रोमन आचार्य
इलाम, २१ कार्तिक ः इलामबाट निकासी हुने तरकारी मध्ये काउलीमात्र १ अर्ब ५० करोड भन्दा बढिको निकासी हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालय इलामको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२÷०७३मा उत्पादन भएको तरकारी मध्ये साढे दुई अर्ब भन्दा बढि छिमेकी जिल्लाहरु तथा छिमेकी देश भारतमा बिक्री हुने गरेको छ । कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२÷०७३ मा इलाम जिल्लाबाट २ अर्ब ६० करोड ४१ लाख ७५ हजार ७ सय ४६ रुपैंयाँको तरकारी निकासी भएको छ । जिल्लामा ३ हजार २ सय ३७ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको छ । उक्त क्षेत्रफलमा गरिने तरकारीबाट ७२ हजार ६ सय ७९ मेट्रिकटन तरकारी निकासी भएको छ ।
निकासी भएको तरकारीबाट किसानहरुले बार्षिक सो रकम जिल्ला भित्राउने गरेका छन् । जिल्लामा विशेष गरेर काउली, बन्दा, ब्रोकाउली, रायो, खुर्सानी लगायतका हिउँदे वर्षे बेमौसमी तरकारी खेती हुने गरेको छ । तथ्यांक अनुसार जिल्लामा सबैभन्दा बढि काउलीको निकासी भएको छ । ३ सय ९६ हेक्टर क्षेत्रफलमा खेती गरिएको काउली ४६ हजार ५ सय १९ मेट्रिकटन निकासी भएको छ । काउलीबाट किसानहरुले १ अर्ब ६२ करोड ८१ लाख ७२ हजार रुपैंयाँ जिल्ला भित्राउन सफल भएका छन् । जिल्ला कृषि विकास कार्यालय इलामका योजना अधिकृत प्रकाशमणि काफ्लेका अनुसार काउली बाहेक जिल्लामा बन्दा ८ हजार ४ सय ६ मेट्रिकटन अर्थात १ करोड ६८ लाख ११ हजार ६ सय २० रुपैंयाँको निर्यात भएको छ । यस्तै रायो ४४ करोड ९९ लाख ९९ हजार २ सय रुपैंयाँ, मुला ३ करोड ३२ लाख ५५ हजार रुपैंयाँको निर्यात भएको छ । जिल्लाबाट सबैभन्दा कम धनियाँको साग ४ लाख रुपैंयाँको निर्यात भएको छ ।
काफ्लेका अनुसार जिल्लामा क्षेत्रफलको आधारमा बन्दा कोपीको खेती बढि हुने गरेको छ । जिल्लामा हाल ७ सय २७ हेक्टरमा बन्दा कोपीको उत्पादन भएको छ । यस्तै रायोको साग ५ सय २७ हेक्टर क्षेत्रफलमा, काउली ३ सय ९६ हेक्टर क्षेत्रफलमा खेती हुदै आएको छ । जिल्लामा करेला, घिरौला, फर्सी, अकबरे खुर्सानी, लौका लगायत अन्य तरकारीहरुको खेती हुने गरेको छ । काफ्लेका अनुसार इलाममा प्रति व्यक्तिले एक छाकमा तीनसय ग्राम तरकारी उपभोग गर्ने गरेका छन् । यो तथ्यांकलाइ आधार बनाउने हो भने इलाममा तरकारी खपत पनि धेरै रहेको छ । जनगणना २०६८ अनुसार इलाममा २ लाख ८६ हजार ५ सय ५० जनसंख्या रहेको र सो जनसंख्याले दैनिक छाकमा तीसय ग्रामका दरले तरकारी उपभोग गर्दै आएका छन् । अ
ार्थिक वर्ष २०७२÷०७३ को तथ्यांकलाई आधार मान्ने हो भने इलाम तरकारीमा आत्मनिर्भर बनेको छ । यसरी उत्पादन बृद्धि हुदै जाने हो भने इलामलाई तरकारीमा आत्मनिर्भर जिल्ला घोषणा गर्न समय नलाग्ने काफ्ले बताउँछन् । इलाममा उत्पादन भएको तरकारीको मुख्य बजार झापाको बुधबारे, चाराआली, बिर्तामोड लगायत भारतका मिरिक, दार्जिलिङ, सिलिगुडी लगायत रहेका छन् । यहाँका किसानहरुलाई तरकारी बेच्न यातायातको समस्या नरहेको र जिल्लाका सम्पुर्ण क्षेत्रमा तरकारी खेती हुने गरेको छ । विशेष गरेर जिल्लाका पशुपतिनगर, कन्याम, गोदक, श्रीअन्तु, सुर्योदय नगरपालिकाको फिक्कल, बरबोटे, माघे, त्यस्तै नामसालिङ, बरबोटे, सुलुबुङ लगायत अन्य क्षेत्रमा तरकारीको व्यवसायिक खेती हुदै आएको छ । कृषि विकास कार्यालय इलामका योजना अधिकृत काफ्लेका अनुसार जिल्लामा तरकारी उत्पादनमा बृद्धि हुनुमा किसानहरुको व्यवसायिकता साथै खेती गर्ने शैलीमा आएको वैज्ञानिकता प्रमुख रहेको बताउँछन् । किसानहरु हाल सहकारीमा आवद्ध भएर सहकारी स्किममा खेती गर्ने साथै तरकारीमा आत्मनिर्भरता बनाउन जिल्ला कृषि विकास कार्यालय इलामले विगत २ वर्षदेखि युवा लक्षित तरकारी कार्यक्रम अघि ल्याएको छ । उक्त कार्यक्रम अन्तर्गत प्लास्टिक टनेल वितरण, थोपा सिंचाइ योजना रहेको र यसबाट कृषकलाई तरकारी उत्पादनमा सहयोग पुगेको उनको भनाइ छ । अघिल्लो आर्थिक वर्ष र गत आर्थिक वर्षमा समान १ सय २० जनालाई युवा लक्षित कार्यक्रम वितरण गरिएको र चालु आर्थिक वर्षमा पनि यो कार्यक्रमलाइ निरन्तरता दिने उनले बताए । साथै जिल्ला कृषि विकास कार्यालयको नियमित कार्यक्रम अन्तर्गत पनि किसानहरुलाई विभिन्न सेवा सुविधा र अनुदानका कार्यक्रमहरुले वार्षिक रुपमा इलाममा तरकारी उत्पादन बृद्धि हुँदै गएको काफ्ले बताउँछन् ।
वार्षिक रुपमा यसरी नै तरकारी उत्पादन बुद्धि गर्ने हो भने किसानहरुमा लगानी बढाउनु पर्ने र युवा लक्षित तरकारी उत्पादन कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउनु पर्ने, युवा लक्षित कार्यक्रम र अनुदान कार्यक्रमका लागि बजेटमा बृद्धि गर्नु पर्ने बिउ बिजनको सहज रुपमा उपलब्धता, सिंचाइको सुविधा, जैविक तथा रासायिनक विषादीको सहज रुपमा उपलब्धता र युवा लक्षित कार्यक्रममा विशेष प्राथमिकता दिन सके इलामबाट अझ ठुलो परिणाममा तरकारी निकासी गर्न सकिने काफ्ले बताउँछन् ।

0 comments:
Post a Comment