जिर्मले, २४ कार्तिकः सुन्तलाको लागि प्रख्यात दक्षिण पुर्वी जिर्मलेस्थित सलकपुरको सुन्तलाले आगामी डिसेम्बर २ देखि ४ तारिख सम्म पश्चिम बंगालको राजधानी कोलकातामा संचालन हुने सुन्तला महोत्सवमा सहभागिता जनाउने भएको छ । गत नोभेम्बर ७ तारिखको दिन भारतीय शहर सिलगुडीमा सम्पन्न भएको ‘हट काउन्सील’को बैठकले उक्त महोत्सवमा सहभागिता जनाउने निणर्य भएको हो । सो महोत्सवमा नेपालबाट विविध साँस्कृतिक झाँकी सहित धरान, भेडेटार, सलकपुर, बाहुनडाँगीमा कार्यरत पर्यटन संस्थाका प्रतिनिधिहरु र सुन्तला उत्पादक कृषकहरु रहने छन् ।
‘हट काउन्सील’ भनेको नेपाल, भारत र भुटानको सुन्तला उत्पादनको माध्यमबाट पर्यटन प्रर्वधन गर्ने क्षेत्रहरुको संगठन हो, जसको पुरा रुप ‘हिमालयन ओरेन्ज टुरिजम काउन्सील’ हुन्छ । यसमा नेपालको सुन्तला उत्पादन गर्ने जिर्मलेको सलकपुर र बाहुनडाँगी, भारतको मिरिक, कालिङपोङ, कर्साङ, दार्जिलिङ र सिक्किम तथा भुटानको किटास नामक संस्थामा आवद्ध किसानहरु गोलवद्ध रहेका छन् । यस काउन्सीलको अध्यक्षमा कोलकाताका राज वासु रहेका छन भने उपाध्यक्षमा दार्जिलिङका एम के प्रधान रहेका छन् । त्यस्तै महासचिवमा बाहुनडाँगीका अजुर्न कार्की, कोषाध्यक्षमा जल्दाहापाडा नेशनल पार्कका शिवजीत दास, सदस्यहरुमा सिक्किमका वीरेन्द्र ताम्लिङ, सलकपुरका कुमार मोक्तान सहित १३ जना रहेका छन् ।
यस काउन्सीलले सन् २०१४मा पनि कोलकातामा सुन्तला महोत्सवको आयोजना गरेको थियो । त्यस बेला नेपालको सुन्तलाले ठुलो चर्चा प्राप्त गरेको थियो । त्यो महोत्सवको सफलता पछि सन् २०१५मा सिलगुडीमा पनि विविध साँस्कृतिक कार्यक्रमको साथ सुन्तला महोत्सव सम्पन्न गरेको थियो । यस पटक काउन्सीलको बैठकले पुनः कोलकातामा नै महोत्सव गर्ने निणर्य भएको काउन्सीलका सदस्य सलकपुर निवासी कुमार मोक्तानले चियाबारी दैनिकलाई जानकारी दिए । ‘हामीले सन् २०१४ मा कोलकातामा बिक्रीको लागि लगेको सुन्तला प्रति बंगालीहरुले देखाएको चाख र चासोलाई ध्यानमा राखेर यसपटक त्यही महोत्सव गर्ने निणर्यमा पुग्यौं । हट काउन्सीलको बैठकले पुनः कोलकातामा नैं पहाडी क्षेत्रको सुन्तला प्रर्वधन गर्ने निणर्यमा पुगेको हो ।’ मोक्तानले भने । यसपटक सलकपुर क्षेत्रबाट दश क्विन्टल सुन्तला, एभोकाडो लगायतका फलफुल कोलकाता लैजानको लागि तयारी शुरु भईसकेको मोक्तानले जानकारी दिए । ‘जिर्मलेबाट कोलकाता सुन्तला लैजान दुईरात तीन दिन लाग्छ, त्यसैले ताजै रुपमा सुन्तला आयोजना स्थल पु¥याउने काम एकदमै कठिन छ । पहिलो महोत्सवमा कार्टुनमा हालेर लगेको सुन्तलाको गुणस्तरमा हस आएकोले यसपटक हामी बाँसको ढाक्की वा प्लाष्टिकको क्रेटमा सुन्तला लैजाने भनेर सल्लाह गर्दैछौ ।’ मोक्तानले जानकारी दिए । पुर्वी नेपाल त्यसमा पनि इलामको सुन्तलालाई भारतीय बजारमा प्रर्वधन गर्नको लागि लागि परेको सलकपुरलाई जिल्लास्थित पर्यटन क्षेत्रमा काम गर्ने संस्थाहरुबाट सहयोग नपाएको गुनासो सलकपुरका सुन्तला उत्पादक मोहन तामाङको रहेको छ ।
पहिलो पटक कोलकाताको स्टलमा नेपालको झण्डा राखेर सुन्तला बिक्री गर्दाको क्षण सम्झदै उनले भने– ‘पहिलो पटक कोलकाता आफ्नै पहलमा गयौं, अनुभव बटुल्यौ, त्यसपछि सिलगुडीमा पनि आफ्नै पहलमा महोत्सवमा सहभागी भयौं तर सुन्तला पर्यटनमा भारत र भुटानमा त्यहाँको निकायहरुबाट पाएको सहयोग देख्दा र नेपालमा नपाउदा चित्त दुख्यो । तर यसपटक हामी महोत्सवमा जान अगाडि सदरमुकाममा रहेका पर्यटनसँग काम गर्ने संघ संस्थाहरुलाई सरसहयोगको लागि अनुरोध गर्नेछौं ।’

0 comments:
Post a Comment