इलाम, २ पुसः इनपा ४ का दुर्वस थापालाई सेक्स भन्नाले शारीरिक रुपमा यौन सम्पर्क राख्नु मात्र हो भन्ने बुझाई थियो । युवा सुचना केन्द्र इलाममा सम्लग्न भएर साथी शिक्षा पाएदेखि सेक्स सम्बन्धि उनको धारणा परिवर्तन भयो । यौन र यौनिकताका सामान्य सिद्धान्त परिभाषासँग जानकार हुने मौका पनि त्यहि मिल्यो जहिलेदेखि उनी युवा सुचना केन्द्रमा आबद्ध भए । नत शुल्क नै तिर्नुपर्ने, फुर्सदको समयको सदुपयोग पनि हुने देखेपछि उनी दिनको फुर्सदको समयलाई युवा सुचना केन्द्रमै विताउछन् । त्यति मात्र कहाँ हो र, डिसेम्बर १ तारिकका दिन पर्ने विश्व एड्स दिवसका दिन इलाम चोक बजारमा देखाइएको सडक नाटकमा उनले महत्वपूर्ण रोल नै निभाउने मौका पाए । लक्ष्मीपुर ४ का प्रकाश मगरको कथा पनि यो भन्दा फरक छैन । युवा सुचना केन्द्रले आयोजना गरेको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको प्रशिक्षक प्रशिक्षण तालिममा पहिलोपटक महिला कण्डम (फेमिडम) छोएनन् मात्र, उनले फेमिडम प्रयोग गर्ने तरिका नै प्रयोगात्मक रुपमा प्रशिक्षकको तालिममा देखाए । पहिलो पटक उनले फेमिडम छोएका मगरले डेमोन्स्ट्रेसन नै गर्न पाउदा आफुलाई भाग्यमानी ठानेको बताए । १६ बर्ष भर्खरै टेकेकी कविता लुइटेलले त तालिममा इमर्जिङ एसआरएचआर स्टारको उपाधि नै जितिन् । अर्का सहभागी सागर अधिकारी, सफलता राई, हेमन्त गौतम र सञ्जोग गौतमले पनि विभिन्न टाइटलका उपाधि पनि पाए ।
जीवनकालभर कहिल्यै कण्डम नछोएकी अनिशा खनालले पनि सोहि तालिममा पहिलोपटक कण्डम डेमोन्स्ट्रेसन गर्ने मौका पाइन् । अनिशा मात्र होइन, सम्झना राई, विना अधिकारी, सुनिता अधिकारी, प्रश्ना श्रेष्ठ, सुस्मिता अधिकारी लगायतका युवा महिलाको लागि यो डेमोन्स्ट्रेसन अनौठो भएन नत तालिममा सहभागी राजन चौहान, सुसान्त सापकोटा, राजन भण्डारी, शुशिल चौहानलाई ।
तालिमबाट उत्पादन भएका युवाहरुले आगामी दिनमा सोलिड नेपाल र परिवार नियोजन संघ इलामले आयोजना गरेको तालिमहरुमा प्रशिक्षकको रुपमा लिइने सोलिड नेपालका प्रकाश घिमिरेले बताए । नेपाल परिवार नियोजन संघ इलामका बरिष्ठ शाखा प्रबन्धक विद्याकिशोर सिंहले युवा सुचना केन्द्रमा आबद्ध युवाहरुले जिल्लामा यौन तथा प्रजनन स्वास्थ्यको क्षेत्रमा योगदान पु¥याएको भन्दै बधाइ ज्ञापन गरे । जिल्ला जनस्वास्थ्य कार्यालय इलामका शाखा अधिकृत टङ्क चौधरीले यौन तथा प्रजनन स्वाथ्यको क्षेत्रमा यो तहको सचेतना हुनु, अझ यसमा प्रशिक्षक नै उत्पादन गर्नु आफैमा महत्वपूर्ण विषय भएको बताए । प्रशिक्षक प्रशिक्षण तािलमका सहजकर्ता गोपाल दहालले इलाममा २० जना उत्कृष्ट प्रशिक्षक उत्पादन भएको दावी गरे । उनले भने, ‘विभिन्न ठाउँमा जन्म भएपनि इलामलाई कर्मथलो बनाएका युवाहरुले यौन तथा प्रजनन स्वास्थ्यको क्षेत्रमा सामाजिक रुपमा पनि योगदान दिन सक्छन् ।’नेपाल परिवार नियोजन संघ इलामले १३ बर्ष पहिले युवालाई लक्षित गरेर स्थापना गरेको युवा सुचना केन्द्रमा आएका युवाहरुले क्षमता अभिवृद्धिका विभिन्न तालिम पाएपछि सामान्यतया कलेज जाने युवा भन्दा फरक क्षमता राख्न थालेको सुचना केन्द्रका संयोजक सचिनजंग रायमाझीले बताए । उनले भने, ‘हामीसँग आबद्ध युवाहरु अब विभिन्न स्थान र क्षेत्रमा गएर यौन शिक्षाको तालिम सञ्चालन गर्न र युवाको नेतृत्व विकासमा सहयोग गर्न सक्ने भएका छन् ।’
वाइ पियरका नेशनल टट् ट्रेनर तथा कार्यक्रमका प्रमुख प्रशिक्षक मदन घिमिरेले सहभागीहरुको सिक्ने र सिकाउने चाहना अभिवृद्धि गर्दै सफल र सक्षम प्रशिक्षक उत्पादन गर्ने काम चुनौतीपूर्ण भएपनि युवा सुचना केन्द्रका युवाले सहज रुपमा प्रशिक्षण कलालाई ग्रहण गरेको आफुले अनुभव गरेको बताए । यौन तथा प्रजनन स्वास्थ्य अधिकारको क्षेत्रमा दशक बढि विताएका अर्का प्रशिक्षक सुदिप श्रेष्ठले जिल्ला तहमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारको गतिविधिहरु यसरी बृद्धि हुनुले अधिकारको क्षेत्रमा राम्रो प्रगति हुने अपेक्षा राखे ।
0 comments:
Post a Comment