पर्यटक बढेपनि आम्दानी बढेन, बजार क्षेत्र बास बस्ने केन्द्र मात्र बन्यो


इलाम ३ पुुस ः पछिल्लो समय इलाम घुम्ने आन्तरिक पर्यटकको संख्या बढेको छ । पर्यटकको संख्या बढे अनुसार आम्दानी भने बढेको देखिँदैन । कन्याम, कोल्बुङको पाथिभरा र श्रीअन्तुमा पर्यटक पुगेपनि अन्य पर्यटकीय क्षेत्रहरु ओझेलमा परेका छन् । यहाँको बजारक्षेत्र बास बस्ने ठाउँ मात्र बनेको छ । इलाम बजार, फिक्कल, पशुपतिनगरले अझैपनि पर्यटकलाई आर्कषण गर्न सकेको छैन । बजार क्षेत्रमा पर्यटकलाई आकर्षण गर्ने केन्द्र नहुँदा आम्दानी बढ्न नसकेको हो । पर्याप्त प्रचार प्रसार र आर्कषण गर्ने पूर्वाधार नबन्दा यहाँको बजार एकरात बास बस्ने ठाउँ मात्र बनेको हो । बास बस्न मात्र आउँने पर्यटकबाट सोचे जस्तो आम्दानी नभएको होटल ब्यवसायीहरु बताउँछन् ।
अधिकांश पर्यटक कोल्बुङको पाथिभरा, कन्यामदेखि भारतको दार्जिलिङ्ग बजार र मिरिकहुँदै फर्किने गरेको पर्यटन व्यवसायी बताउँछन् । यो वर्ष कार्तिक मसान्तसम्ममा १९ हजार ३२ जना पर्यटक इलाम भित्रिएका थिए भने यो एक महिनामा २० हजार भन्दा बढि पर्यटक इलाम भित्रिएका छन् । गएको वर्ष इलाम घुम्ने पर्यटकको संख्या भन्दा यो वर्षको कार्तिक महिनामा नै सत्र सयले बढी आएको तथ्याङ्क छ । गएको वर्ष १४ हजार आठ सय चालीस पर्यटक मात्र आएकोे इलाम पर्यटन सूचना केन्द्र कोल्बुङ जोरकलशका सूचना अधिकारी गगन घिमिरेले बताए । उनका अनुसार यस मंसिर मसान्तमा मात्र १२ हजार तीन सय त्रिहत्तर जना पुुरुष र १० हजार सतासी जना महिला गरी २२ हजार चार सय साठ्ठी पर्यटक इलाम भित्रिएका छन् । यसका नौ जना विदेशी पर्यटक इलाम आएका हुन् । कार्तिक मसान्तमा मात्र १६ हजार एक सय ४७ जना पर्यटक इलाम आएको सूूचना केन्द्रको तथ्याङमा उल्लेख छ ।  जिल्लामा लगानी गर्न सकेमा मनोरम दृष्यावलोकनसँगै कृषि, धार्मिक, सांस्कृतिक पर्यटनको विकास गर्न सकिने सरोकारवालाको भनाई छ । यहाँको कन्याम, कोल्बुङको पाथिभरा, श्रीअन्तु, सिद्धिथुम्का, माङ्सेबुङ, इलाम बजार, पशुपतिनगर, सन्दकपुर, माइपोखरी, गजुरमुखी, छिन्टापु, सन्दकपुर लगायतका पर्यटकीय स्थलको प्रचारसँगै आर्कषण पूर्वाधार बनेमा पर्यटकबाटै सोचेजस्तै फाइदा लिन सकिने सम्भावना रहेको इलाम घुम्न आउँनेहरुको भनाई रहेको छ ।
फोहोर न्युनिकरणका लागि इलामबाट कन्याम
 बढ्दै गएको कन्यामको फोहोर देखेर चिन्तित भएका इलामका एकहुल महिलाहरु कन्याम पुगे । ‘हरित नगर महिला समुहको अभियान, फोहर मैला व्यवस्थित र न्युनिकरण गर्न जाउँ है कन्याम’ भन्ने नाम नै दिएर सञ्चालन गरेको अभियान अन्र्तगत उनीहरु पहिले त सुर्योदय नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र भट्टराईलाई भेटी कन्याममा बढ्दै गएको फोहोरमैला र व्यवस्थापनका लागि उपाय सुझाए । हरित नगर महिला समुह इलामले शनिबार एक कार्यक्रमको आयोजना गरी भट्टराईलाई भेटेका हुन् । फोहरमैला व्यवस्थापनका लागि अभियान नेपाल नामक एक गैरसरकारी संस्थालाई २ वर्षको लागि फोहोरमैला व्यवस्थापनको जिम्मा दिएको भट्टराईले जानकारी दिए । बार्षिक ५ लाख रुपैयाँ सुर्योदय नगरपालिकाले पाउनेगरी वि.सं.२०७३ असोज १ गते अभियान नेपालसँग सम्झौता भई कार्यान्वयनमा आएको भट्टराईले जानकारी दिए ।  कन्याममै सो अभियान अन्तरगतको कार्यक्रम लिएर समुह कन्याम पुगी स्थानीयबासी र पर्यटन व्यवसायीसँग कुरा गर्दा ठेक्का लिने गैससले शर्त बमोजिम काम नगरेको गुनासो सुनाउने धेरै भए । स्थानीय नेपाल रेडक्रस सोसाईटी कन्याम उपशाखासँग फोहरमैला व्यवस्थापनको लागि अन्र्तक्रियाको आयोजना गरी समुहले व्यवस्थापनको उपायहरु समेत सुझाए । घोडा सञ्चालक, पर्यटन, स्थानीय व्यापारीलाई समेत समुहले भेटी आफुले उत्पादन गरेको फोहोर आफैले नगरपालिकाको मापदण्ड अनुरुप व्यवस्थापन गर्न उनीहरुले अनुरोध गरेको थियो । हरित नगर महिला समुह इलामकी अध्यक्ष रिना घिमिरेले यस्ता सचेतनाका अभियानले पनि फोहरमैला व्यवस्थापनमा टेवा पुग्ने ठानेर कार्यक्रमको आयोजना गरिएको बताईन् । उनले भनिन्– ‘देशकै पर्यटनको हबको रुपमा कन्याम विकास भइसकेको छ, फोहरमैला जस्तो विषयमा इलामे नागरिक हुनुको नाताले पनि यो विषयलाई अति सम्बेदनशील भएर हेर्नुपर्छ ।’

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment