबीको स्थानीय चुनाव होस् या संसदको, मानबहादुर (एमबी) राई इलामका राजनैतिक दलहरुको प्रचारका लागि भित्तालेखन गर्ने, झण्डाको नक्सा बनाउने कार्यमा अग्रमोर्चामा थिए । उनी त्यो ताका आफ्नो रहरले दलहरुको प्रचार गरेका थिएनन्, उनको कलाकारीताको माग उच्च भएरनै उनको माग बढेको थियो । उसबेला दलको प्र्रचार गरेबापत उनले पारिश्रमिक पाए पाएनन्, जानकारी भएन तर दुवै मृगौलाले काम नगरेर उपचार र सहायताको भीख मागिरहेका राईको पुकार दल अनि राज्यले सुन्ने बेला आएको छ । उनको उपचारको लागि मानबहादुर बचाउ सहयोगार्थ समिति गठन गरि सो समितिले एमबीको उपचारको लागि सक्रियता देखाएको छ, तर नागरिक स्तरबाट भएको पहलमा राजनैतिक दलको तहबाट केहि पहल हुन सकेन भने त्यो सहयोग एमबीको उपचारको लागि कम नै हुन्छ । मलेसियामा रहेका इलामका समाजसेवी बुद्धिमान राई एमबी उपचारको लागि नेपालमा भएकाहरुलाई फोनमार्फत तथा सामाजिक सञ्जालमार्फत दिनरात झकझक्याइरहेका छन् । उनी भन्छन्, ‘पुर्वप्रधानमन्त्रीहरु र हालको प्रधानमन्त्रीले मन्त्रीपरिषद्बाट निर्णय गराएर विभिन्न व्यक्तिहरुलाई आर्थिक सहयोग गरेको समाचार जनताले पढिरहेका छन्, यो अवस्थामा एमबीको उपचारको लागि पनि राज्यसम्म कुरा पु¥याउन दलहरुले सहयोग गरिदिन म अनुरोध गर्दछु ।’ एमबीको उपचारमा समितिका सुरेन कार्की, एमबीकी श्रीमती, नोवेल अस्पतालमा कार्यरत इलामे दिपेश राई, समाजसेवी कृष्ण शाह नजिकबाट सम्लग्न छन् । आर्थिक रुपमा उपचार कोष सबल भएमा उपचार सम्भव हुने आशा अझै पनि बाँकी रहेको एबी उपचाररत अस्पतालले जनाएको छ । बुधबार एक्कासी स्वास्थ्य गम्भीर बनेपछि उनलाई भेण्टीलेटरमा राखिएको थियो । समितिको निर्णयपछि एमबीलाई भेण्टीलेटरबाट निकालेर अस्पताल बसाईको लामो समयपछि विहीबार राती इलाम ल्याइएको थियो । इलाम आएलगत्तै उनको स्वास्थ्यमा अकस्मात सुधार आई खानपिन गर्न र बोल्न सक्ने भएका छन् । हरेक हप्ता दुवै मृगौलाको डाइलासिसबाट जीवन धानिरहेका एमबी चियाबारीसँग कुरा गर्दै थप उपचारको लागि राजनैतिक दल, कलाकारीतासँग सम्बन्धित संघसंस्था, उद्योग बाणिज्य संघ, सामाजिक संघसंस्था तथा आम जनतासँग सहयोगको याचना गरेका छन् ।
५२ बर्षिय राईको दुबै मृगौलाले काम गर्न छाडेपछि उनको उपचारका लागि सहयोग समिति नै गठन गरि विभिन्न दाताहरुसँग सहयोग सङ्कलन गरिदै आएको छ । श्रीमती र एक छोराका बाबु रहेका राई आफै बिरामी परेर ओछयान लागेपछि राईको परिवार समस्यामा परेका छन् । आर्थिक अवस्था कमजोर भएका राई व्यथाले छटपटाइरहेका छन् भने उनको परिवार थप आर्थिक संकटमा परेको छ । मालपोत कार्यालयमा लेखापढी गर्ने तथा आर्टको काम गर्ने राई बिरामी परेर थलिएपछि हुकुमलाल थेबेको संयोजकत्वमा पाँच सदस्यीय मानबहादुर राई उपचार सहायता कोष गठन गरिएको थियो । जसको सदस्यहरुमा सुरेन कार्की, धिरेन चेम्जोङ्ग, सुमन श्रेष्ठ र बिजय खाकी रहेका छन् । राईको दुइवटै मृगौला प्रत्यारोपण गर्न करीब १२ लाख रुपैंयाँ लाग्ने अनुमान छ ।

0 comments:
Post a Comment