संगिता सुहाङ
पाँचथर, १३ मंसिर ः धार्मिक तथा पर्यटकिय स्थल जोरपोखरीमा बालचर्तुदशीको अवसर पारेर बहुसांस्कृतिक महोत्सव गरिएको छ । सामाजिक सद्भावका लागि आयोजना गरिएको एक दिने सांस्कृतिक महोत्सवको उद्घाटन् शान्ति तथा पुर्ननिर्माण मन्त्री सितादेवी यादवले गरेकी हुन् । नौमती बाजाको तालमा नाचेर प्रमुख अतिथि यादवले महोत्सवको उत्दघाटन गरिन् । सुभाङ, भारपा, एकतीन र पञ्चमीको संगमस्थलको रुपमा रहेको धार्मिक तथा पर्यटकियस्थल जोरपोखरीलाई पर्यटकिय क्षेत्रको रुपमा चिनाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको महोत्सव मुल समारोह समितिका संयोजक कमल जवेगुले जानकारी दिए ।
महोत्सवमा विभिन्न जात जातिका १५ वटा सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको हो । सुभाङ, भारपा, पञ्चमी र एकतीन गाविसमा बासोबास गर्ने जात जातीहरुको संस्कृति प्रस्तुत गरिएको थियो । “पर्यटन र सामाजिक सद्भावको विकासका लागि महोत्सवको आयोजना गरिएको हो,” महोत्सव मूल समारोह समितिका सह संयोजक बालकृष्ण ओझाले भने– “चार गाविसमा बसोबास गर्ने जात जातीहरुको झाँकी प्रस्तुत गरिएको छ ।” ब्राह्मण जातीको संगिनी र बालन, लिम्बू जातिको धान नाच र च्याब्रुङ नाच, राई जातीको साकेला नाच, नेवारको लाखे नाच, कामीको मारुनी नाच, दमाइको नौमती बाजा, तामाङको तामाङ सेलो हुर्रा नाच, डम्फु नाच लगायतका नाचहरु प्रस्तुत गरिएको हो । महोत्सवमा चार गाविसमा बसोबास गर्ने मानिसहरुले सांस्कृतिक कला पनि प्रस्तुत गरिएको थियो । “यहाँ बसोबास गर्ने जातीहरुसँग सम्बन्धित कला स्थानीय कलाकारबाटै प्रस्तुत गरिएको हो,” संयोजक जवेगुले भने । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि यादवले देश विकासका लागि सांस्कृतिक सद्भाव कायम हुनुपर्ने बताईन । “शान्ति र सद्भाव बिना देशको विकास असम्भव छ,” यादवले भनिन् “विकासको मुल आधार नै सद्भाव हो ।”
0 comments:
Post a Comment