इलाम, २९ मंसिर ः बरबोटे १ तोरीबारीका नारायण पौडेलले १५ रोपनी घरबारीमा साठ्ठी मन अदुवा रोपे । गएको वैशाख जेठमा बीउ किन्न मात्रै उनले प्रतिमन २ हजार २ सय रुपैयाँ खर्चनु प¥यो । बीउ किन्न १ लाख ३२ हजार रुपैयाँ खर्चेका उनले मल, औषधि र श्रमिक गर्दा लगानी अकासियो । अपेक्षाअनुसार उनले एक मन बीउबाट चार मनसम्म उत्पादन निकाले । तर, अघिल्लो वर्षको मूल्य सम्झेर गरेको उनको खेतीबाट कमाइ भने नगन्य भयो । गत वर्ष सिजनमा प्रतिमन १ हजार ५ सयसम्ममा बिक्री भएको अदुवा यस वर्ष प्रतिमन ८ सय रुपैयाँमा किनबेच भइरहेको छ । ‘अघिल्ला वर्षमा गरिएको सागसब्जी खेती हटाएर अदुवा रोप्ने हुँदा समस्यामा परियो,’ पौडेलले भने, ‘काँक्रो, सिमी, रायोसाग, काउलीलगायत खेती गर्दा बरु धेरै कमाइ भएको थियो ।’
सदरमुकाम नजिकका पौडेल मात्र हैन जिल्लाका अधिकांश गाउँका कृषकलाई यस्तै समस्या भएको छ । बीउ खरिद गर्ने बेला मूल्य आकासिने र उत्पादनको समयमा मूल्य घट्ने भएकाले अदुवा खेतीतर्फ निराशा बढेको कृषकको भनाइ छ । मुलुकमै धेरै अदुवा उत्पादन गर्ने जिल्लाको सूचीमा पर्ने यहाँका कृषकका लागि मूल्य अनिश्चितताले सताउने गरेको हो । अदुवा खेती प्रविधि र गुणस्तरमा सुधार हुन नसक्दा यो अवस्था आएको जानकारहरू बताउँछन् । कृषकमा आएको निराशाजस्तै अदुवाको कारोबार गर्ने व्यापारीमा पनि उत्साह घटेको छ । अघिल्ला वर्षमा गाउँगाउँ खरिदका लागि पुग्ने व्यापारी यो पटक देखिएका छैनन् । ‘लगानी र अरू कारोबार टिकाउन मात्र अदुवा किन्ने गरेका छौं,’ बिब्ल्याँटेका व्यापारी कृष्ण पौडेलले भने, ‘धेरै व्यपारीले अदुवाको कारोबार नै छाडिसकेका छन् ।’
माउ निकाल्ने सिजनमा अदुवाले भारतीय प्रतिबन्ध खेपेको थियो । चाइनिज अदुवा मिसावट भएको भन्दै दुई साताभन्दा बढी समय अदुवा निकासी नहुँदा कृषकले मार खेप्नुप¥यो । आन्तरिक खपत न्यून रहेको यो नगदेबालीको मुख्य बजार भारत हो ।
मसलाका लागि प्रयोग हुने अदुवाको उत्पादन भारतमा वर्षेनी बढदै गएको छ । राज्यले मलखाद, औषधि र व्यवसायका लागि दिने सहयोगले त्यहाँ उत्पादन हुने अदुवा गुणस्तरीय हुने गरेको छ । नेपालतर्फ भने कृषकको आफ्नै प्रयास र प्राविधिक ज्ञानबिना उत्पादन भएको अदुवाको गुणस्तर खस्कँदै गएको छ । महँगो बीउ, उत्पादकत्वमा कमी भएसँगै मूल्य पनि नपाउनुको कारण गुणस्तरमा जोडिएको पौडेल बताउँछन् । भारतको आसाम, बैंगलोर, सिक्किमलगायतका क्षेत्रमा अदुवा उत्पादन बढदै गएको छ ।
जिल्ला कृषि विकास कार्यालयमार्फत अदुवामा हुने लगानी नगन्य छ । ‘धेरै कृषकलाई फाइदा पुग्ने अदुवा खेती प्रवद्र्धनका लागि बाहिरिदा करबापत लिइने रकम मात्र खपत हुने हो भने पर्याप्त हुन्छ,’ नयाँबजार प्रेमेजुङका कृषक नेत्र दाहालले भने ।
कृषि कार्यालयका अनुसार जिल्लामा ४५ हजार ९ सय ९४ टन अदुवा उत्पादन हुन्छ । आन्तरिक खपतबाहेक ३६ हजार ७ सय ९५ टन जिल्ला बाहिरिदा गत आर्थिक वर्षमा २ अर्ब २० करोड ७५ लाख रुपैयाँ भित्रिएको थियो । अदुवा ४ हजार रुपैयाँ प्रति मनसम्ममा बिक्री भएको थियो । यहाँका कृषकले हतारमा अदुवा खन्ने र कुनै पनि प्रशोधनबिना सीमापारिको बजारमा पु¥याउँदा गुणस्तरको प्रश्न आउने गरेको हो । अदुवामा प्रयोग गरिएको डीएपी मलसमेत नबिलिएको अवस्थामा भेटिएपछि भारतीय व्यापारीले शंका गर्दै आएको व्यवसायीको भनाइ छ ।
0 comments:
Post a Comment