समाचार प्रभाव
इलाम, २० कार्तिकः इलामका कलाकार मानबहादुर (एमबी) राईको उपचारमा सहयोग गर्न नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति इलामले समाजसेवी रतन चौधरीको संयोजकत्वमा ५ सदस्सीय समिति गठन गरेको छ । इलाम काङ्ग्रेसको चौथो पूर्ण बैठकले काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य चौधरी संयोजक रहेको समितिलाई दुवै मृगौला काम नलाग्ने भएका एमबीको उपचारको लागि रकम सङ्कलन गर्न र अन्य आवस्यकीय सहयोग गर्न जिम्मेवारी दिएको हो । समितिका सदस्यहरुमा जिल्ला सचिव खगेन्द्र देवान, जिल्ला सदस्य प्रकाश थापा, क्षेत्रीय सभापति नुतनदेव दुलाल र नगर सभापति होम बस्नेत रहेका छन् । समितिले शनिबारबाट नै आफनो काम शुरु गरेको पार्टी सचिव निरोज खड्गीले जानकारी दिए । पार्टीको शनिबार सम्पन्न बैठकले मङ्सिर १५ गतेदेखि पार्टी प्रशिक्षक कार्यक्रम सञ्चालन गर्ने समेत निर्णय गरेको खड्गीले जानकारी दिए । चियाबारी दैनिकको शनिबारको अङ्कमा एमबीले उपचारको सहयोगको लागि गरेको याचनालाई मुख्य समाचार तथा सम्पादकीयमा स्थान दिएर प्रकाशन गरेको थियो । बुधबार एक्कासी स्वास्थ्य गम्भीर बनेपछि उनलाई विराटनगर स्थित नोवेल मेडिकल कलेज अस्पतालमा भेण्टीलेटरमा राखिएको थियो । समितिको निर्णयपछि एमबीलाई भेण्टीलेटरबाट निकालेर अस्पताल बसाईको लामो समयपछि विहीबार राति इलाम ल्याइएको थियो । इलाम आएलगत्तै उनको स्वास्थ्यमा अकस्मात सुधार आई खानपिन गर्न र बोल्न सक्ने भएका थिए । हरेक हप्ता दुवै मृगौलाको डाइलासिसबाट जीवन धानिरहेका एमबी चियाबारीसँग कुरा गर्दै थप उपचारको लागि राजनैतिक दल, कलाकारीतासँग सम्बन्धित संघसंस्था, उद्योग बाणिज्य संघ, सामाजिक संघसंस्था तथा आम जनतासँग सहयोगको याचना गरेका थिए ।

0 comments:
Post a Comment