गिट्टी कुटेर गुजारा चलाउछन् माझी महिला

संगिता सुहाङ

पाँचथर, 6 पुस ः परिवार पाल्नलाई आम्दानीको अर्को स्रोत छैन् । आफू बसेको घरको धनीपुर्जा आफ्नो नामको छैन् । पाखुरी बजाएर गरी खाने आफ्नो नामको जमीन छैन् । आफ्ना सन्तानको लालनपान गर्नु अनि उनीहरुलाई शिक्षा पनि दिलाउनु छ । जीवन सारथी तीन वर्षदेखि आफूसँग नहुँदाको पीडा कहाली लाग्दो छ । अर्कै श्रीमति लिएर हिडेदेखि घर फर्केर आएनन् श्रीमान पनि । तीन जना छोराछोरीलाई शिक्षा दिलाउन अनि बिहान बेलुकाको गाँस जुटाउन खोलाको किनारमा गिट्टी कुट्नुको विकल्प छैन फिदिम–५ माझीटारकी आशामाया माझीको । “श्रीमान् घर नफिरेपछि गुजार चलाउन खोलाको किनारसँग पिरती लाएको छु,” मलिन अनुहारमा आशमायाले भनिन् “एक दिन खोलाको किनारसँग भेट भएन भने भोकै बस्नुपर्छ ।” तीन वर्ष भयो आशमायाले खोलाको किनारलाई नछाडेको । जीवन धान्ने आधार नै खोलाको किरान भएको उनी बताउँछिन् । आशमाया बिहान सबेरै उठेर गिट्टी कुट्नलाई खोलाको किनारमा पुग्छिन् । बेलुका साँझमा पनि निकै अबेरसम्म किनारमै गिट्टी कुट्नुको विकल्प छैन उनको । एक दिनमा जति धेरै गिट्टी कुट्यो, त्यति धेरै आम्दानी हुने भएकाले अरु काममा व्यर्थै समय व्यतित गर्दिनन् उनी । “श्रीमान सँगै हुँदा अलि सहज थियो, अहिले निकै गाह्रो छ गुजार चलाउन,” उनले भनिन् ।  

दुई छोरी र एक छोरालाई पाल्न अनि पढाउन गिट्टी कुटेरै खर्च जुटाउँछिन् आशमाया । “गिट्टी कुटेरै छोराछोरी पढाउँदै छु,” आशमायाले भन्छिन् “विद्यालय बिदा भएको दिन उनीहरुले पनि काम सघाउछन्, छोराछोरीले काम सघाउँदा अलि खुसी लाग्छ तर, सानै छन् ।” एक ट्याक्टर गिट्टीको तीन हजार पाँच सय रुपैँया लिने गरेको आशमायाको भनाई छ । महिनामा दुई ट्याक्टर सम्म आशमायाले गिट्टी कुट्छिन् । दुई ट्याक्टर गिट्टीको सात हजार रुपैँया थापेर घरखर्च जुटाउछिन् उनले । “घाम पानी नभनी बाह्रै महिना गिट्टी कुट्नुको विकल्प छैन,” उनले दैनिकी सुनाइन् । आफ्नो श्रीमान तिलबहादुर माझीसँग विवाह गरेको तिथि मितिसम्म थाहा छैन आशमायालाई । लगभग १२ वर्ष अघि विवाह गरेको अनुमान गर्छिन उनी । 
 “मलाई विवाह गर्नुभन्दा पहिले नै उहाँले अर्को विवाह गर्नु भएको रहेछ” आशमायाले भनिन् “मलाई कान्छी श्रीमतिको रुपमा ल्याएको पछि थाहा भयो ।” आफुपट्टि तीन सन्तान भएपछि श्रीमानले जेठी लिएर हिडेपछि परिवार पाल्न रातदिन गिट्टी कुट्ने गरेको आशमायाको भनाई छ ।  आशमाया जस्तै यहाँका अधिकांश माझी जातिका महिलाहरु गिट्टी कुटेर गुजार चलाउँछन् । माझीहरुको आफ्नै नाममा जमिन नभएपछि गरीखाने अर्को विकल्प छ्रैन । “श्रीमान श्रीमतिसँगै हुनेहरुलाई गुजारा चलाउन अलि सहज छ,” भारपा–९ कि अञ्जु माझी भन्छिन् “माछा मार्न श्रीमानले खोलामा जाल हान्छन्, श्रीमतिहरु किनारमा गिट्टी कुट्छौँ, जोडी नै हुनेलाई परिवार पाल्न अलि सहज छ ।” भारपा–९ र फिदिम–५ मा गरी लगभग दुई दर्जन घरधुरी माझीको बस्ती छ । माझी जातीको बसोबास भएकाले यो स्थानलाई माझीटारको नामले चिनिन्छ । आफ्नो नाममा जग्गा जमीन नभएको र गरी खाने अर्को विकल्प पनि नभएपछि यहाँका माझी जातीका महिलाहरुको गिट्टी कुट्नुको अर्को विकल्प छैन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment