गोविन्द पौडेल
जिर्मले, ८ पुस ः पर्याप्त सुविधा र पूर्वाधारको विकास नभएता पनि हरेक वर्ष सुन्तला पाक्ने समयमा इलामको सुदुरपूर्वी जिर्मले गाविसको सलकपुरमा यतिखेर पर्यटकको ओइरो लाग्न थालेको छ । इलामको अन्य भूभाग भन्दा बढी सुन्तला उत्पादन हुने र अलैंची खेतीको उद्गम स्थान झापा र भारतको सिरातनी जस्तै रहेर प्राकुतिक रुपमा नै रमणीय स्थान भएको कारणले पनि हरेक वर्षको मंसिरदेखि माघसम्म पर्यटकहरुको धुइरो लाग्ने गरेको सलकपुरमा नेपालका भन्दा बढि भारतीय पर्यटकहरुको चाप रहने गरेको छ । जिर्मलेको सलकपुर सम्म झापाको काकँडभिट्टाबाट बाहुण्डागी हुँदै कच्ची मोटरबाटोको व्यवस्था भएकोले नेपालका पर्यटकहरुले उक्त मोटरबाटो प्रयोग गर्ने तथा भारतको लोहागढबाट कच्ची घोरेटो बाटो रहनुका साथै भारतमा आइतबार सार्वजनिक बिदा हुने भएको कारणले गर्दा भारतीय नागरिकहरुको लागि सलकपुर राम्रो, सजिलो र सस्तो गन्तव्य रहेको हुँदा एकदिने बिदा मनाउन सलकपुर आउने गरेको छन् ।
उत्तरी भारतको समथर भूमि लोहागढसम्म यातायातको राम्रो व्यवस्था रहेकोले भारतीय नागरिकहरु सिमानाको पहाडी भूभागमा रहेको सुन्तलाका बोटमै आएर सुन्तला हेर्न, टिप्न, चाख्न र फोटो खिच्न शोखिन रहेको कारण भारतीय नागरिक सलकपुर आउने गरेको बागडुग्राका समिर क्षेत्रीले बताए । यतिखेर हरेक आइतबार सलकपुरको पुछारमा रहेको मेची खोलाबाट करिब तीन किलोमिटर माथी चौकी डाँडासम्म भारतीय नागरिकहरु जन्ती जस्तै लस्करै सलकपुर प्रवेश गर्दछन् र उनीहरु फर्कदा सलकपुरको सुन्तला, कूचो र तरकारीहरु लगायतको सामान किनेर लैजाने गरेका छन् । यता सलकपुरमै सानातिना पसल र चमेना गृह संचालन गर्दा समेत निक्कै फाइदा हुने गरेको स्थानीय भोलानाथ वाइवाले बताए । उनका अनुसार सलकपुरका नागरिकहरुले हरेक चोकहरुमा पर्यटकहरुको माग अनुसार सुन्तलाको पसल राख्ने गरेका छन् भने इच्छा अनुसार बगानबाट नै पनि सुन्तला बिक्री गरिने गरिएको छ । सलकपुर आउने भारतीय पर्यटकहरुको रुचि सुन्तला बगान र फूलबारीमा फोटो खिच्ने समेत रहेको कारण सलकपुरका अधिकांस घरहरुमा फुलका बगानसमेत बनाएर घरको सजावट गरेकोले पर्यटकहरुको मन जित्न सफल भएका छन् । पर्यटकहरुले फुलेको फुलको धोक्री (पट) किनेर लैजादा फूलको कारोबार समेत राम्रो हुने गरेको जिर्मले २ सलकपुरमा लाखमान ग्रन्दनले बताए । उनका अनुसार फूलबारीमा बसेर फोटो खिचाउने पर्यटकहरुबाट प्रति गोटा दश रुपैयाँ लिदा पनि दैनिक हजारौ रुपैया कमाइ हुने गरेको छ ।
सरकारी निकायको बेवस्ता
प्रशस्त पर्यटन प्रर्वधनको सम्भावना बोकेको भएपनि सलकपुरको पूर्वाधार विकासमा सरकारी सहयोग नपाएको स्थानीयहरुको ठुलो गुनासो रहेको छ । यहाँको प्रमुख आर्कषण मानिएको सुन्तलामा रोगको प्रकोप देखिएको छ । अलैची, सुपारी, सुन्तला, लिची र नास्पति एकै स्थानमा फलाउन सफल सलकपुर कृषि अनुसन्धान केन्द्र बन्ने सम्भावना बोकेको भएपनि यसको बारेमा सरकारी पक्षले कुनै चासोसम्म राखेको पाइदैन् । कच्ची सडकले छोएको भएपनि सडकको स्तरोन्नति त भएको छैन नै इलाम सदरमूकाम जान आउनको लागि सलकपुर–धजे सडक नबन्दा झापा जान अनिवार्य जस्तै रहेको छ । त्यस्तै संचारको साधन मोबाइलको नेटवर्क नरहेको सलकपुरमा भारतीय मोबाइलले सेवा लिनुदिनु बाध्यता बनेको छ । विद्युतिकरणको लागि बिजुलीको पोल पु¥याएर थुपारेको विद्युत प्राधिकरणले बिजुली आउने आसमा गाउँलेहरुले दिन काटिरहेका छन् । ‘जति गरेका छन् गाउँकै प्रयासबाट भएको छ’ स्थानीय लाखमान ग्रन्दनले बताए । त्यसो त सलकपुरमा स्थानीय स्तरबाट पर्यटन प्रर्वधनको प्रयास भने नभएको होइन । संस्थागत रुपमा विकास गर्न सुबास स्याङ्गबोको अध्यक्षतामा ‘सलकपुर पर्यटन समिति’ गठन गरेर सलकपुरको प्रचार प्रसार र ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरुको संरक्षण–सम्वर्धन गर्ने प्रयास भएको छ । सलकपुरमा रहेको धार्मिक महत्वको पाण्डव गुफा, सत्ताल थुम्की, शिरक्षेदन ढुङ्गा र गुर्धुम डाँडाको सम्वर्धन गरिनुका साथै निजी स्तरबाट होमस्टेको विकास समेत भएको छ । मोटरबाटोको स्तरोन्नति र मर्मत गर्न गाउँमा नै सडक मर्मत समिति गठन गरेर हरेक समयमा सडकका मर्मत गरिने गरेको कारण अहिले सलकपुरको डाँडो सम्म तीन चक्के टेम्पो आउन थालेको सलकपुर पर्यटन समितिका अध्यक्ष समेत रहेका सुवास स्याङ्गबोले बताए ।
यसरी प्रशस्त सम्भावना बोकेको सलकपुरको पर्यटन प्रवर्धन बारे मेची पहाडको पर्यटन विकासमा क्रियाशिल रहेको मेची पहाडी क्षेत्र पर्यटन प्रर्वधन विकास समितिका निर्देशक केशव द्यौरालीसँग जानकारी लिँदा जिर्मलेको पर्यटन विकासको लागि पूर्वाधार विकास गर्न सलकपुर–गाँजले–हासपोखरी पदमार्ग निमार्ण गरिने र यसका लागि यस वर्ष सलकपुर–गाँजलेडाँडा पदमार्गको लागि पाँचलाख रकम छुट्टाएर उपभोक्ता समिति गठन गरी सम्झौता गर्न गाविसलाई पत्रचार गरिएको बताए । यसका साथै प्रवर्धनात्मक कामको लागि होमस्टे विकासको लागि आवश्यक तालिमको ब्यवस्था गर्न तयार रहेको द्यौरालीले बताए ।
0 comments:
Post a Comment