गोदकको तरकारीमा रहेको विषादीको भ्रम तोड्नु छ: गीता तामाङ


इलाम, २० कार्तिकः इलाम सदरमुकामलाई तरकारी उपलब्ध गराउने प्रमुख स्थल गोदक गाविसका कृषकहरु आईपीएम पद्धतिबाट तरकारी उत्पादनमा लागेका छन् । उनीहरुले घरमा नैं बनाएको ‘बोकासी’ मल तथा जैविक किटनाशक औषधी प्रयोग गरेर गोलभेडा, काउली, बन्दा, सिमी, सागपात आदी उत्पादन गर्ने गरेका छन् । इलाम बजारमा गोदकको तरकारी भनेपछि अत्याधिक मात्रामा विषादी प्रयोग गरिएको हुन्छ भन्ने भ्रमलाई चिर्न गोदक गाविस वडा नं. १ सिलपुरका कृषकहरु आइपीएम पद्धतिमा लागेका हुन् । चुलाचुली गाविसस्थित फुलबारी बचत तथा ऋण सहकारी संस्था तथा कारितास नेपालको सहयोगमा उनीहरुले धानबालीमा गरिएको आईपिएमलाई तरकारी बालीमा पनि प्रयोग गरेका हुन् । यस पद्धतिमा कुनै पनि बाली रोप्न अघि गरिने जग्गाको तयारी देखि लिएर उत्पादन भित्रयाउँदा सम्म प्रत्यक्ष निगरानीमा किरा फट्याङग्रा हटाउने, विभिन्न प्रकारका झारपातहरुको मिश्रणबाट तयार गरिएको मलखाद तथा औषधीहरु प्रयोग गर्ने गरिन्छ ।
गोदक गाविसस्थित सिलपुर कृषक समुहकी सदस्य प्रेमकला प्राखिनलाई इलाम बजारमा तरकारी बिक्री गर्दा एउटा नमिठो अनुभव भोग्न पुगिन । तरकारी खरिद गरिसकेको ग्राहकले गोदकबाट ल्याएको तरकारी भनेपछि झोलाबाट तरकारी नैं फिर्ता गरे । उनले भनिन्– ‘गोलभेडा किनिसकेर झोलामा राखेर पैसा दिने बेलामा ग्राहकले कहाँबाट ल्याउनु भएको हो भनि सोध्दा मैले गोदक भन्ने बित्तिकै उनले विषादी प्रयोग गरेको पो रहेछ भनेर फिर्ता गरे ।’ गोदकका केहि किसानहरुले बिगारेको छविलाई सुर्धान समुहकी गीता तामाङ लगायत २७ घरपरिवारहरु लागि परेका छन् । ‘हामी इलामका बासिन्दालाई प्रांगरिक तरकारी खुवाउन लागि परेका छौं । गोदकलाई लागेको विषादीको छवि हामी तोड्ने छौं ।’ गीताले भनिन् । गीता जस्तै एलिजा तामाङ, इन्दिरा कोइराला, छोइसाङ तामाङ, भिमा बास्कोटा, दावा तामाङ आदी आफ्नो बारीको प्रांगरिक उत्पादनलाई बजारमा लैजान आतुर छन् ।
यता इलाम क्याम्पस अन्र्तगत रहेको बागवानी विभागमा अध्ययनरत विद्यार्थीहरु पनि आईपिएम पद्धतिबाट काउली उत्पादनमा लागिपरेका छन् । उनीहरुले व्यवसायिक उत्पादन भन्दा पनि अध्ययन तथा अनुसन्धानको लागिको लागि काउलीमा आईपिएम गरिरहेका छन् । शनिबार बिहान हातमा किरा समात्ने जाली बोकेकी चितवनकी कामना न्यौपानेले भनिन– ‘पहाडमा कुन जातको काउली कसरी रोप्दा राम्रो उत्पादन हुन्छ भन्ने अनुसन्धानमा हामी लागेका छौं ।’ त्यस्तै फाकफोक ठिहेपुरका दिपक लिम्बु पनि आफ्नो छैंटौ सेमष्टरको अध्ययनमा तरकारी बालीमा लाग्ने रोगव्याधि, उत्पादन दिने क्षमता आदीको अनुसन्धान गर्दै गरेको बताए । सो विभागमा नेपालका विभिन्न जिल्लाहरुबाट अध्ययनको क्रममा २७ जना विद्यार्थीहरु रहेको रुपन्देहीका प्रविण आचार्यले बताए ।
इलाम सदरमुकामस्थित इलाम क्याम्पस र गोदकस्थित सिलपुर कृषक समुहलाई आईपिएम पाठशालाको व्यवस्थापन भने चुलाचुली गाविस वडा नं. ३ बारगोठेस्थित फुलबारी बचत तथा ऋण सहकारी संस्थाले मिलाएको हो । उक्त सहकारीले वि.सं.२०६६ साल देखि इलाम, झापा र सुनसरीमा करिब एकसय भन्दा बढि आईपिएम पाठशाला संचालन गरेको सहकारीका अध्यक्ष खड्गबहादुर लुङ्गेलीले बताए । उनका अनुसार कारितास नेपाल अष्ट्रेलियाको सहयोगमा धान, तरकारी बाली आदीमा कृषकहरुलाई ज्ञान बढाउन यस्ता कार्यक्रमहरु संचालन गरेको बताए । सो संस्थाका सिनियर आईपिएम शिक्षक टंक कट्टेलका अनुसार गोदकमा गरिएका धानको आईपिएम अति उत्कृष्ट भएको बताए । त्यहाँ एक गाँज धानको बोटमा छ सय तेत्तीस वटा धान फलेको थियो । जसबाट उत्पादन बृद्धि हुने कट्टेलको भनाई रहेको छ । यी दुई स्थानमा गरिएको आईपिएमको निरिक्षण गर्न कारितास नेपाल, अष्ट्रेलियाका कार्यक्रम प्रमुख एलिनोर कार्तिक अन्तिममा इलाम आउने सहकारी संस्थाका अध्यक्ष लुङ्गेलीले बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment