अरुण कावेलीको आइपीओमा ४१ गुणा बढी आवेदन


इलाम १८ कात्तिक ः  अरुण काबेलीले सर्वसाधारणका लागि खुलाएको सेयरमा मागभन्दा ४१.६६ गुणा बढी आवेदन परेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३० लाख कित्ता अर्थात ३० करोड रुपैयाँ बराबरका साधारण सेयरका लागि माग आवेदन गरेको थियो । तर, सो आइपीओमा १२ अर्ब ५० करोड रुपैयाँभन्दा बढी आवेदन परेको सेयर निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीको सेयरमा देशभरका संकलन केन्द्रबाट १ लाख ४५ हजार बढीको आवेदन दिएका छन् ।
कम्पनीले कात्तिक १२ गतेसम्म पाँचथर र ताप्लेजुङको सीमामा पर्ने कावेली खोलाबाट ४ अर्ब रुपैयाँ खर्च गरेर २५ मेगावाटको विद्युत आयोजनाका लागि आइपीओ निष्काशन गरेको थियो । कम्पनीको सेयरमा न्यूनतम ५० कित्तादेखि अधिकतम् १५ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । कम्पनीले निष्काशन गरेमध्ये ३ प्रतिशत कर्मचारीका लागि र ५ प्रतिशत म्युचुअल फण्डहरुका लागि छुट्याइएको थियो । यसअघि कम्पनीले पाँचथर र ताप्लेजुङका आयोजना प्रभावित स्थानीय बासिन्दालाई १५ लाख कित्ता शेयर वितरण गरिसकेको छ । आर्थिक बर्ष २०७३÷७४ मा आयोजना सम्पन्न हुने बताइएको छ । आइपिओ बाँडफाँड पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment