छठमा तराई मात्र होइन पहाडी इलाममा पनि उल्लास

इलाम २१ कार्तिक ः अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिएर आइतबार छठ पर्व विशेष उल्लासका साथ मनाइयो । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको आइतबार प्रमुख दिन हो । सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि शुरु भएको हो ।
 द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको महाभारतमा उल्लेख छ । सोही समयदेखि नै छठ मनाउने परम्परा शुरु भएको संस्कृतिविदहरु बताउँछन् । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूर्याले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि छठ मनाउने परम्पराको शुरुवात भयो । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।
कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर छठको व्रत बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सक्खर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।
यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिने विधि विधान रहेको बताइएको छ । षष्ठीमा रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य पर्व समापन हुन्छ । तराईमा मनाइने छठ पछिल्लो समय पहाड कतिपय ठाउँमा पनि मनाउन थालिएको छ । छठले तराईपहाडबीच सद्भाव र सहिष्णुको पुलको काम पनि गरेको छ ।
इलाम पहाडी जिल्ला भएपनि यहाँ छठ पर्वको उत्सव राम्रैसँग देखिएको छ ।  इलाम सदरमुकाम स्थित नारायणस्थानमा छठ मनाउन स्थानिय बासिन्दाहरु भेला भएका छन् । यहाँ इलाम बजार लगायत अन्य स्थानबाट समेट आवगमन भएको स्थानिय संजिव ठाकुरले बताए । उनका अनुसार सोमबार बिहान उदाउँदो सुुर्यलाई अर्घ दिएर पर्व अन्त्य हुने जनाइएको छ । बिहान छठ सम्पन्नसँगै प्रसाद वितरण गरिने ठाकुुरले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment