२ अर्ब ११ करोड थान नेपाली नोट सर्कुलेसनमाः राष्ट्र बैङ्क


इलाम, २६ मंसिरः एक हजारको नेपाली नोटको विद्यमान सर्कुलेसन सङ्ख्या २८ करोड चौत्तीस लाख ७ सय सन्तानब्बे रहेको छ । यसै गरी पाँचसयको नेपाली नोट बजारमा रहेको सङ्ख्या १९ करोड ८७ लाख ९० हजार १५ रहेको छ । नेपाल राष्ट्र बैङ्कले मंसिर २१ गते अद्यावधिक गरेको यस तथ्याङ्कमा दुइसय पचासको नोट ३ लाख पचासहजार एकसठ्ठीथान, सयको नोट १७ करोड २ लाख चौत्तीस हजार ८ सय त्रिसठ्ठी थान बैङ्क तथा वित्तीय संस्था र बजारमा सर्कुलेसन छ । नेपाल राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभागका उपनिर्देशक बिरकाजी शाक्यले नेपाल राष्ट्र बैङ्कले आइतबार इलाममा आयोजना गरेको सफा नोट नीति एवम नोटकोष सञ्चालन सम्बन्धि एक दिवशीय अन्तरक्रियात्मक गोष्ठीमा जानकारी दिएका हुन् । उनले सबैभन्दा बढी रुपैयाँ ५ को नेपाली नोट बजारमा सकुलेसन भएको बताए । ४५ करोड ८६ लाख ३८ हजार ७ सय त्रियासी थान रु पाँचको नोट सर्कुलर भएको बताए । ११ प्रकारका विभिन्न रुपैयाँका नोटहरु मध्ये सर्कुलर भएको ५ को नोटले कुल सर्कुलेसन भएको नोटको सबैभन्दा बढी हिस्सा अर्थात २१ दशमलब ६६ प्रतिशत ओगटेको छ । हाल २ अर्ब ११ करोड ७५ लाख ६० हजार ६ सय चौसठ्ठी थान कुल नोटहरु सर्कुलेसनमा छन् भने सो बराबरको रकम ४ खर्ब १९ अर्ब रकम हुन आउछ । कार्यक्रममा आफ्नो पावरप्वाइण्ट प्रस्तुति गर्दै नेपाली नोटहरुको सुरक्षा तह एकदमै उत्कृष्ट भएको दाबी शाक्यले गरे । नयाँ जारी भएका नेपाली नोटहरुमा देख्न सकिने फ्लोरोसेन्स, सुक्ष्म अक्षर, फोस्फोरेण्ट ब्लक, लाटेन्ट इमेज, कुँदेको फिड मेटल, दृष्टिविहीनमैत्री विशेषता प्रयोग भएको उनले जानकारी दिए । बजारमा नेपाली नक्कली नोटहरु आएपनि ती नोटहरुमा सुक्ष्म अक्षर हालसम्म कपी गर्न नसकेको नेपाल राष्ट्र बैङ्कको दाबी छ । उनले नेपाली नोटहरु कपासबाट बन्ने विशेष प्रकारको कागजले बनेको तथा त्यसमा विभिन्न प्रकार र प्रकृतिका सेक्युरीटी लेभल प्रयोग गर्न सकिने उनले जानकारी दिए । सक्कली र नक्कली नोटको प्रयोगात्मक रुपमा पहिचान गर्ने विधिको कार्यक्रममा जानकारी दिइएको थियो । कार्यक्रमका अर्का प्रस्तोता नेपाल राष्ट्र बैङ्कका डेप्युटी निर्देशक रुद्रबहादुर घिमिरेले नोटलाई सफा राख्न र सुरक्षित प्रयोग गर्ने विधिको विषयमा जानकारी दिएका थिए । पुराना नोट जलाएर नयाँ नोट छाप्दा नेपाल सरकारलाई ठूलो ब्ययभार भर्ने भन्दै घिमिरेले लापरवाहीपूर्ण रुपमा नोटको प्रयोग बन्द गर्न अनुरोध गरे । कार्यक्रममा पूर्वाञ्चल र मध्यमाञ्चलमा रहेका नोटकोष सञ्चालन गर्ने बैङ्क तथा वित्तीय संस्थाहरुका २२ जना अधिकृतस्तरका कर्मचारीहरुकोे उपस्थिति रहेको थियो । कार्यक्रममा इलामका वित्तीय संस्थाहरुका प्रतिनिधि, व्यापारी र पत्रकारलाई पनि निम्तो गरिएको थियो । नेपाल राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक भुवन कडेलले वित्तीय क्षेत्रसँग आबद्ध कर्मचारीहरुलाई नोटकोष ब्यवस्थापन सम्बन्धि उपायहरु सुझाएका थिए । नेपाल बैङ्क इलामले कार्यक्रमको संयोजन गरेको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment