चितवन, २ पुसः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय निकायको निर्वाचन नयाँ संरचना निर्माण गरेर मात्रै गरिने बताएका छन् ।
प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पुरानो संरचनामा स्थानीय तहको निर्वाचन सम्भव नरहेको बताएका हुन् ।
पुनःसंरचना आयोगले प्रतिवेदन बुझाउने तयारी गरेको भन्दै प्रधानमन्त्री दाहालले भने ‘नयाँ संरचना अनुसार नै चुनाव गर्नुपर्छ भन्ने सरकारको स्पष्ट धारणा हो ।’ उनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र आफूका बीचमा निर्वाचनबारे छलफल भएको बताउँदै कुन तहको निर्वाचन गर्ने भन्ने विषयमा भने टुङ्गो नलागेको बताए ।
देउवा र ओलीले पुरानै संरचनामा भए पनि निर्वाचन गर्नुपर्ने बताएको भन्दै उहाँले आफूले त्यत्रो मेहेनत परिसकेकाले नयाँ संरचना अनुसार नै निर्वाचन गर्नुपर्छ भनेको उल्लेख गरे । प्रधानमन्त्री दाहालले संविधान संशोधनको प्रस्तावलाई अगाडि नबढाएसम्म निर्वाचनमा जान सम्भव नरहेको बताए । उनले भन्ने ‘संविधान संशोधनको प्रस्ताव निर्वाचनका लागि हो भनेर बुझ्न जरुरी छ ।’ उलले संविधान संशोधनको प्रस्ताव, महाअभियोग प्रस्ताव र निर्वाचनको मिति तोक्ने कार्यलाई प्याकेजमा सहमति गराउनेतर्फ सरकार लागेको बताए ।
प्रधानमन्त्री दाहालले भने यो अन्ततः समझदारीमा आउनै पर्छ, नमिल्ने खालको आन्दोलन छोडेर आउनुहुन्छ भन्ने मलाई विश्वास छ । संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता भइसकेको भन्दै उहाँले पुस ४ गतेको बैठकमा टेबुल हुने बताए । उनले भने ‘संशोधन प्रस्ताव सभामुखको कार्यसूचीमा चढिसकेको छ, ४ गतेको बैठकमा टेबल हुन्छ ।’ त्यसपछि मधेसवादी दल पनि सहमतिमा आउने उनले बताए
सत्तारुढ दलका नेताहरु नै आन्दोलनमा रहेको भन्ने जिज्ञासामा प्रधानमन्त्री दाहालले पार्टीको निर्णयभन्दा बाहिर कोही पनि नजाने बताए । हालै मात्र सार्वजनिक भएको सम्पत्ति विवरणको विषयमा प्रधानमन्त्री दाहालले चितवनकै शिवनगरको भिमसेननगरमा रहेको अङ्शबण्डामा आफूलाई परेको एक बिगाहा १० कठ्ठा जग्गा पहिले नै बिक्री गरेर पार्टीलाई बुझाइसकेको बताए ।
अर्को एक प्रश्नमा उनले अग्ला भवन बन्ने वित्तिकै प्रचण्डको लगानी भन्ने गरेको भन्दै भर्खरै उद्घाटन भएको चन्द्रागिरी केवलकार पनि प्रचण्डकै लगानीमा बनेको हल्ला चलेको बताए । प्रधानमन्त्री दाहालले भने ‘जहाँ जे बनेपनि अब सबै नेपाल नै मेरो हो ।’ गृह जिल्ला चितवनलाई चुनावी क्षेत्र बनाउने विषयमा आफ्नो दल र विपक्षीले पनि कुरा गरिरहेको प्रशङ्ग कोट्याउँदै उनले चितवनमा सम्भव नहुने अवस्था नरहेको बताए ।
जिल्लालाई केन्द्रित गरी विकासको प्याकेज कार्यक्रम लिएर आफू छिट्टै पुनःचितवन आउने उहाँले आश्वासन दिए । रासस

0 comments:
Post a Comment